अन्तरवार्ता – तरकारीमा आत्मानिर्भर बन्दै पौवादुङमा गाउँपालिका

भोजपुर, २८ जेठ । भोजपुरको पौवादुङमा गाउँपालिका कृषिमा आत्मानिर्भर बन्दै गएको छ । गाउँपालिकाको अधिकांश क्षेत्र सुख्खाग्रस्त भएपनि गाउँपालिकाले कृषकलाई प्लाष्टिक पोखरी निर्माणको लागि आर्थिक सहयोग गरेर प्रोत्साहन गरेसंगै गाउँपालिका तरकारीमा आत्मानिर्भर बनेको हो । कृषकले वर्षातको पानीलाई पोखरीमा जम्मा गरेर सिंचाईको व्यवस्था मिलाएका छन् । आफ्नो क्षेत्रलाई भौगोलिक आधारमा विभाजन गरेर विभिन्न खाले बालीको पकेट क्षेत्र बनाएर काम गर्ने लक्ष्यका साथ कृषिको क्षेत्रमा लगानी गरिरहेको गाउँपालिकाले जनाएको छ । यस अघिका आर्थिक वर्षमा कृषि क्षेत्रमा प्राथमिकताका साथ बजेट विनियोजन गरेर कृषकलाई प्रोत्साहन गरेकोले गाउँपालिका अहिले तरकारीमा आत्मानिर्भर रहेको गाउँपालिका उपध्यक्ष सम्झना राईले जानकारी दिईन् । उपाध्यक्ष राईले भनिन्,‘हामीले कृषिलाई प्राथमिकतामा राखेर विगतका वर्षहरुमा कृषि क्षेत्रमा लगानी गरेकोले अहिले हामी तरकारी तथा अण्डामा आत्मानिर्भर भएको छौ, अहिले यहाँ उत्पादन भएको तरकार छिमेकी स्थानीयमा समेत विक्रीका लागि जाने गरेको छ, धेरै सुख्खाग्रस्त क्षेत्र भएकोले कृषिमा काम गर्न निकै चुनौती थियो, यदपी कृषकलाई प्लाष्टिक पोखरी निर्माणमा प्रोत्साहन गरेर सिंचाईको व्यवस्था मिलाएको छौ ।’’

गाउँपालिकाले आर्थिक तथा प्राविधिक सहयोगमा सुख्खाग्रस्त क्षेत्रभित्र पर्ने वडा –४ बास्तीम, वडा –६ ठुलोदुम्मा, वडा–५ सानोदुम्मामा कृषकले अकबरे खुसार्नी, टमार, बोडी, बन्दा, काउली लगाएतको व्यवसायिक रुपमा खेति गरिरहेका छन् । त्यस्तै गाउँपालिकामा व्यवसायिक कुखुरापालन, बाख्रापालन, मौरीपालनमा लाग्ने कृषकको संख्या पनि धेरै रहेको छ ।