आज २०७३ फागुुण १३ गते

गोलभेडा खेतीबाट लाखौको आम्दानी, गोलभेडा खेतीबाट जीवनस्तर नै फेरियो

अर्थ २०७३ कार्तिक २३ १९९७ पटक हेरिएको

सिताराम आचार्यको बारीमा लटरम्मै फलेको टमाटर ।

भोजपुर । सदरमुकामको मुख्य बजारदेखि ३ कोष दक्षिणमा पर्ने भोजपुर नगरपालिका– ११ को पारपानीमा एक समय खानेपानीको चरम अभाव थियो । बाटो हिड्ने बटुवाले एक गिलास पिउनेपानी १० रुपैयामा किनेर खानुपथ्र्यो । कहिलेकाही किन्न समेत पाइन्नथ्यो । घण्टौ टाढा कुवा पानी ल्याउनुपर्ने भएकाले पिउनेपानी कसैले माग्यो भनेर छोरीको पेवा भनेर दिन मान्दैन थियो । बस्ती उजाड र उराठ थियो । २०६३ चैत्र १३ मा गाउँमा भिषण आगलागि भयो । २७ घरको बस्ती क्षणभरमै जलेर खरानी भयो । मानविय क्षती नभएपनि करोडौको धनमाल, सुनचाँदी र बस्तुभाउ आगोसंगै जलेर सकिए । सिंगो गाउँ नै नागिंयो ।

विनाशले विकास ल्याउँछ भनेझै आगोले खाएको बस्ती एक दशकपछि एकाएक विकसित भएको छ । उजाड बस्ती सदाबहार हरियाली परिणत भएको छ । सुख्खा, खडेरीले एक सिजन मासको दाल फलाउन हम्मे पर्ने ठाँउ यत्तिबेला गोलभेडा खेतीका लागि पकेट क्षेत्र बनेको छ । बेमौसमी गोलभेडा खेती पारपानीबासीका लागि आम्दानीको मुख्यस्रोत बनेको छ । परम्परागत मासको दाल र मकै खेतीलाई परिस्कृत गरेर गोलभेडा खेती लगाउन थालेपछि जिवनस्तर उक्सिएको छ । गोलभेडा खेतीले यस गाउँमा मानिसहरुले बार्षिक रुपमा मनग्य आम्दानी गर्न थालेका छन । गोलभेडा खेतीले पारपानीबासीको आयस्रोतमा बृद्धि हुनुको साथ दिनदैनिकी नै फेरिएको छ ।

४६ बर्षिय कृषक सिताराम आचार्यले टमाटर खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन । उनको बारीभरी लटरम्म गोलभेडा फलेका छन् । बारी नै राताम्मे हुने गरि पाकेका गोलभेडा लोभलाग्दा छन् । विहान उठेदेखी बेलुका साँझसम्म गोलभेडाबारीमा व्यस्त हुने उनको दैनिकी बनेको छ । प्रत्येक शनिबार डोकाभरी गोलभेडा टिपेर सदरमुकामको हटियामा एकाविहानै गोलभेडा विक्रि गर्न पुग्छन । गोलभेडा बेचिसकेपछि घर पुग्नवित्तिकै गोलभेडाबारीमै व्यस्त हुने गरेका छन । विगत ६ बर्षदेखीको उनको दैनिकीमा ४१ बर्षिय उनका श्रीमती टंकमाया आचार्य र छोराछोरीले साथ दिनेका गरेका छन । दश बर्ष अघिको आगलागीले घर, सम्पत्ती गुमाएर गोठमा ओत लाग्दै आएका आचार्य परिवार पछिल्लो समय गोलभेडा खेतीबाट प्रशस्त आम्दानी लिदै आएका छन् ।

एक सिजनको मासको दालबाट बर्षमा २० हजार आम्दानी गर्न हम्मे पर्ने आचार्यलाई गोलभेडा खेतीबाट बर्षमा कम्तिमा ८ लाख आम्दानी हात लाग्ने गरेको छ । गोलभेडा खेतीबाट आगोले खाएको घर भाई रमेश आचार्यसंग जस्ताको तस्तै ठड्याएका छन् । तराईमा ६ धुर घडेरी जोडेका छन् । ३ छोरा र ३ छोरीका बुवा सितारामले गोलभेडाकै आम्दानीबाट पढाई खर्च, घरखर्च धान्न थालेका छन् । छोरीहरुको तामझामका साथ घरजम गरिदिएका छन् । ‘पहिले खानलाउन पुग्दैनथ्यो, टमाटर लाउन थालेपछि छेलोखेलो छ,’ उनले भने । गोलभेडाको लगानी, घरखर्च, छोराहरुको पढाईखर्च कटाएर बर्षमा चोखो १ लाख बचत गर्दै आएको बताए ।

३ रोपनी जग्गाबाट खेती सुरु गरेका उनले यसबर्ष देखी १० रोपनीमा खेती सुरु गरेका छन् । मास र मकैबाली मासेर भएको सबै जग्गामा गोलभेडा विरुवा लगाएका छन् । १० ग्रामको एक प्याकेट बीउबाट आफैले उमारेको विरुवा लगाउने गरेका छन् । बर्षमा ३ बाली खेती लगाउने उनले एक बालीमा २५ सय विरुवा लगाउदै आएका छन् । विरुवा रोपेको १ सय १० दिन भित्रमा फल टिपिसक्नुपर्ने हुन्छ ।

सितारामका छिमेकी ५० बर्षिय प्रेमकुमारी पराजुलीले ७ रोपनी जग्गामा लगाएको गोलभेडाबाट बर्षमा ४ लाख रुपैया आम्दानी गर्दै आएकी छिन । ५ बर्षदेखी गोलभेडा खेती थालेकी उनले छोराछोरीलाई तराईको महंगो विद्यालयमा पढाइरहेकी छिन् । एक जना छोरीलाई पढ्न अमेरिकामा पु¥याएकी छिन् । उनका ५५ बर्षिय श्रीमान रुद्रप्रसाद पराजुली दमका विरामी छन्, नियमित औषधि सेवन गर्छन् । मासिक २० हजार रुपैया औषधी खर्च मै जान्छ । उपचार, औषधीखर्च, घरखर्च गोलभेडा खेतीले नै धानेको छ । ‘सबै खर्च कटाएर बर्षमा ३० हजार जति बार्षिक बचत गर्दै आएको छु,’ उनले बताइन् । गाउँका बचत समुहमा छोरीहरुको पनि बचत हुन्छ ।

आचार्य र पराजुली पात्र प्रतिनिधि मात्र हुन् । ४७ घरपरिवारको पारपानी बस्तिमा गोलभेडाको खेती नलगाएका कुनै घर छैनन् । सदरमुकाममा गोलभेडाको मागलाई उनीहरुले नै धान्दै आएका छन् । सुख्खा, खडेरी मात्र हुने यहाँ गोलभेडाखेती हुन थालेपछि खानेपानी किनेर खाने बटुवासमेत छक्क पर्छन् । ‘यी खुरखुरे डाँडाहरुमा गोलभेडा फल्न थालेछन्,’ एक बटुवा प्रविण राईले अचम्म हुदै भने । ३ बर्षपछि यहि बाटो भएर हिड्दै आएका उनी चौरमा समेत गोलभेडा खेती लगाएको देखेर अचम्ममा परेका हुन् ।

यहाँका किसानले अल्राउन्डर र मनिषा जातका हाइव्रिड गोलभेडाको खेती गर्दै आएका छन् । धेरै मात्रामा अल्राउन्डरको खेती हुने गरेको छ । अल्राउन्डर ठुलाठुलो दाना, केही बाक्लो बोक्रा भएको हुन्छ । घामपानी सहन सक्ने र पाकेको दाना २ हप्ता राख्न सक्ने भएकोले किसानहरुले यहि जातको गोलभेडाको बढि मात्रामा खेती गर्ने गरेको बताउँछन् । यसको एउटा बोटबाट ४ पटक सम्म टिप्न मिल्ने गरी बढि उत्पादन दिने भएकाले ९५ प्रतिशत कृषकले यो जातको उत्पादनमा आकर्षण भएको कृषक रमेश राईले बताए । मनिषा जातको गोलभेडा सानासानो आकार, पातलो बोक्रा हुने भएकाले कमसल खालको हुन्छ । घामपानी बेसी हुदाँ कुहेर नष्ट भैहाल्ने भएकोले यसप्रति कृषकहरुको चासो भएको छैन् ।

राम्रो अनाज नफल्ने, आयस्रोत पनि नहुने भएकाले बर्षदिन खानलाई धौधौ पथ्र्यो, पाहारपानीबासीलाई । ‘अनिकाल नलागेको बर्ष हुदैन थियो, जव गोलभेडा लगाउन थालियो सहकाल लागेको छ, खानलाउन, खर्चको कुनै समस्या हुदैन,’ ४० बर्षिय मायादेवी राईले भनिन्, ‘गोलभेडाले त हाम्रो जीवन नै परिर्वतन गरिदियो ।’

घरको आर्थिक स्थिती कमजोर भएकाले अधिकांश पुरुषहरु खाडी मुलुकमा कमाई गर्न पुग्थे । अहिले विदेशमा सिकेका सीप गाँउमै आएर सदुपयोग गर्न थालेका छन् । विगत ५ बर्षदेखी यहाँका पुरुषहरु अपवादबाहेक कोहीपनि वैदेशिक रोजगारमा गएका छैनन् । ‘तातो हावा खान विदेश जानुभन्दा घरैमा बसेर गोलभेडा खेती गर्नु बेस, घरपरिवार, आफन्तसंग साथै भइन्छ,’ अर्का कृषक पदमवहादुर कार्कीले बताए । गोलभेडा खेतीले उनीहरुलाई आर्थिक समृद्धि तर्फ धकेलेको छ । कोही पनि बेरोजगार र फुर्सदिला छैनन् । राम्रो कमाइ हुन थालेपछि युवापुस्ता समेत गोलभेडा खेतीमा आकर्षित बनेका छन् । कम लगानीमा लाखौको आम्दानी गर्न सकिने र सहज काम भएकाले पनि गोलभेडा खेतीमा आकर्षण बढेको स्थानीयले बताए । 

सदरमुकाम नजिकै भएपनि चेतनास्तरमा यो गाउँ निकै पिछडिएको थियो । ०६३ सालको आगलागिले अवस्था झन दयनिय थियो । अहिले गाँउमा लेखपढ् गर्ने मात्र छन् । स्वास्थ्य, सरसफाईका कुरामा निकै पछाडी थियो । एक बर्ष अघि जिल्ला सरसफाई समितीले गाँउलाई सरसफाईयुक्त तथा खुल्ला दिसामुक्तको स्टीकर दिइसकेको छ । ‘यहाँ गोलभेडा खेतीले आयस्तर उकासेपछि, पढ्नुपर्छ भन्ने चेतनाको विकास भयो, मेरुदण्ड भनेको आर्थिक उन्नती रहेछ,’ स्थानीय अगुवा अनोज कार्कीले बताए ।

गोलभेडा खेतीका लागि पानी अतिआवश्यक हुन्छ । खानेपानी नै नपाउने गाउँ गोलभेडा खेतीले भरिनु चानचुने कुरा होइन । बर्षाको समयमा झरी पर्ने हुदाँ खासै समस्या हुदैन । हिउँदमा खानेपानीको हाहाकार हुदाँ पनि उनीहरुको गोलभेडा बारी हराभरा भैरहन्छ । उनीहरुले बर्षातको पानी प्लाष्टिक पोखरीमा जम्मा गरेर हिउँदका लागि सिचाई गर्छन् । ‘पानी सञ्चित गरिएन भने हिउँदमा खेती लाउन सकिदैन्, साह्रो गारो छ,’ टंकमाया आचार्यले बताइन् । पानी जमाउनका लागि गहिरो प्लाष्टिक पोखरी खनेर बर्षातको भल जम्मा गर्ने गर्छन् । खानेपानी कार्यालयमा खानेपानी योजना माग नगरेका पनि हैनन् । तर मुहानको समस्याले गर्दा खानेपानीले योजना सफल हुन सकेका छैनन् । ‘पानीको व्यवस्था भएदेखी सहजै उत्पादन गर्न सकिने थियो,’ उनले भनिन् ।

घरैपिच्छे गोलभेडा खेती भएपनि भनेअनुसारको बजारको अभाव छ । सदरमुकामको एउटै मात्र बजारमा उत्पादन भएका सबै गोलभेडा राम्ररी खपत हुन सक्दैनन ।

कृषिले समेट्न सकेन

आफ्नै विवेकले गोलभेडा खेती गरिरहेका कषकलाई कृषिले आवश्यक मात्रामा सहयोग तथा अनुदान दिन सकेको छैन । टनेल र विषादी ट्याङ्की ५० प्रतिशत अनुदानमा वितरण गरेपनि पर्याप्त भएको छैन । गतबर्ष ५० थान टनेल वितरण गरेको कृषि कार्यालयका बाली विकास अधिकृत कृष्णप्रसाद रेग्मीले बताए । ‘कृषकहरुलाई एकैचोटी समेट्न सकिदैन, रोगकिरा, विषादी र सिचाई थोपाका प्राज्ञिक ज्ञान दिरहेका छौ, टनेलहरु वितरण गर्दै आएका छौ,’ उनले बताए । एउटा टनेलमा १ सय २० बोट मात्र उत्पादन गर्न सकिन्छ । व्यवसायिक रुपमा लाग्नेलाई एउटा टनेलले अपुग हुने गर्छ । फलस्वरुप खुल्ला आकाशमुनि लगाएको खेती अत्यधिक घाम र पानी थेग्न नसक्दा घाटामा जानुपर्ने र लगानी अनुसारको प्रतिफल लिन नसकिने कृषकहरुको भनाई छ । ४ हेक्टर क्षेत्रफलमा बार्षिक १ सय मेट्रिकटन गोलभेडा उत्पादन हुने भएपनि प्रयोग र प्रशोधनका लागी कृषकहरुलाई ज्ञान तथा सीपको अभाव छ ।

नगरपालिका–११, पारपानी टोलका ४७ घरपरिवारले गोलभेडा खेतीबाट बार्षिक रुपमा २ करोडभन्दा बढि आम्दानी गर्ने गरेका छन् । व्यावसायिक गोलभेडा खेतीबाट राम्रो आम्दानी हुन भएपछि आर्थिक समृद्धिसंगै शैक्षिक गुणस्तरमा समेत सुधार भएको छ । पुस्तौदेखि परम्परागत खेतीबाली गर्दै आएका पारपानीका किसानहरु गोलभेडा खेती गरेर जीवनस्तर सुधारेपछि सबैका लागि उदाहरणीय बनेका छन । 

यहाँ  भिडियाे हेर्नुहाेस्

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook