आज २०७३ फागुुण १३ गते

अन्तर्राष्ट्रिय अल्ट्रा म्याराथुन धाविका मिरा राईलाई २८ लाख नगद पुुरस्कारसहित सम्मान

खेलकुद २०७३ पौष २१ ७२० पटक हेरिएको

Image title

काठमाडाै । अल्ट्रा म्याराथनकी अन्तर्राष्ट्रिय धाविका मिरा राईलाई बिहीवार २८ लाख नगद पुुरस्कारसहित दमकमा सम्मान गरिएको छ ।  


अल्ट्राम्याराथन खेल क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान गराउन सफल उनलाई बेलायतमा रहेका आधा दर्जन बढी संघसंस्थाहरुले संयुक्त रुपमा नगद पुरस्कार प्रदान गरेका हुन् ।

दमक रेडक्रस भवनमा आयोजित एक समारोहकाबीच  राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवबहादुर विष्ट, झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्री, सांसद महेन्द्रकुमारी सुब्बालगायतले मिरालाई नगद पुरस्कार हस्तान्तरण गरेका थिए ।  

बेलायतमा रहेको सगरमाथा तेक्वान्दो डोजाङको पहलमा त्यहाँको किरात राई यायोख्खा, जेन मार्शल आर्ट एकेडेमी, भोजपुर समाज र नेपाल युथ अर्गनाईजेशनले मिराको सहयोगका लागि रकम जुटाएका हुन् ।  

सोही अवसरमा मिरालाई अल्ट्राम्याराथन खेलमा हौस्याउने कँराते प्रशिक्षक धु्रवविक्रम मल्ललाई समेत २ लाख नगदले सम्मान गरिएको छ । तेक्वान्दो डोजाङका संस्थापक अध्यक्ष समेत रहेका पूर्व ब्रिटिस आर्मी दमक–१९ निवासी राष्ट्रकुमार राईले मिराले अल्ट्राम्याराथनमा अन्तर्राष्ट्रिय स्तरमा नै नेपालीलाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकाले विदेशमा बस्दै आएका नेपालीहरुले उनको आर्थिक पाटोमा सघाएको बताए । 

नेशनल जियोग्राफीले सन् २०१७ का लागि घोषणा गरेको एड्भेन्चरर्स अफ दि इयरको पिपुल्स च्वाइस अवार्डको समेत मिरा मनोनयनमा परेकी छिन् । 

भोजपुर सानोदुम्जा घर भएकी २६ वर्षीया विगतमा माओवादी लडाकु थिइन् । शान्ति सम्झौतापछि अयोग्य भएपछि उनले एथ्लेटिक्सलाई रोजेकी थिइन् । 

काठमाडौंमा भएको अल्ट्रा हिमालयन आउटडोर दौडमा पहिलोपटक भाग लिएर अल्ट्रा म्याराथनमा डेब्यू गरेकी उनले स्वदेश तथा अन्तर्राष्ट्रिय स्तरका आधा दर्जन बढी प्रतियोगिताको उपाधि समेत हत्याइसकेकी छन् । 

उनले आफ्नो खेल क्षेत्रको अन्तर्राष्ट्रिय यात्रा भने इटलीबाट सुरु गरेकी हुन् ।  त्यसलगत्तै हङकङ र फ्रान्समा भएका अल्ट्राम्याराथन जितेर अन्त्र्राष्ट्रिय स्तरमा आफ्नो यात्रा थप मजबुत गरिन् ।  

उनले पछिल्लो पटक फ्रान्समा मोन्ट ब्लांक नामक ८० किलोमिटर दुरीको अल्ट्राम्याराथन जितेपछि उनको अन्तर्राष्ट्रिय स्तरमा समेत उचाई बढेको हो । 


Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook