आज २०७३ फागुुण १३ गते

अलैंची मूल्यमा आएको गिरावटले उत्पादक तथा व्यापारीमा चिन्ता

अर्थ २०७३ कार्तिक ७ १४०४ पटक हेरिएको

Image title

धनकुटा । खोल्सीको कालो सुनले परिचित नगदेबाली अलैंचीको नयाँ फसलको मूल्यमा आएको गिरावटले किसान तथा व्यवसायीलाई चिन्तित बनाएको छ भने अलैंची कारोबारमा कमी आएको छ । नयाँ अलैंची कारोबार हुने मुख्य समयमै बजारमा निस्कन थालेको अलैँचीको मूल्यमा दिनानु दिन ओरालो लाग्ने क्रमले किसान तथा व्यापारीलाई चिन्तित बनाएको हो । बजारमा नयाँ अलैंची निस्कन थालेको डेढ महिनाको अवधिमा ३० हजार रुपियाँले मूल्यमा गिरावट आएको छ ।

अहिले धनकुटामा नयाँ अलैंचीको स्थानीय मूल्य एकमन ९४(किलोग्राम) को ५५ हजार रुपियाँ रहेको छ । साउनको अन्त्य तथा भदौको सुरुमा अलैंची प्रतिमन ८५ हजार रुपियाँका दरले खरिद विक्री भएको थियो । अलैंची मूल्य सुरु देखि नै निरन्तर ओरालो लागेको र हालसम्म ३० हजारले घट्न गई ५५ हजार रुपियाँमा आइपुगेको धनकुटा हिलेका स्थानीय व्यापारी ज्ञानबहालुर दाहालले बताए । व्यवसायी दाहालका अनुसार गत वर्ष नयाँ अलैंची निस्कँदा सुरुमै बजार मूल्य एक लाख २० हजार रुपियाँ रहेको थियो ।

गत वर्षको तुलनामा यो वर्ष सुरुमै झण्डै प्रतिमन ३५ हजार रुपियाँले मूल्य घटेको छ भने यसवर्ष सुरुको मूल्य पनि निरन्तर घट्दो क्रमले अलैंची उत्पादक तथा व्यवसायी दुवैलाई चिन्तित बनाएको उनी बताउँछन । उनले पूरानो अलैंची करिव ३० प्रतिशत मौज्जाद रहेका कारण यो वर्ष मूल्यमा गिरावट आएको हुनसक्ने बताए । यो वर्ष पनि अलैंची पाक्ने र सुकाउने काम अधिकांश सकिए पनि मूल्यकै कारण बजारमा उत्पादन हुने अलैंचीमध्ये दस प्रतिशतभन्दा बढी बजारमा आउन नसकेको दाहालको भनाई छ ।

गतवर्ष कम्तिमा प्रतिमन एक लाख रुपियाँ मूल्य पुग्दा पनि उत्पादक तथा व्यवसायी दुवैले अझै बढ्लाकी भनेर भाउ पर्खेर बसेका थिए । उनका अनुसार बढी मूल्यको पर्खाइमा स्थानीय व्यापारीले धरान पु¥याएको अलैंची पनि विक्री नगरी त्यतिकै गोदाम गरेर राखेका छन् ।

प्रायः अलैंची मूल्य विदेशी बजारले निर्धारण गर्ने हुँदा हालसम्म विदेशी बजारमा माग नबढेको स्थानीय व्यवसायी बताउँछन् । अलैंचीको माग बढ्न थालेपछि मूल्य पनि बढ्ने व्यवसायीको भनाइ छ । मूल्य वृद्धिको पर्खाइमा दुई वर्षअघिका अलैंचीसमेत राखेको धनकुटाको डाँडागाउँ गाविसका कृषक गोपाल पौडेलले बताए । दुई वर्षअघि मात्रै यसको मूल्य प्रतिमन १ लाख २० हजार पुगेका थियो । त्यत्तिकै अनुपातमा मूल्य पाउने आशाले कृषकहरू अलैंची थन्क्याउन बाध्य भएको पौडेलको भनाई छ ।

यता यो वर्ष भने हालसम्म बजारमा ल्याइएका अलैंचीको सुरुमै मूल्य काट्ने गरिएको छ । अघिल्लो वर्ष पछि बढी मूल्य आउने भन्दै अलैंची किसानले सुरुमा विक्री नगरी व्यवसायीलाई दिने गरेको थिए । पछाडि बढी मूल्य आएपछि मात्रै मूल्य काट्ने गरेको थिए । गतवर्ष भाउ पर्खंदा पछाडि मूल्य घटेर धेरै घाटा लगाएको भन्दै यो वर्ष किसानले सुरुमै भाउ काट्न अर्थात व्यवसायीलाई बिक्री गर्दै आएका हुन् । व्यवसायीले पनि बजारमा आएको मूल्य तिरेरै किसानले ल्याएको अलैंची खरिद गर्ने गरेको बताएका छन् ।

गतवर्ष आकर्षक मूल्य पर्खने हुँदा पुरानो अलैंची विक्री नभई किसान भन्दा व्यवसायीलाई नै बढी घाटा भएकोले यो वर्ष भने बजार मूल्य सुरुमै किसानलाई भुक्तान गर्ने र पछाडि मूल्य घटे वा बढेमा त्यसको नाफा÷नोक्सान आफैंले बेहोर्ने व्यवसायीले बताएका छन् । यता अघिल्लो वर्षको तुलनामा औल क्षेत्रमा यो वर्ष अलैंची उत्पादन पनि घटेको किसानले बताएका छन् । मध्य तथा लेकाली क्षेत्रका अलैंची बगानमा भने यो वर्ष राम्रै फल लागेको किसानको भनाइ छ ।

औल तथा तल्लो क्षेत्रमा उत्पादन घटेपनि माथिल्लो क्षेत्रमा राम्रै फल लागेको र खेती समेत विस्तार भएकाले यसपाली समग्रमा गत वर्षभन्दा चाँही अलैंची उत्पादन नघट्ने अलैंची व्यवसायी संघले जनाएको छ । यस्तै किसानहरूले घर खर्च चलाउनका लागि मात्र बेच्न ल्याउने गरेकाले उत्पादन भएको २५ प्रतिशत मात्र किनबेच भएको छ । ओसिलो पहाडी ठाउँमा उत्पादन हुने अलैंचीको मुख्य उत्पादन क्षेत्र पूर्वाञ्चल हो । कुल उत्पादन र खेतीको ९५ प्रतिशत पूर्वले ओगटेको अलैंची विकास केन्द्र फिकलले जनाएको छ ।

पूर्वका संखुवासभा , ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा तेह्रथुम, जिल्लामा बढी मात्रामा अलैंची उत्पादन हुने गरेको छ । हाल नेपालमा राम साही, गोल्साही, डम्बरसाही, जिर्मले, चिबेसाहीलगायतका जातका अलैंचीको खेती हुने गरेको छ । मसला, औषधि, तेल र मद्यपान बनाउन अलैंचीको प्रयोग गरिने गरेको छ । पूर्वाञ्चलमा उत्पादित अलैंची पूर्वको काँकडभिट्टा र विराटनगरबाट भारत निर्यात हुने गरेको छ । औल क्षेत्रमा साउनको पहिलो साताबाटै अलैँचीको उत्पादन सुरु भएपनि माथिल्लो तथा लेकाली क्षेत्रमा अलैंची कात्तिकमा मात्रै निस्कने गर्दछ ।

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook