भोजपुरमा बस र जहाजबाट भित्रिने यात्रुलाई लक्षित गरि ‘हेल्थ डेस्क’

भोजपुर, ७ चैत्र ।

कोरोना (कोभिड–१९) बाट बच्नको लागि भोजपुरको दुई स्थानमा स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) स्थापना गरिएको छ । जहाजबाट आउने यात्रुलाई लक्षित गर्दै टक्सार बिमान स्थल र बसबाट जिल्ला भित्रिने यात्रुलाई लक्षित गरेर अरुण गाउँपालिकाको जरायोटारमा कक्ष सञ्चालनमा ल्याइएको हो ।
टक्सारमा भोजपुर नागरिक उड्यन कार्यालय, भोजपुर नगरपालिका र स्वास्थ्य कार्यालय भोजपुरको सहकार्यमा कक्ष विमानस्थलमा सहायता कक्ष स्थापना गरिएको हो । विमानस्थलमा चिकित्सक र दुई जना प्यारामेडिक्स र नर्सिङ स्टाफ कक्षमा छन् । उनीहरुले जहाजबाट झरेका यात्रुको अबस्था बुझेर शङ्कास्पद देखिएमा तत्काल अस्पताल पठाउने प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जानकारी दिए ।यस्तै जिल्ला अस्पताल भोजपुरमा १० शैंयाको आइसोलेसन बेड स्थापना गरिएको छ । कोरोना भाइरसको प्रकोप बढ्न नदिन जिल्ला अस्पतालमा आइसोलेसन बेड स्थापना गरिएको हो ।
यस्तै बसको माध्यमबाट यात्रु भित्रिने मुख्य नाका जरायोटारमा पनि कक्षको स्थापना गरिएको वडा नम्बर ७ का अध्यक्ष डिल्लीराम अधिकारीले जानकारी दिए । जिल्ला भित्रने यात्रुहरुको चेक जाँचको लागि जरायोटारको  प्रहरी चौकी अगाडी सचेतना कार्यक्रम सहित कक्षको स्थापना गरिएको हो । जरायोटारमा निःशुल्क मास्क समेत वितरण गरिएको हो ।

अरुण गाउँपालिकाको जरायोटारमा स्थापना गरिएको स्वास्थ्य सहायता कक्ष..