आज २०७३ माघ १२ गते

मलेसियामा जारी खेलमा नेपाल आज ब्रुनाईसँग खेल्ने

खेलकुद २०७३ कार्तिक २३ ९१० पटक हेरिएको

उपाधिको लागि नेपाल, आज ब्रुनाईसँग खेल्दै

काठमाडौं । एएफसी सोलिडारिटी कप फुटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले मंगलबार ब्रुनाईसँग खेलने भएको छ । समूह चरणको पहिलो खेलमा टिमोर लिस्टेविरुद्ध बराबरी खेलेको नेपाल सेमिफाइनलमा पुग्ने लक्ष्यका साथ आज खेल्नका लागि मैदान ओर्लिदैछ ।

नेपाल र ब्रुनाईबीचको खेल मलेसियाको कुचिङस्थित सारावाक रंगशालामा नेपाली समयअनुसार सवा ५ बजे सुरु हुनेछ । सोलिडारिटी कपको उपाधि जित्ने लक्ष्यका साथ मलेसिया पुगेको नेपाललाई ब्रुनाईसँगको समूहको दोस्रो खेलमा त्यति धेरै दबाब भने छैन । तर, सेमिफाइनल लागि नेपाल ब्रुनाईसँग सतर्क रहनेछ । नेपाली मुख्य प्रशिक्षक गोटुकु कोजीले खेल हुने सारावाक रंगशालामा ब्रुनाई परिचित रहेकोले उसका लागि घरेलु मैदान जस्तै रहेकोले नेपाल सतर्क रहेको बताए ।

ब्रुनाईसँगको खेल अघिको प्रि–म्याच कन्फरेन्समा बोल्दै कोजीले भने, “हामी ब्रुनाईसँग सतर्क हुन जरुरी छ किनकि उनीहरु पहिलो जितले उच्च मनोबलले मैदान उत्रने छन्, तर, हामीले दुई दिन अभ्यासको मौका पाएका छौं । त्यसैले हामीले हाम्रो खेलमा सुधार गर्दै बलियो प्रदर्शन गर्नेछौं ।”

मंगलबार हुने खेलमा नेपाल ब्रुनाईसँग बराबरी वा तीन गोलको अन्तरमा पराजित भएपनि सेमिफाइनलमा पुग्नेछ । किनकि पहिलो खेलमा ब्रुनाईले टिमोर लिस्टेलाई ४–० ले पराजित गरेको फाइदा नेपाललाई हुनेछ । तर, जित निकाल्दै समूह बिजेताको रुपमा सेमिफाइनलमा पुग्न चाहन्छ । यदि ब्रुनाईसँग कम गोल अन्तरमा पराजित भए नेपाल उपविजेता बन्नेछ । नेपालले पहिलो खेलमा टिमोर लिस्टेसँग गोलरहित बराबरी खेलेको थियो ।

यता नेपाल ब्रुनाईसँग सन् २००६ मा बेहोरेको हारको बदला लिने तयारीमा हुनेछ । नेपाल र ब्रुनाई यसअघि एएफसी च्यालेन्ज कप २००६ अन्तर्गत समूह चरणमा एक खेल खेलेका थिए । उक्त खेलमा ब्रुनाईले नेपाललाई २–१ ले पराजित गरेको थियो । त्यसैले नेपाल ब्रुनाईलाई पहिलोपटक पराजित गर्ने योजनामा हुनेछ ।

लिग कम नकआउटका आधारमा जारी प्रतियोगितामा सात टोलीको सहभागिता छ । दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा समूहको विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउनेछन् । एएफसी च्यालेन्ज कप आयोजना हुन छोडेपछि एएफसीले त्यसको विकल्पको रुपमा एएफसि सोलिडारिटी कप आयोजना गरेको हो ।

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook