भोजपुरमा नै छ, यस्तो आस्चर्यजनक धार्मिक स्थल चुलाचुली गुफा (भिडियो सहित)

भोजपुर, २९ जेठ ।
भोजपुरको रामप्रसादराई गाउँपालिका वडा नम्बर – ४ दलगाउँको दिपेनीमा रहेको अनौठो धार्मिक तथा पर्यटकिय स्थल चुलाचुली गुफा ओझेलमा परेको देखिन्छ । निकै अलौकिक र आस्चर्यजनक रुपमा रहेको यो ठाउँ प्रसारको अभावमा ओझेलमा परेको हो ।

यस गुफा रहेको करिव एक रोपनी क्षेत्रमा खोलाको बगर झै ढुङ्गाहरु कुदिएका छन्, भने अन्यत्र यस्ता ढुङ्गा कतैपनि देख्न पाइन्न। जसमा विभिन्न खालका देविदेवताको आकृति समेत देख्न सकिन्छ । जहाँ गुफाभित्र महादेवको मुर्ती समेत रहेको स्थानीयको भनाई छ । यस्तो अनौठो खालको स्थान रहेको भएपनि प्रचार– प्रसार नहुँदा यो स्थान चर्चामा आउन नसकेको स्थानीयले बताउने गरेका छन् ।

अहिले सो स्थानमा आन्तरिक पर्यटकहरु भने पुग्ने गरेका छन् । यसको विकास र विस्तार गरेर आन्तरिकसंगै बाह्य पर्यटकलाई भित्राएर गाउँपालिकाको आर्थिक श्रोतको रुपमा विकास गर्ने स्थानीय सरकारले बताएको छ । जसको संरक्षण तथा सुरक्षाको लागि सो स्थान रहेको ठाउँमा पर्खाल लगाएर घेरावारा गरिरहेको छ । आगमी दिनमा यसको वृहत्तर विकासका लागि डीपीआर तयार गरेर काम गर्ने गाउँपालिका उप-प्रमुख सम्झना राईको भनाई छ ।