जनप्रतिनिधिले गराई दिए भोजपुरका ५२ पत्रकारको ‘कोराना बिमा’

भोजपुर, १२ जेठ । तीन जना जनप्रतिनिधिले भोजपुरका पत्रकारहरुको कोरोना बिमा गराई दिएका छन् । कोरोनाको महामारीमा कार्य स्थलमा खटिने पत्रकारका लागि भोजपुर नगरपालिका उपमेयर ममिता राई, वडा नं ६ वडाध्यक्ष शैलेन्द्र कार्की र वडा नं ९ का वडाध्यक्ष रामबहादुर तामाङले कृयाशिल ५२ जना पत्रकारको बिमा गराउन आर्थिक सहयोग गरेका हुन । उनिहरुले आफुले पाउँदै आएको सेवा सुविधा कटाएर पत्रकारहरुको कोरोना बिमा गर्न आर्थिक सहयोग गरेका हुन ।

समाजको सूसुचित गराउन जोमिख मोलेर अग्रपंक्तिमा खटिने पत्रकारको सुरक्षालाई ध्यानमा राख्दै बिमा गराउन आर्थिक सहयोग प्रदान गरेको भोजपुर नगरपालिका उपमेयर ममिता राईले बताईन । उप–मेयर राईले भनिन्,‘पत्रकारको सुरक्षालाई ध्यानमा राख्दै हामीले आफुले पाउदै आएको सेवा सुविधालाई कटाएर बिमाको लागि रकम दिएका हौ, यो महामारीको समयमा तपाईहरुलाई यसले आफ्नो कर्तव्य पुरा गर्न थप हौसला मिल्छ भन्ने आशा गरेका छौ ।’

सहयोग गरिएको बिमा बापतको रकम लिँदै नेपाल पत्रकार महासंघ भोजपुर शाखाका कार्यवाहक अध्यक्ष एक्सन राईले कार्य स्थलको जोखिमलाई ध्यानमा राख्दै पत्रकारको बिमा गराउन सहयोग गरेकोले पत्रकारलाई कार्य स्थलमा खटिन थप हौसला मिल्ने धारणा राखे । साथै उनले कार्य स्थलमा खटिदा पत्रकारहरु आफै पनि सजक बन्नु पर्ने बताए । राईले भने ,‘ उहाँहरुले हाम्रो कामको जोखिमलाई ध्यानमा राखेर जुन महान काम गर्नु भएको छ, यसको लागि शाखाको तर्फबाट धेरै धन्यवाद दिन चाहन्छु, साथै हामी पत्रकारले आजकै दिनबाट आफ्नो यात्रा विवरण राख्ने बानीको विकास गरौ ।’

पत्रकार आवद्ध सञ्चारगृहबाट तलब नआउने अवस्थामा संक्रमण देखिए अस्पतालमा बस्नुपरेमा पत्रकारको परिवारलाई आइपर्ने आर्थिक समस्यामा समाधानमा बिमा कम्पनीबाट प्राप्त हुने रकमले केही राहत मिल्ने राईले बताए ।

बिमा कम्पनीसँग भएको सम्झौता अनुसार फिल्डमा खटिने कुनै पत्रकारलाई संक्रमण भएमा कम्पनीले रु. १ लाख रुपैयाँ सम्बन्धित पत्रकारल उपलब्ध गराउने छ ।