भोजपुरमा पहिलो पटक आएका सात पर्यटकको बिदाई

भोजपुर, २२ असोज ।

पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै भोजपुरको मुन्दुम ट्रेलको ट्रेकिङका लागि आएका पर्यटकहरुलाई विदाई गरिएको छ । गत असोज १३ गते भ्रमणका लागि आएका पर्यटकहरुलाई गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि बिदाई गरेको हो ।

नेपाल सरकारको उत्कृष्ट १०० ओटा पर्यटकिय क्षेत्रको सुचीमा पर्न सफल मुन्दुम ट्रेलको ट्रेकिङका लागि आएका ७ जना अमेरिकन पर्यटकहरुलाई बिदाई गरिएको हो । दश दिन सम्म ट्रेकिङमा गएका उनीहरुले मुन्दुम ट्रेलको मैयुङडाडाँ, टेम्केडाँडा, हाँस पोखरी लगाएतको भ्रमण गरेका छन् । मौसम खराब भएको कारण सिलिचुङ सम्म भने पुग्न नसकेको गाउँपालिकाले जनाएको छ । उनिहरुले नेपालको हाल सम्म ४३ ओटा पर्यटकिय क्षेत्रको भ्रमण गरेकोमा भोजपुरको मुन्दुम ट्रेल उत्कृष्ट तीन भित्र परेको प्रतिक्रिया दिएका छन् । विदाई कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष ध्रुवराज राईले प्रतिकुल मौसमको सामना गर्दैै पनि आफ्नो गाउँपालिका क्षेत्रको पर्यटकिय स्थलको भ्रमण गरेकोमा उनीहरुलाई धन्यबाद दिएका । उनले मुन्दुम ट्रेलको आफ्नो ठाउँमा प्रचार प्रसार गरिदिन समेत आग्रह गरे ।

अध्यक्ष राईले भने‘ प्रतिकुल मौसमको सामना गर्दै हाम्रो पर्यटकिय क्षेत्रको भ्रमण गरिदिनु भएकोमा गाउँपालिका आभार प्रकट गर्दछ, यस पदमार्गलाई सवै माझ चिनाउन भुमिका खेलिदिनु हुन अनुरोध गर्दछु । ’ जिल्लामा पहिलो पटक आएका पर्यटकहरुलाई भव्य रुपमा स्वागत समेत गरिएको थियो ।