भोजपुरका ६७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

भोजपुर, ९ जेठ । भोजपुरका ६७ जनाको पिसिआर रिपार्ट नेगेटिभ आएको छ । बढी मात्रामा जनसम्पर्कमा रहने स्वाथ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारसंगै बढी मानिसहरुको भिडभाड हुने बजार क्षेत्रका व्यापारीहरुको स्वाब संकलन गरेर विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकोमा सवैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय भोजपुरमा सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले जानकारी दिए । उनीहरुको स्वाब गत मंगलबार संकलन गरेर परीक्षणका लागि पठाइएको थियो ।भोजपुरको हतुवागढी गाउँपालिकाका एक युवामा कोरोना संक्रमण देखिएको भएपनि उनी निको भएर फर्किसकेका छन् । त्यसपछि परीक्षण गरिएका सवैको रिपोर्ट नेगेटिभ आएपनि सुक्ष्म रुपमा कोरोना फैलन सक्ने भन्दै बढी जनसम्पर्कमा रहनेहरुको स्वाब संकलन गरिएको थियो ।