आज २०७३ फागुुण १० गते

म त शिक्षक हुँ ?

कला/साहित्य २०७३ भदौ २९ ९४३ पटक हेरिएको

Image title

दीपक राई

आज भव्य सम्मान छ !

जताततै तुल व्यानर टाँगिएका छन्

घडाभरी सजाईएको छ रंगी विरंगी फूलहरु

चोक चोकमा बनेका छन् बडे बडेमाका गेटहरु

आहा शहर हुनु त यस्तो पो

देखेरै स्वर्गका राजा पनि

यतै भुलिएलान् जस्तो ।

किनभने आज यहाँ भव्य सम्मान छ ।

       मेरो पावरवाला चस्माको डिलमा हात राखेर

       घरी चस्मा निकालेर आँखा पुस्छु

       "ज्या है बुढो पो भईएछ"

तिरमिराएका आँखा ट्याम्केको चुलीमा पुराएर घुमाउँछु

फेरी आँखा च्यातेर नियाल्न खोज्छु

       मरि काटे चिन्न सके पो !

तिरमिर तिरमिर मात्र देख्छु

रंगीचंगी देख्छु व्यानरको भित्ताहरु

अहँ मरिकाटे चिन्न सकिन

आज कसलाई सम्मान गरिँदै छ ?

तर जे भएपनि आज ठूला मान्छेलाई सम्मान गरिँदै छ ।

त्यो ठूला मान्छे कस्ता होलान् ?

कसरी ठुला भए होलान् ?

के खाँदा हुन् ? के लाउँदा हुन् ?

सायद सुनको ओच्छ्यानमा सुत्दा हुन् की

के गरेर ठुला मान्छे भए होलान् ?

कसैलाई सोध्न पनि भएन

"अरुलाई सिकाउने मान्छेले त्यति पनि नजान्ने?" भन्यो भने

म त लुते कुकुरले टाँगमुनि पुच्छर लुकाएजस्तै !

मेरो इमान इज्जत र अभिमानले पनि कसैलाई सोध्न दिएन

आज को सम्मानित हुँदैछ भनेर

तर जे होस् आज यो शहरले गतिलै मान्छेलाई सम्मान गर्दैछ ।

       "उ, आयो ! आयो !!"

       "ए किचिएलास् है, बिस्तारी कुद्"

       "पख्! पख् ! म पनि जान्छु ।"

       "ह्या, अहिले धुलोले पुर्छ मात्तै ।"

       आकासमा भटभटेको भट्भटसंगै बजारै उल्टियो

       शहरमा बाढी पसेजस्तै

       भुकम्प आउँदा हातमै भात बोकेर कुदेजस्तै ।

       त्यहाँ अमृत छ जुन पिएपछि मात्र आफु बाँचिन्छ भने जसरी सबै कुदेपछि

       म पनि त कुद्नै पर्यो

       र म पनि कुदेँ,

पोहोरको साल किनेको गोल्डस्टार जुत्ताको मायै नगरी।

भीडमा चेपिँदै, ठेलिँदै, कसैमाथि बोकिएर, कसैद्वारा टेकिएर

आधामात्र हिँडेको हुँला तर फुत्तै पुगेछु प्रांगणमा ।

       जसरी आएँ के मतलब भो र

       अब त मज्जाले सम्मान गरेको हेर्ने हो,

       जे भएनी शहरले यत्ति ठूलो मान्छेलाई सम्मान पो गर्दैछ त ।

सम्याउँदा सम्याउँदै डोजरले फाल्न बिर्सेको ढुंगामाथि उभेर

चिम्रिएका आँखामा अडेका पावरवाला चस्माले तानी तानी

बुढो भएछु क्यारे खुट्टा थर्थरी काँपेका छन्

तरैपनि थामेर हेरीरहेछु त्यो मान्छेलाई

किन भने त्यो त अनमोल मणी हो ।

जसलाई हजार वर्ष कुरेको छ शहरले उसको दर्शन पाउन

म नाथेले त्यति गलेर के भो र

फेरी भोली हेर्छु भन्दा पाईन्छ र ?

उ त आजै, अहिल्यै सम्मानित हुने मान्छे पो हो त !

       आहा कति उजेलो अनुहार !

       निडर निर्धक्क कसरी बस्न सकेको होला

       यत्रो जमातका बीचपनि

       म भए त

       कुन सड्को पेन्ट भिजिसकेको हुन्थ्यो होला ।

तर,

सहरले यति सम्मान दिएको, यति मान गरेको

त्यो मान्छे मलाई किन नया लाग्दैन ?

कुनै बेला,

       क ख र एविसिडी नजानेर नाक तान्दा

हात भरी आको उस्को सिगान कालो पेन्टमा पुछेको थिएँ ।  

मोराको कट्कटिएको गाला धुन आधा घण्टा लागेको थियो ।

पुलुत्त झर्ने त्यो सिँगान फाल्न अनि

नुहाएर, कपाल कोरेर, सफा भएर आईजको आदेशमा

दुई चार छडि भाँचिए पनि ।

कति कुटेँ, कति माया गरेँ. कति फुर्क्याएँ अनि कति धम्क्याएँ

गनेर साध्य छैन त्यो दश वर्षमा !

किन भने यो त मेरो नियमित काम न थियो ।

मैले सिगान पुछिदिएको, पढ्न नजान्दा कुखुरा बनाको

साथीको कट्टु तान्देको आरोपमा आफ्नै कट्टु मुताको

अनि पहलमान भएर कुस्ती खेल्दा

ढाडमा एकसातालाई पुग्ने चिनो बनाईदिएको त्यो केटो

हो त्यही केटो,

म अगाडिको मञ्चमा बिराजमान छ

सारा सहरको सम्मान थाप्न ।

मैले क ख भन्न सिकाएको त्यो काले मोरा त

आज मेरै अगाडि देशको खाका कोर्दैछ

देशलाई समृद्द बनाउने उपाय सुझाउँदै छ

उ संग देश बनाउने दिमाग छ

अनि सारा संसारलाई जितेको छ

उस्ले बोलेका कुराले लाग्छ

संसार उस्कै पकडमा छ

र त उ सम्मानित हुँदैछ

सारा सहरले सम्मान गर्दैछ ।

मेरो काले केटो अगाडि छ म पछाडि

उ सम्मान लिन लाग्दैछ, म दिन

किन भने म शिक्षक छु उ विद्यार्थी थियो।

समय यस्तै न रहेछ कहिले घाम कहिले छाँया

थाहा छैन को घाम बन्यो को छाँया ?

म दश पास गरेदेखि शिक्षक छु

अझै शिक्षक नै हुनेछु ।

तर मेरो काले मैले पढाउने बिद्यार्थी थियो

र त उ देशको सम्पत्ति बन्यो ।

       उ भोली मर्दा देशको झण्डा झुक्नेछ

       लासमाथि राष्ट्रिय झण्डा,

       तोपको सलामीसंगै करोडौँ हुनेछन् किरिया बस्ने,

       देशै रुनेछ उ मर्दा

       र आउनेछन् देश बिदेशबाट श्रद्दान्जली र समबेदनाका पत्रहरु ।

आहा ! यो पो त मरण

सारा देशलाई रुवाउने मरण ।

कठै ! म मर्दा त को होला र रुने ।

तर म त शिक्षक हुँ

यी सब सोच्नु बेकार छ र हुन्न पनि

यस्तो सोच्ने हो भने किन शिक्षक बन्नु ?

हैन र ।

शिक्षकको काम त अरुलाई सिकाउने हो फगत सिकाउने!!


Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook