आज २०७३ फागुुण १० गते

सम्झनामा बाल्यकाल, मासुको पैँचो

कला/साहित्य २०७३ असोज १७ ६७३ पटक हेरिएको

Image title

- दीपक राई

"ओई ! मलाई नि दुईमुठा काट्दे न ।"

 "जाँठा ! उ चाँई रुखमा चढेर बस्छ, काट्दिन्छु ठिक्कले ।"

"काट्दे न क्या । म तलाई २ चोक्टा मासु दिन्छु नी ।"

"साँच्चै ?"

"साच्चै दिन्छु हौ नपत्याको ?"

"यो पटक गरेर त १६ चोक्टा भईसको नी ।"

"ल ल म दिम्ला ।"

म जेठा र भाई माईला विच यसरी नै सम्झौता हुन्थ्यो ।

बर्खामासमा जहिले बाख्रालाई घाँस काट्नु पर्ने । घर भन्दा पछाडीको बारी भएकोले सबैले पल्लो बारी भन्थे त्यसलाई । हो त्यही बारीबाट बाख्राको लागि बिहान बेलुका २/२ मुठा घाँस काटेर ल्याउनु पर्ने बुबाको गतिलो अर्डर हुन्थ्यो हामी अलि हुर्केका दाजुभाईलाई ।

भाई काम गर्नमा अल्छी नमान्ने उ त हँसिया बोकेर गएपछि मिलिक्कै गतिलो गतिलो २ मुठा घाँस काटिहाल्थ्यो, मलाई भने जहिले आपत । उसै पनि पानी परेपछि आगनमा समेत निस्कन गारो पर्ने मलाई झन् पानीले लपक्कै भिजेको घाँस काट्नु पर्दा त मरेतुल्य नै बन्थेँ । आफु घरको सबैभन्दा जेठो सन्तान भएकोले छोराछोरीमा एकखाले मेरो अर्डर जस्तै चल्थ्यो । तर म भन्दा साखै सानो, कुस्तीमा जहिले मलाई जित्ने माईला भाईलाई फकाउन कम्ति हम्मे पर्थेन ।

बुबाको अर्डर पछि हामी आ आफ्नो हँसिया बोकेर पल्लो बारी जान्थ्यौँ । बाँसघारीमा पसेर बाँसको पलाउँदै गरेको मलीबाँसको तामा काट्दै फ्याँकिदिन्थ्यौँ । घरैमा आईपुग्थे पल्लाघरे दाई कराउँदै । तर हामी दुई दाजुभाईलाई भने आफ्नो बारीमा जाने बाटोमा अर्काको बाँसघारी भाको मनै पर्थेन । उसले कराउँदै २/४ पटक त कान पनि मले होलान् तर हामीले त्यति वास्ता गरेनौँ ।

बाँसको मुना काटेपछि बारीमा पसेर माईला घाँस काट्ने तरखर गर्थ्यो म चाँही कान्लामा रहेको बरको रुखमा चढ्थेँ । तेर्सो परेका बरका हाँगामा बसेर पारी सोरेङ र बोक्ताममा परेको पानीको धर्सा हेर्नु कम्ता मजा हुन्थेन । म बरको हाँगामा बसेर खुट्टा हल्लाउँदै सुसेल्थेँ ताल न बेतालको गीतमा । माईला स्वामस्वाम्ती कान्लामा घाँस काटिरहन्थ्यो । म सौँदले डाँडाका लस्करै घर र बारीका ठूला ठूला गराहरु नियालेर बस्दा बस्दै भाईले २ मुठा घाँस बाँधिसकेको हुन्थ्यो सालिमाको जुइनो बनाएर ।

जब माईलाले कान्लाबाट गतिलो गतिलो २ मुठा घाँस फुत्त बारीमा फ्याँक्थ्यो अनि म सुरु गर्थेँ मासुको पैँचो लगाउन ।

"ओई! आज कति बेला भारी पुराउँछौँ ? छिटो काट न । भरै बुबाले कराउनुहुन्छ अनि ।" उ गतिलो गतिलो घाँसको मुठा बारीको डीलमा अडाएर बरको रुख मुनीको ढुंगामा बसेर म तिर हेर्थ्यो र भन्थ्यो ।

बरको हाँगामै बसेर पिच्च थुक्दै भन्थेँ "काट्दे न मेरो लागि पनि ।"

"इस् ठीक्कले ! तिमी मुजीलाई जैले पनि मैले काटिदिनु पर्ने ।" हँसियाको टुप्पोले ढुंगा खोप्दै उ भन्थ्यो ।

"तँलाई मासु दिन्छु के !" फेरी मेरो अंकुशे थाप्ने कला सुरु हुन्थ्यो ।

"कति दिन्छौ त?"

"दुई चोक्टा !" म पुरानै बोली बोल्थेँ ।

मैले मासु दिने कबोलेपछि उ खुरुक्क बारीको डीलमा पस्थ्यो र हँसिया चलाउन थाल्थ्यो । म उसले घाँस काटेको हेरेर आँखालाई पारीको अरुण नदीको तिर हुँदै याङपाङ चम्पेबाट घुमाएर सुन्तलेको डाँडा पुर्याउँदा नै उसले मेरो लागि अर्को २ मुठा घाँस कसिसकेको हुन्थ्यो । उसले घाँस काटिदिएपछि उसलाई पनि बरको रुखमा चढाउथेँ । हाँगामा बसेर चोप सरीको बरको पात टिपेर मरी मरी बजाउने कोशिस गर्थ्यौँ, तर बजाउन कहिले सकिएन ।

टाउकोमा २/२ मुठा घाँस बोकेर फर्कँदा फेरी उ सम्झाउँथ्यो दुई चोक्टा मासु । म पनि झर्किँदै दिन्छु भन्थेँ । पालीमा टाउकोको घाँस फ्यात्त फ्याँकेपछि हाम्रो त्यो दिनको घाँस काट्ने कामबाट मुक्ति । मुठा जत्रो भएनी हामी दुवैले जोडले पछार्नै पर्थ्यो किन भने घरका सबैलाई घाँसको मुठा गतिलै छ भन्ने सुनाउनु थियो ।

घरमा म अल्छीको राजा कहलिसकेको थिँए । अरु भन्दा पनि पानी परेको बेला त कुनै काम गर्न नपाए जस्तो लाग्ने । हुन त पानी नपर्दा पनि कुन काम गर्न पो तम्सेँ हुँला र ? आमाले जे काम अराएपनि चुपचाप सुनिरहन्थेँ सायद मेरो कानमा कपास कोचिएको थियो की ? अन्त आमाले पनि दाह्रा किट्नुहुन्थ्यो "यो, यो अल्छीको राजालाई त !"

भाईलाई मासुको पैँचो लगाएर बढी त घाँसै काट्न लगाएँ होला किन भने मलाई त्यही काम बढि अल्छी लाग्थ्यो । पैँचो लगाउँदा लगाउँदै मेरो भागमा पर्ने मासुनै सकिसकेको हुन्थ्यो तर पनि पैचो लगाउन छोड्दिनथेँ । मैले लगाएको पैचो मासु सम्झेर नै उ पनि जे काम अराएपनि खुरुक्क गर्थ्यो । मलाई कसरी मासु दिन्छु भनेर काम लगाउने जुक्ति आयो आजसम्म पनि थाहा छैन तर म अल्छीको राजा न परेँ । सायद काम भन्दा बढि दिमाग लगाएँ होला की?

मासुको सपना देखाएर मलाई काम लगाउन जति सहज थियोँ त्यो भन्दा ठूलो चूनौति थियो पैँचो तिर्नु । किन भने त्यो बेला महिनामा मुस्कीलले १ पटक मासु खान पाईन्थ्यो । त्यसमा पनि हामी ८ जनाको परिवारमा एक किलो मासु कति कति भागमा पर्थ्यो होला र । तर मैले त पैँचो तिर्नु नै बीस पचिस चोक्टासम्म पुगिसकेको हुन्थ्यो । महिनामा एकपल्ट गाउँमा काटेको एक किलो मासु आमाले बटुकोमा बराबरी भाग लगाएर दिनुहुन्थ्यो । पैँचो तिर्ने सम्झन्थेँ र छाम्थेँ बटुकोमा तर ३ चोटी गन्दा पनि मैले तिर्नुपर्ने संख्या पुग्थेन ।

जे भएपनि मैले त तिर्नै पर्थ्यो अनि आमा बुबाले नदेख्ने गरी अलि कुनामा हामी दाजुभाई बस्थ्यौँ । म भाईले देख्ने गरी पाँच छ चोक्टासम्म त लाईदिन्थेँ । तर कहिले पुरै तिर्न सक्दिनथेँ । पुरै तिर्न त आफुलाई पनि त हुनु परो नी । जम्मा जम्मी आठ दश चोक्टा हुन्थ्यो होला बटुकोमा महिना दिनमा भागमा आको मासु अरुलाई दिनु पर्दा मन कटक्क हुन्थ्यो । नदिई पनि शुख थिएन नत्र अर्को पालीलाई घाँस कल्ले काटिदिने ? बीस पच्चीस चोक्टा भन्दा बढि हिसाव पुगिसकेको भाई मैले देको पाँच छ चोक्टामा कसरी सन्तुष्ट बनोस् । रिसले आँखा रातो पार्दै जुठो हात मेरो अनुहारमै लोपारेर भन्थ्यो "पख न अर्को ताल, काट्दिन्छु मुजीलाई घाँस !"

भाईको रिस देखेर ङिच्च पर्थेँ । "नरिसा न आज यति नै छ अर्को ताल दिन्छु के । मलाई पनि यति त उब्रेको छ हेर् त ।" बुबाको डरले दबेको स्वरमा म बटुको उसैतिर ढल्काएर देखाउथेँ । उ नबोली भात खान्थ्यो पिरोले नाकबाट चुहिन लागेको सिगान लुत्त भित्र तान्दै । उ नबोलेपछि म पनि नाक भरीको सिगानलाई देब्रे हातको दुई औँलाले तानेर कट्टुमा पुछ्दै भात खान्थेँ ।

हुन पनि एकमहिनामा दिनैपिछे जसो घाँस काटिदिँदा उसलाई मैले तिर्नु पर्ने मासु सय चोक्टा नाघिसकेको हुन्थ्यो । तर उ सम्झेको हिसाव मात्र राख्थ्यो, कैले काँही त पाँच छ दिन घाँस काट्दिँदा पनि हिसाव बढ्थेन । म हिसाव नजोडिएको दिन औधी खुशी हुन्थेँ । हाम्रो हिसाव पाँच छ चोक्टामै मिल्थ्यो की मिल्थेन मलाई थाहा थिएन तर भाईले अर्को पालीको हिसावमा अगाडी तिर्न बाँकीलाई जोड्थेन । सायद उसले मायाले पो मलाई हिसाव नजोडिदएको हो की ?

भाईलाई लगाउँदै गएको मासुको पैचो बिस्तारै बैनी तिर पनि सर्न थालेको थियो । ठूली बैनी कमला हुर्केर हामी संगै घाँस काट्न जान थालेपछि उ पनि मैले लगाउने मासुको पैँचोबाट उम्कन सकिन । "यो दाजु त कस्तो खालको छ हौ ? खाली हामीलाई काम लगाउनु जानेको छ ।" बैनी कमला साना साना हातले हसिँया चलाउँदै बोल्थी । "तेती काट्देउ न के, तिमीलाई दुई चोक्टा मासु दिन्छु नी ।" फेरी मेरो मासुको जाल फिजाउथेँ बैनी सामु पनि । उ सानी भएर पनि होला मैले मासु दिन्छु भनेपछि रमाउँदै घाँस काटिदिन्थी ।

तर मासु ल्याएको बेला उनले पनि मबाट पुरै मासु पाईनन् । मेरो भागमा पर्ने मासु त्यति नै थियो तर दिनु पर्ने दुई जना थियो भाई र बैनी । उल्टै भाईले मुस्कीलले तीन देखि चार चोक्टामा चित्त बुझाउनु पर्थ्यो भने कैले काँही बैनी त एकचोक्टामा पनि पर्थी । खानेबेला कालो अरिंगाल जस्तै हुन्थे मैले शर्त बमोजिम मासु नदिँदा । तर एकमहिनामा बल्ल बल्ल खान पाएको मासुको स्वाद संगै मैले बाकी दिनु पर्ने हिसाव पनि भुल्थे उनीहरु । उनीहरु जानी जानी भुल्थे की साँच्चिकै भुल्थे मलाई थाहा थिएन तर उनीहरुले हिसाब भुले पनि मेरो मासुको पैचो लगाउने क्रम कहिले भुलिएन कैले फेरिएन लामो समयसम्म ।

एकपटक बुबाले थाहा पाउनुभयो मैले मासुको पैचो तिर्दा । साफ झपार्नु भयो, त्यो बेला कसो कट्टुमै नछोड्दिएको । तल जसो तसो चेपे पनि माथि आँसुका दुईचार थोपा मासुभातमा मिलिहाल्यो । खासमा म बुबा आमाले गाली गर्दा दुईदिनसम्म भाग्ने मान्छे । तर त्यो बेला भागिन 'यो बेला पनि भाग्यो भने त फेरी कैले पाउनु ।' सायद यस्तै सोचेर भागिन होला की ? बुबाको गाली संगै त्यो बेला तिर्नुपर्ने बाँकी मासु तिरिन मैले । म बुबाको गालीले रुनु न हाँस्नु भएको थिएँ, यता भाइ बैनी मेरो ठगाईले रन्केका थिए ।

हामी हुर्कँदै गएपनि मासुको पैचो लगाउन छोडेको थिईन मैले । हरेक वर्षातका जेठ उता देखि असोजसम्म मैले मासुको पैचो लगाएरै घाँसको भारी पुर्याएँ । सायदै कम मात्र मेरा हातले घाँस काटेहोला त्यो समयमा । पछि पछि त भाई बैनी पनि अटेर गर्न थालेका थिए । तर पनि म जसो तसो फुर्काएर काममा लगाईछाड्थेँ । तर मैले उनीहरुलाई कहिले पनि पुरै मासु तिर्न सकिन ।

मेरो बानी बिस्तारै आमाले पनि थाहा पाउनु भएको थियो । र एकदिन सबैका अगाडि भन्दिनुभयो । "यो यो कमको ठगाहा छ । के के दिन्छु भनेर अरुलाई काम लगाउनु जानेको छ । भाई बैनीलाई मासु दिन्छु भन्दै घाँस कटाउँछ । अल्छीले जति जैसीले पनि जान्दैन भनेको यै हो ।"

साँच्चै त्यस्तै लाग्छ आज पनि मलाई । यति लेख्न पनि एकसाता लाग्यो । फरक यत्ति हो यो पटक कसैलाई मासुको पैँचो भने लगाउन परेन ।

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook