धनकुटामा शहीद भीमनारायण गोल्डकप बैशाख २८ गतेदेखि हुने

धनकुटा, २३ बैशाख । १४ औं शहीद भीमनारायण गोल्डकप प्रतियोगिता यही बैशाख २८ गतेदेखि धनकुटाको तल्लो टुडिखेलमा आयोजना हुने भएको छ ।

शहीद भीमनारायण स्मृति प्रतिष्ठानले आयोजना गर्न लागेको प्रतियोगिता बैशाख २८ गते देखि जेठ ४ गते सम्म संचालन गरिने आयोजक समितिका अध्यक्ष पुरेन्द्र लाल श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा ए डिभिजनका फ्रेन्ड्स, नेपाल पुलिस, ए।पी।एफ क्लबसहित दाउफिन्स क्लब क्यामरुन, विर्तामोड यूनाईटेड झापा,बिन्ध्यबासिनी फुटबल क्लब मोरङ्ग, धरान फुटबल क्लब सुनसरीसहित आयोजक धनकुटा सहभागी हुने भएका छन् ।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद ४ लाख र दोस्रो हुने टोलीले नगद २ लाख प्राप्त गर्ने प्रतियोगिता संचालन समितिका संयोजक शम्भू प्रधालले जानकारी दिनुभयो । त्यस्तै अन्य विद्याका उत्कृष्ठ खेलाडी तथा प्रशिक्षकलाई समेत नगद पुरस्कार प्रदान गरिने भएको छ । प्रतियोगिताको कुल लागत २६ लाख लाग्ने अनुमान आयोजकले गरेको समेत पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।

मुख्य प्रायोजक रुसलान भोड्का रहेको प्रतियोगिताको सहप्रायोजकमा जगदम्वा स्टिल, निगाले सिमेन्ट, सल्भ नेपाल, अजावको आइसक्रिम र जिल्ला फुटवल संघको प्राविधिक सहयोग रहेको प्रतिष्ठानका महासचिव रोशन श्रेष्ठले बताए ।