भोजपुरमा चट्याङका कारण एक जना घाइते

भोजपुर २० असोज । भोजपुरमा चट्याङका कारण एक जना घाइते भएको प्रहरीले जनाएको छ । गएराती पानीसंगै परेको चट्याङले भोजपुर नगरपालिका–१० भैंसीपंखा वस्ने ३० वर्षीया निमा प्रधान घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घरमा सुती रहेकी प्रधानलाई चटयाङले लाग्दा कानबाट रगत वगेको साथै, गाला, घाँटी तथा निधार सामान्य डढेको प्रहरीको भनाई छ । घाइतेको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै चट्याङकै कारण भोजपुर नगरपालिका –८ दुम्सीका वस्ने धर्मराज खड्काको गोठमा बाधेको बाछी मरेको छ । साथै चटयाङको कारण खड्काको बिजुलीको मिटर बक्स, गोठको सात मिटर पर्खाल भत्किदा ७० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । त्यस्तै सोही स्थानका कृष्ण बहादुर खड्काको विजुलीको मिटरमा वक्समा क्षति भएको प्रहरीको भनाई छ ।