आज २०७३ फागुुण १० गते

जितेनलाई बिनायो” ले झन् चिनायो

मनोरञ्जन २०७३ कार्तिक २२ २०९५ पटक हेरिएको

गायक तथा संगीतकार जितेन राई

जिन्दगीको अन्तरा मिलाउँदै गर्दा गायक तथा संगीतकार जितेन राईको ध्यान किराती मिथकतिर मोडियो । जायजेथा खर्चिएर बनाए फिल्म– ‘बिनायो’ । कुरो २०७० सालको थियो । फिल्मको परिकल्पना, लेखन, गीत, संगीत सबै जितेन स्वयंको रह्यो । सहनिर्माताका रूपमा श्रीमती शान्तिदेवी राई रहिन् । छायांकनको काम खोटाङको दुर्गम खार्मी, सोती, रूपाकोट डाँडा, रावाखोला, तापखोला, काठमाडौं र ललितपुरमा गरे । २०७१ मा फिल्मी बजारमा आइपुग्यो, छुट्टै स्वादको कथावस्तुमा ।

त्यसपछि उहिलेका गायक जितेन राईको खोजी फिल्मी दुनियाँमा हुन थालियो । जबकि लोकआधुनिक गीति फाँटमा झन्डै चार दशकदेखि निरन्तर छन्, जितेन । ‘बिनायो फिल्म बनेपछि परिचय थपिएको छ,’ भर्खरै करिब पाँच महिने फिल्मी यात्रा गरी बेलायतबाट फर्किएका जितेनले भने, ‘देश, विदेशमा यही फिल्म प्रदर्शनको दौडमा छौं दम्पती नै ।’ यसअघि उनी सिंगापुर र हङकङमा प्रदर्शन गर्न पुगेको जनाए । ‘बिनायो’ फिल्म खासमा किराती मुन्धुम कथा उनिएको छ । दुई दिदी र भाइको कथा । टुहुरो बनेपछि भोगेको हन्डर, ठक्कर अनि ठक्कर । उहिलेदेखि भनिँदै आएको मिथक हो जुन फिल्ममा उतारिएको छ । जंगली युगदेखि विकसित किरातीको आदिवासीजन्य कथा । 

पछिल्लो महिनामा बेलायतमा जन्मे, हुर्केर पढदै गरेका नेपाली छोराछोरीले हेर्न भ्याए । अंग्रेजीमात्र बुझ्ने पुस्ताका निम्ति अंग्रेजी सबटाइटल राखिएकाले प्रभावकारी बनेको सहनिर्मात्री शान्तिदेवी राईले बताइन् । बेलायतको अल्डरसटमा ‘बिनायो’ को ग्रान्ड शो भएको थियो भने लन्डन, मेडिस्टन, आस्फोर्ड, मिडवेमा समेत प्रदर्शन गरिएको थियो । किरात राई यायोक्खा बेलायत र किरात राई सांस्कृतिक कलाकार संघ बेलायतको पहलमा त्यसरी प्रदर्शन गरिएको थियो ।

जितेनले ‘यलम्बर सांगीतिक शृंखला २’ समेत पर्फम गरेका थिए । साथ दिन पुगेका थिए सहधर्मी गायिकाद्वय पार्वती राई र सरला राई । २०३५ सालतिरै ‘शिथिलताले।।।’ बोलको गीत रेडियो बीएफबीएसमा रेकर्ड गराएर यात्रा आरम्भ गरेका थिए जितेनले । त्यसयता डेढ सय जति आफ्नै रचना, संगीतमा आफैंले गीत गाएका छन् । अन्यको रचनामा सयौं गीत गाएका छन् । तीमध्ये करिब चौध–पन्ध्रवटा एल्बममा समेटेका छन् । त्यसमा ‘बाबरी’, ‘मझेरी’, ‘सयपत्री’, ‘स्यामुना’, ‘जितेन’, ‘मायाको चिनो’, ‘पूर्वै धरान’, ‘नौलखा’, ‘लिमचिमबुङ’ लगायत एल्बम हुन् । गायक जितेनलाई ‘अरुणै तरें, तमरै तरें...’, मालिंगो काटी नि बिनायो बाजा...’, सलल पानी बगेर गयो...’, ‘उराठै लाग्छ नि डाँडापारि वन...’, ‘उडदै आयो हवाईजहाज...’, ‘भन्ज्याङपारि यारी खोला...’, ‘मट्टीको कसम...’ बोलका गीत चर्चित छन् ।

ब्रिटिस इन्डिया पल्टनमा संलग्न बुवा महोमलाल राईले बर्माको लडाइँमा घाइते भएर फर्किंदा साथ हार्मोनी बाजा ल्याएका थिए । त्यही बाजा र आमा रनमायाले बजाउने बिनायोले संगीतमा तानिएको जितेन सुनाउँछन् । ‘त्यहींबाट मलाई प्रेरणा मिलेको भन्ने ठान्छु,’ भन्छन् । पाँचथरको फलैंचा ९ गंगावागाउँमा २०१३ सालमा जन्म भएको हो । उनले त्रिभुवन विश्वविद्यालय ललितकला क्याम्पसबाट बीम्युज उपाधि हासिल गरेका छन् । ‘सदियौं पुस्ता गर्व गर्ने विषय भनेको संस्कृति नै हो,’ उनी भन्छन्, ‘गीत संगीत मानिसको भावना, जीवनशैली, जिउने सन्दर्भ, सभ्यताको क्रममा निर्माण, विकसित, परिस्कृत भावनाको समष्टि रूप हो जस्तो लाग्छ ।’ उनी आफूलाई बढी गायक ठान्छन् ।

उनले नेपाली भाषाका अलावा राई भाषाअन्तर्गतका बान्तवा, चाम्लिङ, कुलुङ, थुलुङ, दुमी र लोहोरुङका गीत गाएका छन् भने वाम्बुलेमा संगीत भरेका छन् । त्यस्तै, लिम्बू, तामाङ, शेर्पा, मैथिली, भोजपुरी, सतार, झाँगड भाषाका गीत गाएका छन् । नेपाली संगीतको दुनियाँमा किराती संगीत बलियो उपस्थिति रहेको उनी सुनाउँछन् । ‘धामी र विभिन्न राईहरूले नछो, माङ्पा आदि भन्दछौं,’ भन्छन्, ‘उनीहरूले मुन्धुमी भाषाबाट गेयात्मक हिसाबले सम्पादन गरेको विषय नै किराती संगीतको विशेषता हो । गाउने शैली, ढिलो, लयात्मक, कम्पन, गाउँदा स्वरमा थिर्लिङ आउँछ ।’

किराती बाजाहरू बिनायो, मुर्चुङ्गा, झ्याम्टा, यलम्बर बाजा, टुङ, चरी बाजा, मुरली, बाँसुरी आदि प्रयोगमा जोड दिँदै आएको सुनाउँछन् । त्यस्तै, ढोल, मादल, च्याब्रुङ आदि तालबाजा प्रयोग गर्छन् । जितेन किरात राई सांस्कृतिक कलाकार संघको संस्थापक अध्यक्ष हुन् । मौलिकताको संरक्षण गर्नकै निम्ति संघ गठन भएको हो । संघले उद्देश्यअनुसार श्रव्यकाव्य, दृश्यकाव्यका रूपमा पुँजीकृत गर्ने काम गर्दै आएको उनी सुनाउँछन् । भएका छन् । किरातीहरूको थातथलो विकासको चरणहरूमा हिजोभन्दा अहिले फरक भइरहेको भूगोल, अबको दस–पन्ध्र वर्षपछि पाउन नसकिने भूगोलको दृश्य छायाँमा उतारेर सम्पादन, सम्प्रेषण गर्ने काम भएको उनको ठम्याइ छ ।

यसैगरी ‘यलम्बर संगीत शृंखलाको भाग २’ भरखरै बेलायतमा सम्पन्न गरी फर्किएको उनले सुनाए । किरात सौन्दर्यको चर्चा यो शृंखलाले समेटेको छ । ‘त्यो सौन्दर्य चिन्तनसहितको गीतहरू सिर्जना हुनुपर्छ भनेर यलम्बर संगीत शृंखला सुरु भएको हो’ भन्छन्, ‘हाम्रै सभ्यताको खुडकिलाहरूलाई लेखाजोखा गरेर साहित्य सिर्जना गर्ने, हाम्रै वाद्ययन्त्रहरूलाई व्यवस्थापन गर्न सुरु गरिएको हो । यसले राम्रो प्रभाव पारेको छ ।’ यो पुस्तान्तरण प्रयास हो । शिक्षाले व्यक्तिको उचाइ नाप्छ होला । 

सम्पत्तिले पुस्तालाई गतिशील बनाउला । राजनीतिक शक्तिले समुदायलाई सम्पन्नता देला । तर, संस्कृति भनेको पुस्तौंपुस्ता हस्तान्तरण भयो भने रहिरहन्छ । पुस्तौं पुस्ता गर्व गर्ने विषय भनेको संस्कृति नै हो । संस्कृतिले एकता गर्छ । प्राचीन सभ्यताका क्रममा निर्माण गरेको संस्कृति हो । यसलाई अक्षुण्ण राख्ने कार्य नै पुस्तान्तरण हो । 

अहिलेको लक्ष्य सांस्कृतिक डकुमेन्टेसनमै केन्द्रित हुने सुनाउँछन् । त्यो किरातीको मात्र नभई जुनसुकै संस्कृतिको हुने जितेनले उल्लेख गर्छन् । ‘बेलायतमा पुगेपछि त्यहाँका नेपाली दाजुभाइले ‘बिनायो’ भाग २ पनि ल्याउनोस् भनेर बलियो आँट दिनुभएको छ,’ फलदायी यात्राबारे उनले भने, ‘मैले यसलाई सकारात्मक रूपमा लिएको छु ।’ स्रोतःकान्तिपुर समाचार

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook