तेस्रो मादी नगर आमन्त्रित रनिङ कप पुरुष फुटबल प्रतियोगिता सुरु

संखुवासभा, २४ माघ –संखुवासभाको मादी नगरपालिकामा तेस्रो मादी नगर आमन्त्रित रनिङ कप पुरुष फुटबल प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । प्रतियोगिताको साथमा नगर स्तरीय कृषि पशु एवम् प्रविधि प्रदर्शनी मेला पनि सुरु भएको हो । मादी नगरपालिकाको प्रायोजन तथा हाङथुम क्लव मुलखर्कको आयोजनामा भएको प्रतियोगितामा संखुवासभाका चार टिम सहित विभिन्न जिल्लाका १० टिमको सहभागीता रहेको मेला व्यवस्थापन समितिका संयोजक सन्दिप घिमिरेले बताए । प्रतियोगितामा झापा, मोरङ, सुनसरी, तेह्रथुम र ताप्लेजुङको सहभागिता रहेकोसंयोजक घिमिरेले बताए ।
आज भएको उद्घाटन खेलमा कर्मचारी समूहले जित हासिल गरेको छ । समाजसेवी समुहलाई कर्मचारीले ट्राइबेकरमा ३–२ गोलले पराजित गरेको हो ।
प्रतियोगितामा विजयी टिमले १ लाख १० हजार कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भन उपविजेताले ७५ हजार साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ठ ६ जना खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
यस्तै प्रत्येक खेलमा म्यान अफद म्याच घोषणा पनि गरिने छ ।
कृषि तथा पशु प्रदर्शनीका प्रत्येक विधामा प्रथम र द्धितीयलाई नगद साथमा प्रमाणपत्र प्रदान गरिने छ । मादी नगरको पहिचान फुटबल विकासको अभियान भन्ने मुल नाराका साथ सुरु गरिएको प्रतियोगिता २७ गते समापन हुनेछ ।