आज २०७३ माघ १२ गते

कोकटी खेती संकटमा

अर्थ २०७३ असोज ४ १३५२ पटक हेरिएको

Image title

भोजपुर । आधुनिकता संगै नेपाली मौलिक संस्कार एवम् सस्कृतीहरु दिनानुदिन लोप भैरहेका छन् । युवापुस्ताको चासो नहुनुले पछिल्लो पुस्तामा हस्तान्तरण हुन नसक्दा नेपाली मौलिकता दिनदिनै लोप भैरहेका छन् । यस्तै उदाहरण छ पुर्वी पहाडी जिल्ला भोजपुरको कोकटी व्यवसायको ।

एक समय भोजपुरको पहिचान बनेको कोकटी तथा कपास खेती अहिले आएर संकटमा परेको छ । आदिवासी जनजातीहरुको मौलिक पहिचानका रुपमा रहेको कोकटीबाट कपडा तयार गरिने घरेलु उद्योग यतिखेर लोप भैसकेका छन् । विशेषगरेर जिल्लाको पुर्वी जरायोटार, चरम्बी र याकु गाविसहरुमा सञ्चालित उद्योगहरु लोप भैसकेका छन् । आदिवासी जनजातीहरुको छुट्टैपहिचान बोकेको कोकटी व्यवसाय दिनदिनै संकटमा पर्दै गएको हो ।

कोकटी खेतीबाट घरेलु उत्पादनका कपडाहरु उत्पादन हुन छाडिसकेको छ । १२ बर्ष अघिसम्म गाउँमा घरैपिच्छे व्यवसायीक रुपमा सञ्चालन हुदै आएको यो व्यवसाय संकटमा परेको छ । विदेशी आयातित पहिरनले नेपाली उत्पादित पहिरनलाई प्रतिस्थापन गरेकाले व्यवसाय आझेलमा पर्दै संकटमा पुगेको चरम्बीका स्थानीयहरु बताउछन् । विदेशी लत्ताकपडा रंगीविरगीं र सस्तो दरमा समेत पाउन थालेपछि स्थानीय उत्पादनका कपडामा ध्यान नजादा व्यवसाय ओझेलमा परेको उनीहरु बताउछन् ।

कोकटीबाट उत्पादित कपडा टिकाउ हुने भएपनि उत्पादनका लागी बढी मेहनत गर्नुपर्ने र झन्झटिलो हुने कारण युवापुस्तामा हस्तातरण नुहुदा पहिचान नै लोप हुन लागेको छ । ‘एक सिजन कपास उब्जाउन खेती लगाएर ६ महिना कर्नुपर्छ, खेती भित्राउनुर्छ, बुन्नुपर्छ, यस्तो दुःख गर्ने जमाना अहिले छैन, ’ चरम्बी ३ की कोकटी उद्यमी ६३ बर्षीया रानीमाया राईले बताइन् । कोकटी उत्पादनका लागी फाल्गुन ÷ चैत्र महिनामा खेतीयोग्य जमिन तयार गर्नुपदर्छ । बैशाखमा छरेर असोज महिनामा कपास तयार हुन्छ । त्यसपछि २ देखी ३ महिनासम्म कपडा बुन्न सकिन्छ । ‘एकमासमा उत्पादन हुने १५ केजी जति कपासले १ देखी डेढ लाख सम्म आम्दानी लिन सकिन्छ ।’– रानीमायाले बताइन् ।

एक दशक पहिला महिलाहरुका लागी हलुका काम घर बसिव्यालो पनि हुने आम्दानी पनि हुने सवैका घरमा घरेलु उद्योग थिए । अहिले ३ घरमा मात्रै कपास खेती र कपडा उत्पादन गर्ने गरेका छन् । अहिले बनावटी कपडा घरेलु उद्योगमा तयार पारिएको भन्दा कम मुल्यमा र सहज रुपमा पाउने भएकाले यो पेशा संकटमा परेको जरायोटारबासीहरुको भनाई छ । ‘पहिले त बाध्य भएरै कोकटी कपासबाट तयार गरेको कपडा लगाउनु पथ्र्यो ।’ धनकृष्ण चोखा¨ले भने ।

कपासबाट तयार गरिने दौरासरवाल प्रतिसेट १५ हजार देखी २० हजारसम्म पर्दछ । गाउँमै खपत हुने कोकटी धनकुटा, संखुवासभा, सुनसरी लगायतका जिल्लामा निर्यात हुदै आएको छ । यसवाट उत्पादित तयारी कपडा युके, हङ्गकङ्ग लगाययतका विदेशमा अर्डर हुने गरेको छ । यो पेशालाई सबैले त्यागिसकेका कारण माग धान्न गाह्रो भएको उद्यमीहरुले बताए । ईश्वरले रंगाएको रंगका रुपमा लिइने कोकटीलाई स्थानीय भाषामा ‘ज्यापु’ भन्ने चलन छ । पृथ्वी नारायण शाहले एकिकरणका क्रममा कोकटी तथा कपासबाट बुनेको कपडा लगाएर युद्ध लडेको जरायोटारबासीको विश्वास रहदै आएको छ ।

यसरी ऐतिहासिक र छुट्टै अस्तित्व बोकेको कोकटी उत्पादन फैलावटमा कसैले चासो नदिएको उद्यमीहरुको गुनासो छ । यसको लागी सरोकारवाला निकायहरुले बेलैमा ध्यान दिन सके पहिचान र मौलिकताको जगेर्ना हुनुका साथै स्थानीय अर्थतन्त्र मजुबुत हुनेमा दुई मत देखिदैन ।

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook