खोटाङमा गरिबका लागि छानो कार्यक्रम लागु

खोटाङ, २० कार्तिक ।

खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाले गरिबका लागि छानो कार्यक्रम लागु गरेको छ । आर्थिकरुपमा छानो हाल्न नसक्ने नगरबासीलाई लक्ष्यीत गर्दै नगरपालिकाले गरिबका लागि छानो कार्यक्रम लागु गरेको हो । छाना हाल्न नसक्दा चित्रा र प्लाष्टिकको छाना लगाएका परिवारलाई लक्ष्यीत गरेर नगरपालिकाले गरिबका लागि छानो कार्यक्रम थालेको रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए । रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाबाट गरिबलाई जस्ता दिन थालिएको कार्यक्रम क्रमशः नगरका १५ वडामा विस्तार गरिने मेयर रिजालले बताए ।
गरिबका लागि छानो अन्तरगत रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाबाट गरिबलाई जस्ता दिन थालिएको हो । नगरपालिकाका अनुशार दोर्पाचिउरीडाँडामा छानाका लागि जस्ता पाउने १५ घर परिवार छन् । आर्थिकरुपमा छानो हाल्न नसक्ने परिवारलाई छानेर जस्ता दिन थालिएको र निम्न आर्थिकस्तरका परिवारलाई पनि जस्ताको छानामुनि बसाउने नगरको लक्ष्य रहेको मेयर रिजाले प्रस्ट पारे ।
वडा कार्यालयले बनाएको मापदण्ड र निरिक्षणका आधारमा गरिब घर परिवार छनौट गरेर आवश्यक जस्ता प्रदान गर्ने व्यवस्था मिलाइएको छ । नगरपालिकाले असोज २५ र २६ गतेको नगरसभाले पारित गरेको नीति तथा कार्यक्रम अनुशार गरिबलाई जस्ता दिन थालेको हो । सुरुमा प्रमाण–पत्र सोही आधारमा जस्ता प्रदान गरिरहेको जनाइएको छ । वर्षाको समयमा चुहिने छानामुनि जीवन विताउन बाध्य घरपरिवारलाई घरको आकार अनुशार आवश्यक जस्ता प्रदान गर्ने गरिएको नगरपालिकाले जनाएको छ ।