चौथो भोजपुर ट्रेल रेसको तयारी अन्तिम चरणमा,रेसको लागि पौवादुङमा गापाको आर्थिक सहयोग

भोजपुर, २७ माघ ।चौथो भोजपुर ट्रेल रेसको तयारीको अन्तिम चरणमा पुगेको छ । आइतवार पत्रकार सम्मलेन मार्फत रेसको तयारी अन्तिम चरणको पुगेको जानकारी दिइएको हो । जिल्लामा विश्व अल्ट्रा धावक मिरा राई जस्तै खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ रेसको आयोजना गरिएको आयोजकले जनाएको छ ।
मिरा राईको जन्म स्थल पौवादुङ्मा गाउँपालिकाको सानोदुङ्माबाट यहि फागुन ४ गते ३६ किलो मिटरको दुरीमा हुने दौड पौवादुङमा गाउँपालिकाको सानोदुङ्मा माध्यामिक विद्यालयबाट दिर्घे भञ्ज्याङ, तीवारीभञ्ज्याङ, चिवाचुङडाँडा, हिलेभञ्ज्याङ, अरुण डाँडा, धापखर्क, मुँडे, वोमिखको पाँचधारे देउराली हुँदै भोजपुर सदरमुकामको सहिद पार्कमा सम्पन्न रिमाचुङ एजुकेसन एण्ड स्पोर्ट एकाडेमी भोजपुरले जनाएको छ । रेसका आन्तरिकसंगै अन्य देशका धावकहरुको पनि सहभागिता रहने जनाइएको छ ।

त्यस्तै प्रोत्साहनका लागि १२ वर्ष भन्दा मुनीका बालबालीकाको सानोदुङ्मा माविबाट विश्व अल्ट्रा म्याराथुन मीरा राईको घर र राइको घरबाट सानोदुङ्मा मावि सम्म ३ किलो मिटरको दुरीमा दौडाइने छ,भने १६ वर्ष भन्दा मुनीका ३६ किलो मिटर पार गर्न नसक्नेका लागि दिर्घेबाट मानेडाँडा र मानेडाँडाबाट सानोदुङमा सम्म ८ किलो मिटरमा दौड गराइने रीमाचुङ स्पोर्टस एकाडेमीका अध्यक्ष पावीहाङ राईले जानकारी दिए ।
पत्रकार सम्मेलनमा वोल्दै पौवादुङ्मा गाउँपालिका अध्यक्ष किरण राईले खेलक्षेत्रको विकास र बिस्तारका लागि निति नै बनाएर लाग्ने वताए । मिरा राई आफ्नो गाउँपालिकामा जन्मेर विश्व समक्ष देशको नाम चिनाउन सफल भएकोले मिराको नाममा वहुउद्धेश्य रंगशालासंगै सामुदायिक भवन समेत निर्माण गरिने जानकारी दिए । राईले भने‘मैले मिराको सम्मानसंगै खेल क्षेत्रको विकासका लागि विभिन्न काम गरिरहेको छु । खेल क्षेत्रको विकासको लागि आगामी गाउँ सभाबाट रणनितिक योजना वनाएर काम गर्ने तयारीमा छु ।’ आफुले सम्पुर्ण खेलाडीको हितको पक्षमा काम गरिरहेको भएपनि समाजका जान्ने वुझ्नेले नै अनावश्यक रुपमा खेल क्षेत्रमा वजेट विनियोजन गरेर वजेट सक्यो, भन्ने खालको आरोप लगाउने गरेको समेत वताए । उनले भने‘म खेल क्षेत्रको विकास गर्नु पर्छ भन्नेमा दृढ भएर लागेको छु, तर कसै –कसैले खेल क्षेत्रमा पैसा विनियोजन गरेर सक्यो, भन्ने आरोप लगाउने गरेको पनि सुन्ने गरेको छु तर त्यस्तो कुरा सुन्ने मलाई फुर्सद पनि छैन, जसले आलोचना गरेपनि यसको विकासमा म गम्भिर भएर लागेको छु ।’ साथै उनले भोजपुर टे«ल रेसका लागि गाउँपालिकाले ३ लाख रुपैंया सहयोग गरेको समेत वताए ।