नेपाली फिल्ममा फर्किंदै विराज

धरान । विराज भट्ट एक समय नेपाली फिल्ममा चल्तीका फिल्मी हिरो गनिन्थे । त्यसपछि उनी भोजपुरी फिल्मतिर लागे । अहिले उनी पुनः नेपाली फिल्मतिरै फर्किंदै छन् ।
भोजपुरी फिल्ममा आफ्नो प्रभाव खस्किँदै गएपछि उनी नेपाली फिल्ममा फर्किएको चर्चा पनि फिल्मक्षेत्रमा चलेको छ । अभिनय गर्दै आएका विराट अब कलाकारबाट निर्माता र निर्देशकका रूपमा नेपाली फिल्ममा फर्किंदै छन् । उनको निर्माण र निर्देशनमा बन्न लागेको फिल्म ‘साङ्लो’ को औपचारिक घोषणा गरिएको छ ।

यो फिल्ममा विराट मिस नेपाल २०१७ निकिता चाण्डकको जोडीका रूपमा प्रस्तुत हुँदैछन् । गत साता यही फिल्मको विषयलाई लिएर फिल्मका निर्माण नियन्त्रक शङ्कर पाण्डेमाथि हातपात गरेपछि विराजले माफी नै माग्नुपरेको थियो । प्राविधिकमाथि हातपात गरेपछि उनले आफ्नो वास्तविक चरित्र देखाएको भन्दै फिल्मवृत्तमा टिका–टिप्पणी पनि भए । तर, यस घटनालाई लिएर मौन रहेका विराजले फिल्म ‘साङ्लो’ को घोषणासभामा प्राविधिक पाण्डेकै गल्तीका कारण आफूले हात उठाउन पुगेको बताए ।