२५२ व्यापारिक फर्ममाथि कारबाही

काठमाडौं, २० कात्तिक। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनको क्रममा २ सय ५२ व्यापारिक फर्मलाई कारबाही गरेको छ । चालू आर्थिक वर्ष २०७६÷७७ को साउनदेखि १७ कार्तिकसम्ममा २ सय ५२ व्यापारिक फर्मलाई कारबाही गरेको हो । विभागले ६ सय ३५ व्यापारिक फर्मको अनुगमन गर्दा २ सय ५२ फर्म कारबाहीमा परेको जनाइएको छ । यसैबीचमा विभागले ४७ लाख रुपैयाँ जरिमाना पनि असुलेको छ ।

विभागले चालू आवको साउन महिनामा ९८ वटा व्यापारिक फर्म अनुगमन गरेको थियो । जसमध्ये ४२ वटा व्यापारिक फर्मलाई ४ लाख ३८ हजार रुपैयाँ जरिमाना गरेको थियो । यसैगरी भदौ महिनामा विभागले २ सय १६ वटा फर्म अनुगमन गर्दा १ सय ११ व्यापारिक फर्म कारबाहीमा परे र ११ लाख ६७ हजार जरिमाना तिर्न बाध्य भयो । यसैगरी, असोजमा २ सय ७३ व्यापारिक फर्म अनुगमन गरेको मध्ये ८३ व्यापारिक फर्मलाई २५ लाख १५ हजार जरिमाना गरेको छ । यसैगरी, १७ कार्तिकसम्ममा विभागले गरेको ५५ वटा व्यापारिक फर्म अनुगमनमध्येमा १६ वटा व्यापारीलाई ५ लाख ८५ हजार रुपैयाँ जरिमाना गरेको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ ले बजार अनुगमन गर्दा अनुगमन कर्ताले ठाउँको ठाउँ कारबाही तथा जरिमाना गर्न सक्ने अधिकारको सुनिश्चित गरेको छ । बजार अनुगमन गर्दा व्यापारीले मूल्यसूची नराखेर सञ्चालन गरेको पाइएमा ५ हजार देखि ३ लाख रुपैयाँसम्म जरिमाना गर्न सक्ने ऐनमा उल्लेख छ ।

व्यवसायीले व्यापारिक फर्म सञ्चालन गर्दा अनिवार्य उपभोक्ताले देखिनेगरी मूल्यसूची राख्नुपर्ने, व्यापारिक फर्म दर्ता गरेको हुनुपर्ने, बिलविजन देखाउनुपर्ने व्यवस्था पनि ऐनमा गरिएको छ । सो मापदण्डअनुसार व्यापारीहरूले व्यापारिक फर्म सञ्चालन नगरेको पाइएमा अनुगमन संरक्षण अधिकारीले ठाउँको ठाउँ कारबाही गर्न सक्ने व्यवस्था छ । विभागले कानुनी व्यवस्थाअनुसार नै अनुगमन अधिकृतले अनुगमनमा कैफियत पाइए ५ हजार देखि ३ लाख रुपैयाँ जरिमाना गर्ने गरेकोे जनाएको छ ।

नेपाल खुद्रा व्यापार संघ अध्यक्ष राजकुमार श्रेष्ठले बजार व्यवस्थापन गर्न विभागलाई अनुगमन हामी व्यापारीहरूले नै आग्रह गर्ने गरेको बताए । धेरैजस्तो व्यापारी नयाँ कानुनमा परिचित नभएर कारबाही हुने गरेको बताए । कारबाहीबाट बच्न व्यापारीहरूले सचेत हुन आवश्यक रहेको उनले बताए । अध्यक्ष श्रेष्ठले भने, केही व्यापारीहरूले इमानदारीपूर्वक व्यापार व्यवसाय नगर्दा थोरै पैसाको लोभ धेरै पैसा गुमाउनुपरेको छ ।

कारबाहीबाट बच्न व्यापारीहरूले सचेत हुनुपर्छ । हामी व्यापारीहरू एउटा वस्तुका व्यापारी भए पनि अन्य वस्तुको उपभोक्ता नै हुँ त्यसकारण सबै व्यापारीले सरकारको कानुनअनुसार नै व्यवसाय गर्नुपर्छ । परम्परागत रूपमा व्यवसाय सञ्चालन गर्दै आएकाले विभाग अनुगमनमा आउँदा व्यापारीहरू कारबाही गर्ने गरेको अध्यक्ष श्रेष्ठको भनाइ छ । श्रेष्ठले पछिल्लो समय संघले व्यापारीलाई सचेत गर्न जनचेतनाका कार्यक्रम गर्दै आएको बताए । उनले भने विगतका वर्षभन्दा पहिलो समय व्यापारीहरूमा धेरै सुधार आएको बताए ।