गृहजिल्ला आएसंगै सांसद किराँती क्वारेन्टिनमा

भोजपुर, ७ असार । भोजपुरका प्रतिनिधिसभा सांसद सुदन किराँती गृह जिल्ला आएसंगै क्वारेन्टिनमा बसेका छन् । काठमाडौंबाट भोजपुर आएका किराँती आफ्नो जन्मथलो समेत रहेको रामप्रसादराई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टिनमा बसेका हुन् । सरकारले कोरोनाको जोखिमलाई ध्यानमा राख्दै बाहिरबाट आएका मानिसलाई अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने व्यवस्था गरेका कारण आफू क्वारेन्टिनमा बसेको सांसद किरातीले जानकारी दिए ।

सांसद किराँतीले भने, ‘ म शनिबारबाट गाउँपालिकाले ओख्रेमा निर्माण गरेको क्वारेन्टिनमा बसेको छु, क्वारेन्टिनमा बसेर त्यहाँ समस्याको विषयमा बुझेर त्यसलाई समाधानमा लागि पनि पहल गरिरहेको छु ।’ मानिसहरुमा पहँुचको आधारमा सरकारले जारी गरेको निर्णय पालना नगर्ने प्रबृति बढ्दै गएकोले त्यसको अनिवार्य रुपमा पालन गर्नु पर्ने समेत किराँतीले बताए ।

‘हामीमा पहँुचको आधारमा विभिन्न ढंगले सरकारले जारी गरेको नीति नियम उलङ्घन गर्ने प्रबृति बढ्दो छ, यसले सर्वसाधरण जनता मारमा छन्, नियम सवैको लागि बराबर हुनु पर्छ, त्यसैले म जनताको समस्यालाई नजिकबाट नियाल्दै क्वारेन्टिनमा बसेर सरकारको नियम पालना गर्दैछु ।’ सांसद किराँतीले भने ।

क्वारेन्टिनमा बसेर विभिन्न सुधारात्मक काम समेत गरेको सांसद किराँतीले बताए । अहिले स्थानीय तहहरुले निर्माण गरेका क्वारेन्टिनलाई व्यवस्थित बनाउनमा पहल गर्ने समेत किराँतीको भनाइ छ । सांसद किरातीले भने,‘ काठमाडौमा परीक्षण गरि संक्रमणमुक्त भएको प्रमाण सहित गृहजिल्ला आएपनि वर्तमान प्रावधान अनुसार म क्वारेन्टिनमा बसेको हुँ, यो सबैले मान्न जरुरी छ, क्वारेन्टाईनमा भौतिक दुरी कायम गर्दै स्थानीय सरोकारवालाहरु, जनप्रतिनिधि, सर्वसाधारणसँग संवाद समेत गर्दै आएको छु, यसले पनि मलाई जिल्लाका विभिन्न समस्या बुझ्न सहयोग पुगेको छ ।’

निम्नस्तरको मानिसहरु मात्र क्वारेन्टिनमा बस्नु पर्ने जनगुनासो स्थानीयबाट आएपछि त्यसलाई नजिकबाट नियाल्न सहयोग पुगेको उनको भनाइ छ । क्वारेन्टिनमा बस्ने क्रममा प्रतिक्षालय,सौचालय, निर्माणसंगै क्वारेन्टिन आसपासमा सूचनामुलक सामग्री समेत टाँस गरिएको उनले जानकारी दिए । ‘ तल्लो स्तरका निमुखा मानिसलाई मात्र क्वारेन्टिनमा बस्न वाध्य पारिन्छ भन्ने खालको स्थानीयबाट गुनासो आउने गरेको छ, तर म आफै क्वारेन्टिनमा बसेपछि अहिले जनताहरुमा पनि सकारात्मक धारणाको विकास भएको छ, सबै उच्च तहका मानिसहरुले सरकारको नियमलाई पालन गर्दै कोरोनाको विषयमा सजक रहने खालका सन्देश प्रवाह गर्न सके स्थानीयमा भएको कोरोना त्रासलाई कम हुने थियो, यसले एक प्रकारको औषधी कै काम गर्न सक्छ, स्थानीयलाई अहिले कोरोनासंग लड्न हौसलाको पनि खाँचो छ, ।’ सांसद किराँतीले भने ।

राजधानीमा रहेर जनतालाई राहत वितरण देखि लिएर संसदमा जिल्लाका विभिन्न समस्याका विषयमा सरकारको ध्यानकर्षण गराए पस्चात किराती जिल्लाको पछिल्लो अवस्थाको जानकारी लिनको लागि गृह जिल्ला आएका हुन् ।

विभिन्न ठाउँँबाट जिल्ला प्रवेश गर्नेहरुको संख्या बृद्धि भइरहेको छ, तरपनि पँहुच र शक्तिको आडमा क्वारेन्टिनमा नबस्नेहरु धेरै छन् । तर सांसद नै सरकारले जारी गरेको प्रावधानलाई पालना गर्दै क्वारेन्टिनमा बसेपछि स्थानीय सुखी भएका छन् । यसले अन्य मानिसहरुमा समेत सकारत्मक सन्देश जाने स्थानीय जानकारहरुको भनाई छ ।