आज २०७३ फागुुण १३ गते

तरकारीमा विषादी प्रयोगले मानव स्वास्थ्यमा दिर्घकालिन असर

अर्थ २०७३ पौष ६ १२७९ पटक हेरिएको

Image title

तरकारी दैनिक जिवनमा प्रयोग हुन्छ । तरकारी विना खाना अपुरो हुन्छ । सागसव्जी, गेडागुडी दैनिक भान्सामा पाक्ने तरकारीबाली हुन् । रायो, काउली, बन्दा, मुला, गोलभेडा, आलु खानाका लागि नितान्त आवश्यक हुन्छन् । तागतिलो, स्वस्थ्य, हृष्टपुष्ट बन्नका लागि खानासंगै तरकारी प्रयोग गरिन्छ । स्वास्थ्य विशेषज्ञका अनुसार एकजनाले एकदिनमा औसत साढे ३ सय ग्राम तरकारी खानुपर्छ ।

अचेल हामीले प्रयोग गर्ने तरकारीबालीमा विषादीको प्रयोग बढेको छ । यसले स्वास्थ्यका लागि कति फाइदाजनक छ, छैन । यसमा पनि उत्तिकै चनाखो हुनुपर्छ । बजारमा किनेर खानेले अझ बढि सजग हुनुपर्ने देखिन्छ । तरकारीबालीमा लाग्ने रोगकिरा मार्न कृषकले विषादीहरुको प्रयोग गर्छन् । गुणात्मक उत्पादनका लागि रासायनिक मल युरियाको अत्यधिक प्रयोग गर्छन् । रासायनिक पदार्थहरु हाम्रो शरिरमा खानाको माध्यममा सोझै प्रवेश गर्छन् ।

तरकारी खेतीलाई जिल्लामा आर्थिक विकासको मेरुदण्ड मानिन्छ । कृषिको गत आवको तथ्याङ्क अनुसार यहाँको ९ सय हेक्टर क्षेत्रफलमा व्यवसायिक तरकारी उव्जनी हुन्छ । १७ हजार मेट्रिकटन बराबरको बर्षेनी उत्पादन हुन्छ । केही बर्ष अगाडीसम्म जिल्लामा छिमेकी धनकुटा जिल्लाले तरकारी धानेको थियो । अहिले जिल्लाभित्र उत्पादन भएका तरकारीले बाहिरको आयातलाई प्रतिस्थापन गरेको कृषि कार्यालयले जनायो ।

फरक तरकारीबालीमा फरक रोगकिरा लाग्ने गर्छ । रोगकिराले तरकारीमा चौपट बनाउने भएपछि कृषकले विभिन्न खाले बजारमा पाइने किटनाशक विषादी प्रयोग गर्छन् । उनीहरुले स्वास्थ्यका लागि हानिकारक हुने थाहा हुदाँहुदै प्रयोग गर्न बाध्य हुने गरेको भोजपुर पोखरेका कृषक विष्णुप्रसाद अधिकारीले बताए । ‘कमाउने बाटो नै तरकारीबाली हुन्छ, त्यहिपनि रोगकिराले सखाप पारेपछि विषादी प्रयोग नगरी हुन्न,’ उनले बताए ।

गोलभेडामा हाम्रो खानामा अति नै बढि प्रयोग हुने बाली हो । जिल्लामा ६० हेक्टर क्षेत्रफलमा बर्षेनी १२ सय मेट्रिकटनबढि उत्पादन हुन्छ । जससमा डढुवा, लाही, पात खन्ने किराले बढि सताउछन् । कृषकले बजारमा पाइने मालाथिन, रोगार, बोडोमिक्स्चर, पाउडरजस्ता विषादी प्रयोग गर्छन् । गाँउघरमा पाइने बनस्पतिहरु चिराइतो, बनमारा, सयपत्री, सुर्ति, बकाइनो, तितेपाती, टिमुर, असुरो, गन्धेझार लगायतको मिश्रणबाट तयार पारेको बानस्पातिक विषादीले पनि रोगकिरा नष्ट गर्न सकिन्छ । तर बनाउन झन्झट हुने हुदा आफुहरुले हजार, पन्ध्रसय खर्च गरेर रासायनिक विषादी प्रयोग गर्ने गरेको टक्सारका गोलभेडा कृषक सीताराम आचार्यले बताए । ‘बनस्पति जुटाउन, बनाउन झन्झट हुन्छ, बरु बजारमा गयो, दुईचारकिला गोलभेडाको दाममा विषादी ल्यायो, छर्कियो, ढुक्क हुन्छ,’ उनले भने ।

हरियो सागपात स्वाथ्यका लागि आवश्यकीय खाद्यपदार्थ हो । रायोको साग जोसुकैले मन पराउँछन् । काउली, बन्दा, ब्रोकाउली, मुला पनि तरकारीका रुपमा छाकैपिच्छे प्रयोग गरिन्छ । सागपात अर्थात तोरीजन्य अन्तगर्तका तरकारीबालीमा लाही, बेर्ना कुहिने, थोप्ले (पात दुलो पर्ने), ढुसी, डाँठ कुहिने रोगले बढि सताउँछन् । 

माकुरा, हिसुटेला किरा, हरियो किरा, गड्यौला, खुम्ले किरा, कमिला जस्ता किटले पनि तरकारीलाई नष्ट पार्छन् । मौसम परिवर्तनले सागपातजन्य बालीमा लाहीले बढी चलखेल गर्छ । यिनलाई नष्ट गर्न ब्लाइटस ५०, मेनको जेभ, टेट्रासाइक्लिन प्रयोग हुन्छ । जिल्लामा काउली, बन्दा, रायो, मुला, ब्रोकाउली बर्षेनी १५ हजार मेट्रिकटन उत्पादन हुन्छ । व्यवसायिक रुपमा साढेपाँच सय हेक्टर क्षेत्रफलमा खेती हुन्छ ।

आलु २ सय हेक्टरबढि क्षेत्रफलमा उत्पादन हुन्छ । यसमा रातो कमिला, फलको आकार अनसाइज हुने, पात कुहिने, गड्यौला, ढुसी लाग्छन् । रातो कमीलाले भेटेपछि खानै नहुने गरि सखाप पार्छन् । यीनमा पनि विभिन्न रासायनिक मिक्सचर प्रयोग हुन्छ् । आलुमा थप बढि रासायनिक मल प्रयोग हुन्छ । रोप्नेबेलामा रासायनिक मल, गोडमेल गर्दासमेत पुनः थप्ने गर्छन् ।

रोगकिरालाई नष्ट पार्ने उत्तम उपाय बानस्पातिक विषादी हो । गहुत, खानेतेल, विभिन्न बनस्पति झारको मिश्रणले रोगकिरा नष्ट पार्दा स्वास्थ्यलाई हानी नपार्ने कृषिका बाली विकास अधिकृत कपिलदेव दासले बताए । बत्ति, पानीमा पासो थापेर पनि रोगकिरा निराकरण गर्न सकिन्छ । जसलाई भौतिक माध्यम भनिन्छ । तर कृषकले थोरै मेहनतमा जतिसक्दो बढि फाइदा लिन चाहाने हुदा रासानिक विषादी उच्च रहेको उनले बताए ।

कृषकहरु माटोलाई दिनभन्दा फाइदा अधिक लिन चाहन्छन् । जसले गर्दा युरिया र डिएपी मल बढि प्रयोग हुन्छ । कृषिले गरेको अध्ययन अनुसार जिल्लामा तरकारीबाली उत्पादन गर्दा ७० प्रतिशत बढि युरियामल प्रयोग हुन्छ । बाँकी डिएपी मल प्रयोग हुन्छ । गोबरमलमा कसैले भर पर्दैनन् । माटोको अवस्था असन्तुलन भएपछि रासायनिक मल प्रयोग गर्ने गरेको अधिकृत दासले बताए । रासायनिक मल पनि एकप्रकारको विषादी हो । जसले जैविक जिवनचक्रमा असन्तुलन भै माटो आफैले उत्पादन दिन सक्दैन । माटोलाई खुकुलो, मलिलो पार्ने किरा मरेपछि चक्र अन्त्य हुन्छ । जसले गर्दा त्यहाँ रासायनिक मल प्रयोग गर्नुको विकल्प हुदैन ।

विषादीलाई बोलीचालीको भाषामा औषधि भन्ने चलन छ । तर औषधी नभइकन जहर भएकाले जहरकै रुपमा प्रयोग गर्नुपर्ने हुन्छ । समय, मात्रा मिलाएर प्रयोग गर्नुपर्ने हुन्छ । कृषकले भने भिटामिन, औषधीका रुपमा मानेर बढि प्रयोग गर्छन् । कृषिविशेषज्ञहरुका अनुसार रासानिक विषादी दिउसोको १२ बजे अगाडी र २ बजे पछाडी छर्कनुपर्छ । 

मास्क, चस्मा, एप्रोन लगाएर संवेदनशिल रुपमा छर्कनुपर्ने हुन्छ । छर्किसकेपछि प्रयोग गरिएका सरसामाग्री र शरिर राम्ररी सावुनपानीले नुहाउनुपर्छ । विषादी छर्केको १५ सम्म खान मिल्दैन । तर कृषकले यीनको वास्तै नगरी आजको भोली बजार पु¥याइहाल्छन् । छर्कदा प्रयोग गर्ने सामान प्रयोग नगर्दा श्वासप्रश्वासबाट सिधै शरिरभित्रका संवेदनशिल अंगमा विषालुपदार्थ छिर्छन् ।

कृषकले अरुको स्वास्थ्यमाथि बढि नै हेलचेक्राई गरेको पाइन्छ । आफुलाई खाने तरकारीमा विषादी प्रयोग गर्दैनन् । बजारमा विक्रीका लागि बढि भन्दा बढि उत्पादन गरेर नाफा कमाउने उद्देश्यले गर्दा विषादीयुक्त तरकारीको प्रयोग बढेको भोजपुर क्याम्पसका सह प्रध्यापक प्रकाश राईले बताए ।

किनेर खानेले विषादी प्रयोग गरिएका तरकारी निरन्तर प्रयोग गर्नु बाध्यता छ । यसले मानिसको स्वास्थ्यमा रोग प्रतिरोधात्मक क्षमता घटाइरहेको हुन्छ । दिनदिनै बढिरहेको डरलाग्दा, भयानक रोग यिनै खानेकुराले लाग्ने गरेको जिल्ला अस्पतालका डाक्टर रमेश तामा¨ले बताए । यस्ता खाद्यपदार्थले मुटु, कलेजो, फोक्सोमा बढि संक्रमण गराउँछन् । क्यान्सर, ट्युमर, अन्धोपन, पक्षघात, छारेरोग, मानसिक रोग, एलर्जी हुन्छ । गर्भवती महिलाले यस्ता खानेकुरा खादा गर्भको बच्चा विकलागं जन्मन्छन् ।

प्रजनन अंगहरुमा पार्ने असरले महिलामा बाझोपन तथा पुरुषमा शुक्राणुको कमी हुन्छ । विषादी प्रयोग गर्दा कृषकले नाक, मुख, आखा, छालालाई सुरक्षित नगरी प्रयोग गरेको खण्डमा उसलाई तत्काल स्वास्थ्यमा समस्या देखापर्छ । कतिपय सागपात काँचै खान सकिने हुन्छन् । तिनलाई राम्ररी धोपखाली नगरीकन खादा र राम्ररी नपकाई खादा दिर्घरोगहरु लाग्छन् । ‘पहिलो त विषादी प्रयोग गर्नेलाई प्रत्यक्ष असर पारिरहेको हुन्छ, भने हामी जसले सेवन गर्छौ अप्रत्यक्ष रुपमा दिर्घ असर दिइरहेको हुन्छ,’ तामा¨ले बताए ।

खुल्लाजमिनमा प्रयोग गरिने विषादीले हावा र पानीको माध्यमबाट वातावरणलाई असर पार्छ । सजिवलाई चाहिने अक्सिजन ग्यासको कमी भै कार्वनडाईअक्साइडजस्ता विकृत ग्यासको वृद्धि हुन्छ । ओजोन तह क्षय भै वातावारणिय असन्तुलन बढिरहेको छ । ‘पृथ्वीमा आवर्तन भएको सुर्यकिरणको किरण परावर्तन हुन सकिरहेको छैन, जलवायुपरिवर्तन भै अतिवृष्टि, खण्डवृष्टि जस्ता प्राकृतिक प्रकोपले मानवलाई असर पारिरहेको छ,’ एकजना वातावरणविद् सन्देश पोखरेलले भने । 

पानीका मुहान दुषित भैरहेका छन् । मुहान सुकेर घनाबस्ती भएका गावै बसाईसर्नुपर्ने अवस्था सृजना भैरहेका छन् । ‘रासायनिक मल युरियाले खोलानालाका पानीमा युट्रोफिकेशन बढेर वातावरणिय जैविक शृंखलामा प्रभाव पारेको छ,’ उनले भने ।

विषादी प्रयोगलाई मुक्त गर्न बर्षैपिच्छे सप्ताहव्यापी कार्यक्रम हुन्छन् । जिल्ला, इलाका, सेवा र सम्पर्क कार्यालय मार्फत जनचेतना जगाएपनि प्रभावकारी बन्न सकेका छैनन् । लाखौ खर्च गरेर सप्ताह मनाएपनि रासायनिक विषादीलाई प्रयोग नगर्ने मानसिकता हटेको छैन । बनस्पातिक, भौतिक विधि अपनाउन कृषकले हेल्चेक्राई गर्दा मानविय जिवनलाई प्रत्यक्ष नकरात्मक असर पु¥याइरहेको छ ।

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook