सांसद्हरूको अभिव्यक्तिप्रति मुख्यमन्त्री राईको ध्यानाकर्षण

मोरङ, २३ भाद्र । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले सांसदहरूको अभिव्यक्तिप्रति ध्यानाकर्षण गराउनु भएको छ । प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले कतिपय प्रदेशसभाका सदस्यहरूको अभिव्यक्तिप्रति ध्यानाकर्षण गराएका हुन् ।

प्रदेशसभामा नेकपाकै सांसद् उपेन्द्र घिमिरेले भ्रष्टाचार र घुसखोरी बढेको भन्दै लोगो लगाएर हिंड्न नसक्ने अवस्था आएको अभिव्यक्ति दिएका थिए ।

सांसद् घिमिरेप्रति लक्षित गर्दै मुख्यमन्त्री राईले मुख छोपेर, मास्क लगाएर, लोगो फुकालेर छलिएर हिंड्नुपर्ने अवस्था कहाँबाट आयो भन्दै प्रश्न गरे ।

बजेटमा कुनै पनि प्रकारको अनुचित कार्य, घुस लिने दिने, सेटिङमा काम गर्ने ढङ्गका काममा कोही कसैलाई छुट नदिने बताउँदै मुख्यमन्त्री राईले अनुचित कार्य गरेको पाइएमा एक घण्टाभित्र कारबाही गर्ने प्रतिबद्धता जनाए ।

प्रदेश सरकारले बजेट छुट्याएका कतिपय योजनामा अनियमिता भएको हुनसक्ने सूचना आफूले पाएको बताउँदै त्यसतर्फ पनि ध्यान दिन प्रदेशसांसदलाई आग्रह गरेका छन् ।