आज २०७३ माघ १२ गते

बैकल्पिक पेशामा भरिया

समाज २०७३ मंशिर ३० २१८४ पटक हेरिएको

 पिठ्युँमा भाडाको भारी बोकेर गाउँगाउँ पुग्ने भरिया अचेल हराएका छन् ।

भोजपुर । रानीवास–६ का ५० बर्षिय काजीमान राईले डोको, नाम्लो, खकन र तक्मा बिसाएको ७ बर्ष भयो । तराईसंग सडकको पहँचु नपुगुन्जेलसम्म साहुको भारी बोकेर जीविका चलाए । तराईदेखी पहाड, पहाडदेखी हिमालसम्म सामान पिठ्यँुमा बोकेर ७ जनाको परिवार धाने । उनले सुनसरीको चतरादेखी घोडेटारबजार, सदरमुकामसम्म मात्र भारी बोकेनन् ।

छिमेकी जिल्ला धनकुटा, तेह्रथुम, संखुवासभा, खोटा¨, सोलुखुम्बु लगायत जिल्लाका कुनाकाप्चामा भारी बोकेर पु¥याउथे । अक्करको भीर, सप्तकोशीको तीर हुदै अरुण नदिको गड्तीर हुदै चामल, नुन, तेल, चिउरा जस्ता खाद्यान्न र लत्ताकपडाको भारी बोकेर गाँउबस्तीका साहुकहाँ पु¥याउथे । भारी बोकेर पाएको ज्यालाले ५ जना भाल्टा¨भुल्टु¨ बच्चाबच्ची र पत्नीलाई एकछाँक टार्न र एकसरो लाउन पु¥याउथे । उमेरमा हट्टाकट्टा राई साहुको बेच्ने सामान बोकेर सुनसरीको चतरामा पुग्थे । त्यसबेला पहाडको फेदीको चतराबजार गुल्जार हुन्थ्यो । हिडेकै दिन पुगेर चतराको साँहुलाई सामान बुझाउथे । सामान जिम्मा लाएर सय केजीको भारी कसेर भोलीपल्ट विहानै पहाड उक्लन्थे । चौथोे दिन विहान खानाखाने गरि घोडेटारबजारमा सामान ल्याइपु¥याउथे ।

७ बर्षकै बाल्यकालदेखी भारी बोक्न थालेका उनका लागि घोडेटारदेखी चतरासम्मको ११ कोष यात्रा दैनिकी थियो । घोडेटारबजारमा रहेको खाद्य गोदाममा चामलको अधिकांश माग धान्ने उनै थिए । उनले बोकेको चामलले बजारको माग धान्ने गरेकाले उनलाई ‘गोदामे’ उपनामले चिनिए । उनले भारी नबोकेको साहुको कुनै पसल थिएनन् । न त पुस माघको कठ्याग्रिने जाडो भन्न पाउथे । न त जेठ, असारको तरतरी पसिना चुहाउने प्रचण्ड घाम भन्न पाउथे । लालाबालालाई पत्नीको जिम्मा लाएर महिनौसम्म भारी बोक्न कोषौ टाढा पुग्थे । भारी बोकेको थाप्लोमा कपाल खुइलिएको छ । सानैमा बाबुआमा वितेकाले बेसहारा बनेका उनी भरिया जिवनमै ४० बर्ष कटाए । उनी आफुमात्र भरियाको पेशा अँगालेनन् । पत्नी, ठुली, माइली छोरीलाई समेत भारी बोक्न तराई झार्थे । गाँउमा काम नपाएर भोकतिर्खासंग पौठेबाजी गरिरहेका युवायुवतीलाई समेत भारी बोक्नका लागि डो¥याएका थिए ।

अचेल गाउमै ज्यालादारी काम गर्छन् । गाँउबस्तीमा सडकको पहँुच पुगेपछि उनीजस्ता भरिया पेशा परिवर्तन गरेर जीविका चलाउन थालेका छन् । उसबेला यातायातको माध्यम पैदल थियो । सामान ओसारपसार गर्न भरपर्दाे माध्यम भरिया थिए । केही ठाँउमा खच्चड प्रयोग गरिन्थे । सबै भुगोलमा खच्चड असम्भव हुन्थे । भारी बोक्ने मान्छेको निकै खोजी हुन्थ्यो । गाउँमा पढ्न नपाएर बेरोजगार पुस्ताका लागि भारी बोक्ने काम भरपर्दो माध्यम बनेको थियो । ‘भारी नबोकी आफुले खान पाइन्नथ्यो, बजार पसलमा सामान किन्नबेच्न सकिदैनथ्यो, साहुजीहरुले भरिया खोज्थे, भारी बोक्न जति पनि पाइन्थ्यो’ काजीमानले विगतलाई सम्झिए, ‘अचेल भारी बोक्छु भन्दा पाइदैन, कसैले पत्याउलान जस्तो पनि लाग्दैन, सबैतिर गाडी र ट्याक्टरले ओसार्छन्,’ उनले भने ।

समयको परिवर्तन र सडक विकासले फड्को मारेसंगै भरियाहरुको दैनिकी फेरिएको छ । १० बर्षयता भोजपुरमा मध्यपहाडी राजमार्ग जोडिएर गाँउगाँउ सडक सञ्जाल जोडिएपछि भरियाहरुले पेशा परिवर्तन गरेका छन् । ‘समय अनुसार चल्नै परेको छ, भारी बोक्न पाइएन भनेर एकठाँउ बसेर खान पाइदैन, जसरी भएपनि पेट पाल्नै प¥यो, दुःखजिलो गर्नैप¥यो,’ बैकुण्ठे ९ की ४२ बर्षिय मेनुका रम्तेलले बताइन् । रम्तेलले बैकुण्ठे आसपास, सदरमुकामबजार, धनकुटाको फलाटेमा भारी बोकेर घरपरिवारको जीविका धानेकी थिइन् । ६४ बर्षिय अपाङ्ग पति पुर्ण रम्तेल, एक छोरा र तीन छोरीलाई भारी बोकेर कमाएको ज्यालाले हुर्काइबढाई गरेकी बताइन् । भरियाको पेशा पाउन छाडेकाले खेतीकिसानी र बनिबुतो गरेर घरव्यवहार धान्दै आएको उनले भनिन् ।

त्यसबेलाका प्रायजसो भरिया वृद्धाअवस्थामा पुगेका छन् । खेतीकिसानीलाई निरन्तरता दिएका छन् । कोही भारतको सिलागंमा कोइला काट्न जान्छन् । बेरोजगार युवा विदेश पलायन भएका छन् । सडकले सहज पु¥याएपनि अर्काको भारी बोकेर जिवन काट्नेहरुका लागि बाँच्ने आधार शिला सकिएको छ । जिवनमा भारी बोक्ने बाहेक काम नजानेकाहरुको जिन्दगी विजोग छ । डोको, नाम्लो, खकन र तक्मा बेकामे बनेका छन् । तीनैको साहारामा जिवन धानेकाहरुका लागि समय अनुकुल पर्याप्त रोजगार छैनन् ।


Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook