फौजी किरा प्रकोपले मकैबाली नष्ट भएपछि भोजपुरका किसान चिन्तित

भोजपुर, २३ भाद्र । फौजी किराको प्रकोपले करिब २५ हेक्टर क्षेत्रफलमा लगाएको मकैबाली नष्ट भएपछि किसान चिन्तित बनेका छन् ।

भोजपुरमा पहिलो पटक अमेरिकी फौजी किराको प्रकोप देखिएको छ ।

फौजी किराले मकैबाली सखाप पार्न थालेपछि टक्सार, आम्तेक मानेभञ्जाङ, जरायोटार, याङपाङ, रानिबास लगायत क्षेत्रका किसानहरु चिन्तित बनेका हुन् ।

फौजी किराले दिउँसोको समयमा मकैको गुबोभित्र पसेर खाने र रातमा कलिला पात खाने गरेको छ । फौजी किराले गुबो खाएपछि मकैको पात नलाग्ने, सुतली नआउने र घोगा नलाग्ने समस्या हुने गर्दछ ।

कृषकको खेतबारीमा लगाएको मकैबालीमा फौजी किराको प्रकोप बढ्दै गएपछि बालीनाली, रुखबिरुवा, वस्तु भाउमा समेत क्षति गर्नेप्रति किसानको चिन्ता बढ्दै गएको छ ।