आज २०७३ फागुुण १२ गते

दिंलाकाे षडानन्द सिताराम गुठी संरक्षण विहिन

राष्ट्रिय २०७३ पौष ५ २४८६ पटक हेरिएको

षडानन्द सिताराम गुठी संरक्षण विहिन

दिंला, भोजपुर । शिक्षाको अग्रज्योति आवाल ब्रह्मचारी षडानन्द अधिकारीले डेढसयबर्ष अगाडि स्थापना गरेको षडानन्द–सिताराम गुठी संरक्षणको अभावले गुमनाम हुदै गएको छ । गुरुकुल पाठशाला, सयौ रोपनी जग्गा, अचल सम्पति र भौतिक संरचना अस्तव्यस्त र बेखबर अवस्थामा छन् । दशक लामो देशमा चलेको द्धन्द्धले प्रभावित बनाएको गुठी शान्ति स्थापना भएको दशक वित्दा झनै अव्यवस्थित बन्दै गएको छ । ऐतिहासिक र धार्मिक महत्वका सम्पदाहरु दैनिक लोप हुदै गएका छन् ।

१९३२ सालमा षडानन्दले खोलेको संस्कृत पाठशाला सञ्चालनका लागि गुठीको नाममा स्थापना गरेको १८ सय रोपनी जग्गा र खेतीयोग्य जमिन अतिक्रमण हुदै गएको छ । गुठीको जग्गामा दिङ्गलाबजार दिनदिनै फैलदै गएको छ । सार्वजानिक सम्पती व्यक्तिगत प्रयोजनका लागि अप्रत्यक्ष रुपमा अधिकरणमा पर्दै गएको छ । ढलानका स्थायी घर आफुखुसी धमाधम बन्दै गएका छन् । गुठीको सार्वजानिक जग्गा हडप्न नपाइने भएपनि पछिल्लो समय राजनीतिक आडमा जग्गाको दुरुपयोग हुन थालेको स्थानीयले बताए । 

सञ्चालक समितिले भने जग्गा व्यक्तिगत प्रयोजनमा दुरुपयोग नभएको दावी गरेको छ । ‘दिङ्गला बजारका प्राय घर व्यक्तिगत जग्गामा बनेका छन्, केही घर गुठीको जग्गामा बनाएका भएपनि भाडामा लगाइएका हुन् । उनीहरुको स्थायी घर हुदै होइनन्,’ समिति अध्यक्ष किशोर किरातले बताए । अध्यक्षले दुरुपयोग नभएको दावी गरेपनि १८ सय रोपनी जग्गाको ११ सय ७५ रोपनी मात्र आफुसंग रेकर्डमा रहेको किरातले बताएका छन् । दिङ्गलाबजार विस्तार भएको क्षेत्रमा गुठी जग्गा पर्ने स्थानका २३ वटा घडेरीमा स्थानीयले भोगचलन गर्दै आएको समेत उनैले कुरा खोलेका छन् ।

एक हजार मुरी धान उत्पादन हुने गुठीको खेत बर्षेनी बाँझिदै गएको छ । मुलपानी, तुङ्गेंछा र केउरेनीपानीका उब्जनीयोग्य खेत कमाई हुन छाडेको छ । मन्दिर, गुठिपरिसर र विभिन्न भौतिक संरचना अलपत्र छन् । गुरुकुल शिक्षा आर्जन सुरु भएदेखी स्थापना भएको छात्राबास पटकपटकको भुकम्पले क्षतविक्षत भएको छ । द्धन्द्धको चपेटामा परेको गुठी दिनदिनै भताभुङ्गै र लथालिङ्गै बन्दै गएको छ । षडानन्दले ठेक्कामार्फत खेतमा धान उत्पादनबाट कमाएको आम्दानीले पाठशाला सञ्चालन गर्दै आएका थिए । 

उक्त गुठी अचेल आर्थिक अभावमा गुज्रिरहेको छ । गएको साउन १४ देखि पुनः सुचारु भएको गुरुकुल शिक्षा चन्दाको भरमा चलेको छ । रेकर्ड फायल पल्टाउदा द्धन्द्धकाल देखि वितेको ३ बर्ष सम्म एक पैसा आम्दानी हुन नसकेको अध्यक्ष किरातले बताए । द्धन्द्धमा माओवादी हस्तक्षेपपछि आर्थिक अभावकै कारण गुरुकुल शिक्षाको पढाइ बन्द भएको थियो । ३ बर्षदेखी बार्षिक ६ लाख रुपैया भएपनि जेनतेन आम्दानी हुन थालेको छ । धानखेती र रुद्राक्षबाट ४ लाख र २३ वटा घरघडेरीका २ लाख भाडा तत्कालिन आम्दानीको स्रोतका रुपमा सीमित भएको छ । ६ लाख रुपैया पुजारी खर्च, तिथीका पुजापाठ र केही मर्मत सम्भारमै ठिक्क हुने गरेको किरातले भने ।

गुठिपरिषरमा षडानन्दले रोपेका रुद्राक्षका दानाबाट बार्षिक हुने लाखौ आम्दानी कमाई हुने र गुठी संरक्षण र समग्र मन्दिरको विकास एवं विस्तारमा ठुलो टेवा मिल्ने भएपनि सञ्चालक समितिले निगरानी राख्न नसक्दा उत्पादनको अनुपातमा कमै आम्दानी हुने गरेको सरोकारवालाको गुनासो छ । ‘राजाकालिन समयमा गुठी स्थापना हुदै कसरी व्यवस्थित गरेर लैजाने सारा लिखित व्यवस्था मसंग प्रमाण छ, जव जनताको हातमा गुठी हस्तान्तरण भयो त्यसपछि तिक्तताहरु उत्पन्न भैरहेका छन्, अस्तव्यतता बढेको छ,’स्थानीय तोयानाथ गौतमले बताए । 

गुठीको जग्गा गुपचुप अधिकरणले थप संकट निम्तिदै गएको छ । दिलकुमार राईको कार्यकालसम्म गुठीको जग्गामा घर बनाउन रोक लगाइएको भएपनि किशोर किरात अध्यक्ष भएपछि धमाधम घर बन्न थालेका उनीहरुको आरोप छ । उनले रसिद काटेरै गुठीको जग्गाभित्र घर बनाउने अधिकार दिएका बताइएको छ । रसिद दिएर घर बनाउँदा जग्गाको धनीपूर्जा दिए सरह हुने शर्त छ । तर किरातले भने बार्षिक भाडा उठाउने शर्तमा अस्थायी मात्र घर बनाउन दिएको दावी गरेका छन् ।

१ सय ८२ वर्षअघि जन्मेका आवाल ब्रम्हचारी षडानन्दले सन् १८७९ मा देशकै पहिलो संस्कृत पाठशाला खोली शिक्षाको प्रचार सुरु गरेका थिए । संस्कृत पाठशालामा तत्कालिन समयमा भुटान, सिक्किम र पश्चिमी नेपालका विद्यार्थी समेत गुरुकुल शिक्षा आर्जन गर्न आउथे । उनले राणा शासनका समयमा व्याप्त सती प्रथा र जातिय भेद विरुद्ध आवाज उठाएका थिए । दिङ्गलामा मठ मन्दिर, बगैचा, गुठीको स्थापना, हाटबजारको व्यबस्था गरेका थिए । 

उनैले स्थापना गरेको गुठी परिसरमा रामचन्द्र, नर्मदेश्वर, शिवालय र पशुपतिका ४ वटा मन्दिर जीर्ण अवस्थामा छन् । बगैचामा १ सय ८ प्रजातीका बोटविरुवा रहेको मान्यता रहदै आएको छ । मुख्य आम्दानी स्रोत मानिने रुद्राक्ष दाना पहिलोपटक षडानन्दले नै रोपकेको र उनैको पालादेखी बहुमुल्य रुपैयामा किनबेच हुन थालेको मानिन्छ । भारतको बनारसका जोगीहरु पनि रुद्राक्ष किन्न धरान धनकुटाको बाटो हुँदै दिङ्गला आउने गरेकाले उनैको पालादेखि भोजपुर व्यापारिक जिल्लाका रुपमा परचित हुदै आएको भनाइ छ ।

उनै समाज सुधारक षडानन्दको योगदानमाथि सञ्चालक समितिले बेवास्ता गरेर उनको कदमप्रति कुठाराघात गरिरहेको सर्वसाधारणको गुनासो छ । सरसफाई र संरक्षणको अभावले कुरुप बन्दै गएको छ । बजारबासीको फोहोरमैला थुपार्ने डम्पिन साइडका रुपमा प्रयोग गर्ने गरेकाले दुर्गन्धित र अशोभनिय बढ्दै गएको छ । बजारमा रहेको रानीपोखरी ढलनिकास गर्ने भकारी जस्तै बनेको छ ।

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook