मलेसियामा बस दुर्घटना, दुई नेपालीसहित ११ जनाको ज्यान गयो

काठमाण्डौ, २५ चैत्र । आइतबार राती मलेसियामा बस दुर्घटना हुँदा दुई नेपालीसहित ११ जनाको ज्यान गएको छ । ज्यान जानेमा नेपाली रामु चौधरी र जगन्नाथ सिंह दनुवार रहेको मलेसियाबाट रमेश पन्थीले जानकारी दिइएका छन् ।

४४ जना यात्रु बोकेर हिँडेको बस मलेसियाको क्वालालामपुर विमानस्थल नजिकै सेपाअङमा नालीमा खसेर दुर्घटना हुँदा दुई नेपालीसहित पाँच जना बंगलादेशी, तीन जना इण्डोनेसियन र एक मलेसियन नागरिकको ज्यान गएको हो । मलेसियन नागरिक बसका चालक रहेको बताइएको छ ।

दुर्घटनामा ३३ जना घाइते भएका छन् । बसमा १४ जना नेपाली, १२ जना बंगलादेशी र १४ जना इण्डोनेसियन र दुई जना मलेसियन नागरिक रहेको मलेसियन प्रहरीलाई उदृत गर्दै स्थानीय सञ्चार माध्यम मेट्रोले उल्लेख गरेको छ ।

रातीको काम गर्ने कामदार बोकेर काम गर्ने ठाउँतिर जाँदै गरेको बस दुर्घटनामा परेको हो । बस १० मिटर तल नालिमा खसेको प्रहरीको भनाइलाई मेट्रो अनलाइनले उल्लेख गरेको छ । घाइतेहरुको सेरदान, पुत्रजया, बान्तिन र काजाङ अस्पतालमा उपचार भइरहेको छ ।