राष्ट्र बैंकले नयाँ नोट बाँड्न थाल्योस् प्रतिव्यक्ति साढे १८ हजार मात्र पाइने

काठमाडौ, ११ असोज ।

 आगामी आइतबार घटस्थापनाको दिनबाट सुरु हुने दसैंका लागि नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट वितरण (सटही) थालनी गरेको छ । शुक्रबार बिहानैदेखि नयाँ नोट लिन जानेहरूलाई र अन्य बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट वितरण गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले विगतका वर्षहरूको भन्दा यसपालि नयाँ नोट वितरण कार्य निकै सहज र छिटो बनाइएको बताए । उनले नयाँ सटही सुविधा शुक्रबारदेखि आगामी १७ असोजसम्म उपलब्ध हुने जानकारी दिए ।

अहिले काठमाडौंलगायत मुलुकभरका विभिन्न स्थानमा सटही सेवा उपलब्ध गरिएको जानकारी गराउँदै उनले नयाँ नोट वितरण कार्य सुरु भएको पहिलो दिन शुक्रबार दिउँसो काउन्टर बन्द गर्नेबेलासम्म ८ सय ५७ जनाले मात्रै नयाँ नोट सटही गरेको बताए । उनले उपत्यकाभित्र राष्ट्र बैंक र विभिन्न बैंकमार्फत ५, १०, २०, ५० र १ सय दरका नोट सटही गर्ने व्यवस्था मिलाइएको जानकारी दिए । उपत्यकाबाहिर भने राष्ट्र बैंकका कार्यालयबाट मात्रै त्यस्तो सुविधा उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ ।
वितरण कार्य सुरु भएको पहिलो दिन शुक्रबार राष्ट्र बैंकमा विगतका वर्षहरूमा जस्तो सर्वसाधारणको बाक्लो लाइन थिएन । लाइनमा बसेका सर्वसाधारणले करिब २० मिनेटभित्र सजिलै नयाँ नोट पाएका थिए ।
राष्ट्र बैंकले अघिल्ला वर्षहरूमा थापाथलीस्थित कार्यालयबाट रकम वितरण गर्ने गरेको थियो । यसपटक मुद्रा व्यवस्थापन विभाग नै बालुवाटारमा सरेकाले बालुवाटारबाट यस्तो नयाँ नोट सटही गरिएको हो । राष्ट्र बैंकले गत वर्ष करिब १३ अर्ब रुपैयाँको नयाँ तथा सुकिला नोट वितरण गरेको थियो । यो वर्ष पनि सोही हाराहारीमा नयाँ नोट बाँड्ने तयारी रहेको राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्था र अन्य संघसंस्थालाई पहिलो साता गत ५÷६ असोजदेखि नै नोट वितरण गरिसकेको छ । ती संस्थाले पहिल्यै नयाँ नोट पाइए पनि सर्वसाधारणले शुक्रबारदेखि नोट सटही सुविधा पाउन थालेका हुन् । भवन निर्माणको काम भइरहेकाले यसपालि थापाथलीस्थित राष्ट्र बैंकको कार्यालयबाट नोट सटही सुविधा दिएको छैन । यो वर्ष राष्ट्र बैंकले गत वर्षभन्दा कमका दरले नयाँ नोट सटही सुविधा दिने जनाएको छ । राष्ट्र बैंकका अनुसार यस वर्ष प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नयाँ नोट वितरण गरिनेछ । जसमा सर्वसाधारणले ५, १०, २०, ५० र सय दरका एक÷एक बन्डल नयाँ नोट सटही गर्न पाउनेछन् ।
यसअघि राष्ट्र बैंकले गत वर्ष प्रतिव्यक्ति २७ हजार रुपैयाँका दरले नयाँ नोट वितरण गरेको थियो । गत वर्ष सर्वसाधारणले ५, १०, २० र ५० दरका दुई बन्डल र एक सयको एक बन्डल गरी प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नयाँ नोट दिएको थियो । यसैबीच, राष्ट्र बैंकले अनावश्यक रूपमा नयाँ नोट नलिन र लिएका नोटहरू पनि हिफाजत गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
सरकारले गरेको पछिल्लो व्यवस्थाअनुसार नेपाली मुद्रा (कागजी नोट) वा सिक्का जलाउन, केरमेट गर्न, गाल्न, च्यात्न पाइँदैन । यसो गरेको भेटिएमा प्रहरीले सिधै प्रक्राउ गरी तीन महिनासम्म जेल हाल्न र ५ हजार रुपैयाँसम्म जरिमाना गर्न सक्छ । प्रमाणसहित उजुरीका आधारमा पनि प्रहरीले कारबाही गर्ने छुट कानुनले दिएको छ । सोही कानुनअनुसार अहिले राष्ट्र बैंकले सर्वसाधारणलाई आफूलाई पायक पर्ने विभिन्न स्थानमा गएर नयाँ नोट सटही आग्रह गरेको जनाएको छ ।