आज २०७३ माघ ६ गते

सन्तान नभए के गर्ने ?

स्वास्थ्य २०७३ कार्तिक ८ ४०८ पटक हेरिएको

Image titleडा. सबिना श्रेष्ठ प्रधान

विवाहपछि प्रत्येक दम्पतिको एउटा स्वाभाविक सपना हुन्छ– घरमा बच्चाको हाँसो गुन्जियोस् । तर चाहँदा–चाहँदै पनि सबैको यो सपना पूरा हुन सकिरहेको हुँदैन । कुनै–कुनै महिलाले सन्तान जन्माउन सक्दैनन् । यस्ता दम्पत्तिमध्ये धेरैले आफ्नो जीवन एक्लो र फिका अनुभव गर्छन् । आज पनि हाम्रो समाजमा सन्तान नहुनुलाई भगवानको श्राप वा पूर्वजन्मको अभिशाप भन्दै हेलाँ गर्ने चलन छ । झण्डै १५ प्रतिशत विवाहित दम्पत्तिले (कहाँका ) सन्तान सुखबाट वञ्चित हुनुपर्दा यति सुन्दर संसार उनीहरुका लागि कालकोठरीजस्तै बन्न पुगेको छ । आजको वैज्ञानिक युगमा आइयूआई, आइभिएफ (टेष्टट्युव बेबी), एक्सीजस्ता आधुनिक प्रविधिद्वारा कैयौं निसन्तान दम्पत्तिको सपना साकार हुन पुगेको छ ।

निःसन्तान भनेको कुनै पनि परिवार नियोजनका साधन नअपनाई नियमित सहवासपश्चात् पनि २ वर्षभित्र गर्भधारण हुन नसकेको अवस्थालाई मानिन्छ । सन्तान हुन नसक्नुमा महिला तथा पुरुष दुवै समान रुपमा जिम्मेवार मानिन्छन् । कहिलेकाहीँ दुवैमा खराबी नहुँदानहुँदै पनि गर्भ रहन कैयौं वर्ष लाग्न सक्छ ।

किनभने गर्भ रहनु भनेको एउटा आकस्मिक घटना हो । स्वस्थ हुँदाहुँदै पनि पुरुषको शुक्रकीटले महिलाको अण्डा भेट्ने अवसर नपाएको हुनसक्छ । स्त्री रागरस वा पुरुष रागरसको कमीका कारण यस्तो हुनसक्छ । हाम्रो समाजमा सन्तान नहुनेलाई नराम्रो दृष्टिले हेर्ने र हेलाँ गर्ने चलन छ । निःसन्तानका हातको पानी चल्दैन वा पितृहरु विमुख हुन्छन् भन्ने अन्धविश्वासी परम्परा पनि हाम्रो समाजमा छ । यस्तो गर्नु राम्रो होइन । निःसन्तान हुनुको कारण निक्र्योल गर्नु जरुरी हुन्छ । छोराछोरी नभए पनि मानिसले सुखमय जीवन बिताउन सक्छन् । अरुको सन्तानलाई धर्मपुत्र, धर्मपुत्री लिएर वा अनाथालयलाई सहयोग गरेर आफ्नो जीवनलाई सार्थक बनाउने कैयन् सन्तानहीन व्यक्ति हाम्रै समाजमा पनि धेरै छन् ।

कतिपय अवस्थामा महिनावारी भएको समय र सहवासको समय नमिलेका कारण पनि सन्तान नहुन सक्छ । युवाहरु विवाह गर्नासाथ रोजगारीका लागि विदेश गएका हुन्छन् । २ महिनाको बिदामा आएको समयमा घर परिवारबाट बच्चा पाउने दबाब हुन्छ । छोटो समयमै सन्तानको इच्छाका कारण तनाव पर्दा सन्तान जन्माउन सकेका हुँदैनन् । श्रीमान–श्रीमती दुवैमा कुनै खरावी नभएपनि तनावका कारण समस्या उत्पन्न हुन्छ । 

कतिपयले उपचारका क्रममा भन्ने गरेको पाइन्छ, ‘विवाह गरेको ४–५ वर्ष भयो, सन्तान भएको छैन ।’ यस्ता समस्या लिएर आउनेका लागि ओम अस्पतालले शुक्रकीट फ्रिज गरेर उपचार गर्ने गरेको छ । श्रीमानको शुक्रकीट जम्मा गरेर राख्ने र श्रीमान विदेश गैसकेपछि पनि श्रीमतीको पाठेघरमा राखी उपचार गर्ने गरिन्छ । तर यस्तो अवस्थालाई हाम्रो समाजले श्रीमान विदेशमा भएको समयमा पनि कसरी गर्भवती भएको भनेर नकारात्मक दृष्टिले हेर्ने चलन छ । यसमा जनचेतना जगाउन जरूरी छ । श्रीमानको शुक्रकीट नै श्रीमतीको पाठेघरमा राखिएको हुन्छ ।

विदेशमा काम गर्न जाने कामदारमा शुक्रकीट उत्पादनमा ५० प्रतिशतसम्म कमी भएको हुन्छ । किनभने त्यहाँको उच्च तापक्रमले यस्तो हुनसक्छ । विशेषगरी खाडी मुलुकमा काम गर्न जाने कामदारमा यस्तो समस्या देखिने गरेको छ । शुक्रकीट सामान्य अवस्थामा फर्कन करीब ३ महिना लाग्ने गर्छ । त्यस समयसम्म उनीहरु पुनः रोजगारीका लागि फर्कुपर्ने भैसक्छ । त्यसकारण पनि सन्तान चाहेको समयमा हुनसकेको हुँदैन । उनीहरूका लागि आईयूआई प्रविधिबाट उपचार गर्नुपर्ने हुन्छ । यस विधिद्वारा ओम अस्पतालमा करीब २ हजारले सन्तान जन्माएका छन् ।

पुरुषमा सन्तान नहुने कारण

– विर्यमा शुक्राणुको संख्या वा गतिमा कमी

– विर्यमा शुक्रकीट उत्पादन नहुनु ।

– विर्यमा संक्रमण

– शुक्राणुको बनावटमा खराबी

– हर्मोनमा गडवडी

– पुरुष कुनै कारणवश सहवास प्रक्रियामा असमर्थ हुनु

– शुक्रनली वा अन्य भागमा केही अवरोध भएमा ।

महिलामा सन्तान नहुने कारण

– अण्डाशयमा अण्डा नबन्ने अथवा थुपै साना–साना डिम्ब बनेपनि नबढ्ने ।

– पाठेघरको नली पूरा बन्द भएमा, पिप या पानी जमेमा या अण्डा पकडिने काम नगरेमा ।

– पाठेघरको झिल्ली क्षयरोग अथवा कुनै कारणबाट पातलो हुनु ।

– हर्मोनमा गडबडी ।

– पाठेघरको झिल्लीमा मासु बढ्नु ।

– गर्भाशयको मुख ज्यादै सानो हुनु ।

महिलामा गर्नुपर्ने जाँच

– पाठेघरको झिल्लीमा क्षयरोग भएको हो या होइन

– महिनावारी भएको दोश्रो वा तेश्रो दिनमा हर्मोनको जाँच

– रगतको सामान्य जाँच

– भित्री अल्ट्रासाउण्डद्वारा अण्डाको जाँच

– दुरबिन प्रविधिद्वारा पाठेघरको भित्री भाग तथा नलीको जाँच

– सहवासपश्चात् शुक्रकीटको जाँच

पुरुषमा गर्नुपर्ने जाँच

– रगतको सामान्य जाँच

– विर्यको विशेष जाँच

– आवश्यक अनुसार टेस्टिकुलर बायोप्सी गर्ने

– हर्मोनको जाँच

सबै किसिमको जाँचपश्चात् नै कुनै निष्कर्षमा पुग्न सकिन्छ । त्यसपछि मात्र उपचारको विधि अपनाउनु पछ्र्र ।

उपचार विधि

– सबै जाँचपश्चात श्रीमान्–श्रीमतीको सामान्य उपचार गर्ने

– आर्टिफिसियल इन्सेमिनेशन विद पार्टनर्स स्पर्म

– आर्टिफिसियल इन्सेमिनेशन विद डोनर्स स्पर्म

– टेष्टट्युब बेबी

– आइभिएफ विद डोनर स्पर्म

– एग डोनेशन

– सिमेन एण्ड एम्ब्रियो बैंक

– डोनर एम्ब्रियो ट्रान्सफर

– इन्ट्रासाइटोप्लाज्मीक स्पर्म इन्जेक्शन

सामान्य उपचारअन्तरगत महिनावारी भएको तेश्रो दिनबाट अण्डा बन्ने औषधि दिएर महिनावारी भएको ९ दिनबाट ‘ट्रान्सभ्यागिनल सोनोग्राफी’ बाट अण्डा बनेको गतिविधि हेरिन्छ । कसैकसैलाई हर्मोनको इन्जेक्सन पनि दिनुपर्ने हुन्छ । अण्डा फुटेपछि प्राकृतिक सहवासको सल्लाह दिइन्छ र यसबाट गर्भधारण गर्ने अवसर बढ्न जान्छ ।

आईयूआई प्रविधिमा महिनावारी भएको दोश्रो दिनबाट अण्डा बन्ने औषधि दिएर ९ दिनबाट टिभिएसबाट अण्डा बनेको गतिविधि हेरिन्छ । कसैकसैलाई हर्मोनको इन्जेक्सन पनि दिनुपर्ने हुन्छ । महिनावारी भएको चौध–पन्ध्र दिनमा जब अण्डा फुट्छ तब श्रीमानको विर्य संकलन गरी आईभिएफ मिडियामा हेरेर मसिनो नलीको माध्यमबाट श्रीमतीको पाठेघरमा राखिन्छ । यो प्रक्रिया पीडादायक हुँदैन । यसमा बिरामीलाई अस्पताल पनि भर्ना हुनुपर्ने आवश्यकता पर्दैन ।

श्रीमानको विर्य संख्या निकै कम भएको या शुक्राणुको अभाव भएको अवस्थामा श्रीमान–श्रीमती दुवैको सहमतिबमोजिम दाताको शुक्राणु लिएर यो प्रविधि अपनाइन्छ । आईयूआई प्रविधिका लागि पाठेघरको एउटा नली भएपनि खुल्ला भएको हुनुपर्छ र पाठेघरको झिल्लीपनि स्वस्थ हुनुपर्छ । यदि महिलाको पाठेघरको दुवै नली बन्द भएमा, नलीहरू शल्य

क्रियाद्वारा निकालिएमा, ६ पटकसम्म आईयूआई सफल नभएमा, बाँझोपनको कुनै कारण पत्ता नलागेमा आइभिएफ (टेष्टट्युव बेबी) विधि अपनाइन्छ ।

डा। सबिना श्रेष्ठ प्रधान, निःशन्तान विशेषज्ञ, ओम अस्पताल

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook