चितवनमा करेन्ट लागेर एकको मृत्यु

भरतपुर, २४ साउन । करेन्ट लागेर एक युवकको चितवनमा मृत्यु भएको छ । अन्नपूर्ण पोल्ट्री फार्ममा वेल्डिङ गर्ने क्रममा खैरहनी नगरपालिका–१ का २९ वर्षीय अनिश महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बिहान ९ः२० बजेको समयमा करेन्ट लागेर घाइते भएका महतोको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । भरतपुर महानगरपालिका–९ आदर्शचोकमा आज बिहान इनारमा खसेर एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नवलपुरको गैँडाकोट घर भई माइतमा आएकी ४० वर्षीया इन्द्रकला भुसालको इनारमा खसेर मृत्यु भएको हो ।इनारको ढकनीमा चढी कपडा सुकाउने डोरी मिलाउन खोज्दा ढकनी भाँचिन गई भुसाल इनारमा खसेकी थिइन् । इनारमा खसेकी भुसालको शव भरतपुर अस्पताल ल्याइएको छ ।