सुनको मूल्यमा नयाँ रेकर्ड, दुई दिनमै २ हजारले बढ्यो मूल्य

सोमबार १५ सयले बढेर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। आइतबार ५ सय बढेर ६६ हजार ३ सयमा कारोबार भएको प्रतितोला सुनको मूल्य सोमबार १५ सयले बढेर ६७ हजार ८ सय पुगेको छ। यो नेपालमा कारोबार भएको हालसम्मकै उच्च मूल्य हो। शुक्रबार ६५ हजार ८ सयमा प्रतितोला सुनको कारोबार भएको थियो। पछिल्लो दुई दिनमा मात्रै सुनको मूल्यमा प्रतितोला २ हजार बढेको छ। सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। आइतबार ९ सय ७५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी सोमबार २० रुपैयाँ बढेर ९ सय ९५ पुगेको छ ।फेडरल रिजर्भ बैंकले ब्याजदर घटाएकै कारण सुनको मूल्य बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।यस्तै पछिल्लो सयम अमेरिका र चीनबीचको व्यापार युद्धको असर पनि सुनको मूल्यमा परेको बताइएको छ।