१३ करोड राजस्व छली : चिनियाँसहित स्वदेशी निर्माण कम्पनीविरुद्ध मुद्दा दायर

काठमाडौं, २० कात्तिक । राजस्व अनुसन्धान विभागले झुटो तथा नक्कली बिजक प्रयोग गरी करौडौं राजस्व छली गरेको अभियोगमा नेपाल दोंगहवा कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले मंगलबार १३ करोड १३ लाख ११ हजार ६७७ रुपैयाँ बिगो दाबी माग्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।विभागका अनुसार राजस्व चुहावट अभियोगमा सो निर्माण कम्पनीमाथि राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन–२०५२ को दफा २३ को उपदफा ९१० र ९३० बमोजिम बिगो मागी मुद्दा दायर गरिएको हो ।विभागका महानिर्देशक दीर्घराज मैनालीले वस्तु तथा सेवा खरिद नै नगरी सो कम्पनीले नक्कली मूल्य अभिवृद्धि कर र आयकरसमेतको राजस्व चुहावट गरेको जानकारी दिए ।

विभागको अनुसन्धानअनुसार सो कम्पनीले मूल्य अभिवृद्धि करतर्फ ४ करोड २१ लाख ८ हजार ८ सय २ रुपैयाँ, आयकरतर्फ ७ करोड ७७ लाख ७१ हजार ७ सय ९३ रुपैयाँ र लाभांश १ करोड १४ लाख ३१ हजार ८२ रुपैयाँ गरी कुल १३ करोड १३ लाख ११ हजार ६७७ रुपैयाँ राजस्व छलेको प्रमाणित भएको छ । यो कसुर गर्नेमा नेपाली र चिनियाँ नागरिक सञ्चालक छन् ।

नेपाल दोंगहवा कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी प्रालि ९स्थायी लेखा नम्बर ६०३४९३२७२०ले वस्तु तथा सेवा खरिद नै नगरी झुठो तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक मात्र खरिद गरी मूल्य अभिवृद्धिकर र आयकरसमेतको राजस्व चुहावट कसुरमा संलग्नता रहेको देखिएको भन्दै विभागले सोही कम्पनीका सञ्चालक चिनियाँ नागरिक याङ लिन, से स्याङजुन, वे देगुइ र स्वदेशी व्यवसायी सुविन श्रेष्ठलाई प्रतिवादी बनाएको छ ।

सो कसुरमा उनीहरूलाई बिगोको दोब्बरसम्म जरिमाना गरी आगामी तीन वर्षसम्म कैद सजाय माग दाबी गरिएको छ ।मुलुकमा मौलाउँदै गरेको भ्रष्टाचार एवं वित्तीय अनुशासनमा आक्रामक रूपमा अघि बढेको विभागले यसअघि विदेशी मुद्रा अपचलन आरोपमा भारतीय नागरिक रितेशकुमार मधेसियालाई कुल ३३ करोड ३२ लाख बिगो दावीसहित रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।

विभागले गत ७ कात्तिकमा दायर गरेको मुद्दामा मधेसिया र निरज अग्रहरीबाट बरामद भारतीय रुपैयाँको अनुसन्धान गर्दा प्रतिव्यक्ति नेपाली रुपैयाँ ५ हजारभन्दा बढी विदेश आउँदा जाँदा बोक्ने गरेको खुलेको विभागले जनाएको छ । विभागले उनीहरूको साथबाट नेपाली रुपैयाँ ३८ लाख ९३ हजार १ सय रुपैयाँसमेत बरामद गरेको थियो ।