पहिरोले तिवारीभञ्याङ मानेडाँडा अधेँरीघाट सडक अवरोध


भोजपुर, २८ साउन । वर्षातको कारण पहिरोले सडक भासिदा तिवारीभञ्याङ मानेडाँडा अधेँरीघाट सडक अवरोध बनेको छ । मध्येपहाडी लोकमार्गको भोजपुर–लेगुवा सडक खण्ड अन्तर्गत तिवारीभञ्याङबाट अधेँरीघाट छुट्ने शुन्य विन्दुमा सडक भासिएको कारण यातायात सञ्चालनमा समस्या भएको हो । मध्ये पहाडी लोकमार्गसहित अधेँरीघाट तर्फ छुट्ने स्थानमा करिब दुई सय मिटर सडक भासिएको पौवादुङमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । प्रवेशद्धारमा नै सडक भासिदा गाउँपालिकाबासीको दैनिकी कष्टकर बनेको उनको भनाइ छ । पहिरोको कारण सडक भासिदा रु. दुई करोड बढीको क्षति भएको उनले जानकारी दिए ।
‘‘सडक भासिदा यातायात सञ्चालनमा समस्या भएको छ’’प्रशासकीय अधिकृत भट्टराईले भने,‘‘अधेँरीघाट प्रवेश गर्ने मुख्य स्थानमा करिब दुई सय मिटर सडक भासिएको छ । सडक भासिदा यातयात सञ्चालनमा समस्यासँगै स्थानीयमा जोमिख बढेको अवस्था छ । पहिरोले यहाँ रु. दुई करोड बढीको क्षति भएको देखिन्छ ।’’ सरोकारवाला पक्षको उपस्थितिमा यहाँको स्थलगत अनुगमन गरेर क्षतिको विवरण सम्वन्धित निकाय पठाउने काम गरिएको प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए । तिवारीभञ्याङ मानेडाँडा अधेँरीघाट सडकमा क्षति भएको विषयमा कार्यकापालिका बैठक बसेर पुनः निर्माणको लागि केन्द्र र प्रदेश सरकारसँग बजेट माग गर्ने निर्णय गरिएको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । गाउँपालिका केन्द्र हुँदै अधेँरीघाट जोड्ने मुख्य सडक अवरोध भएकोले राज्यको पनि यसमा ध्यान जानु पर्ने अध्यक्ष राईको भनाइ छ ।

‘‘क्षतिको विषयमा राज्यलाई जानकारी गराएका छौँ’’अध्यक्ष राईले भने,‘‘यहाँको क्षतिलाई स्थानीय सरकारको बजेटले गर्न सक्ने अवस्था छैन । पहिरोको कारण सडक अवरोध स्थानीयको दैनिकी कष्टकर बन्दै गएको अवस्था छ ।यसमा राज्यले ध्यान दिन आवश्यक छ ।’’ सडक अवरोध हुँदा पौवादुङमा गाउँपालिकाका छ मध्ये पाँच ओटा वडामा यातायात सञ्चालनमा समस्या भएको उनको भनाइ छ । सडकको कारण यहाँकावडा नं २ तिवारीभञ्याङ, वडा नं ३ च्याङ्ग्रे, वडा नं ४ बास्तिम, वडा नं ५ सानोदुम्मा र वडा नं ६ ठुलोदुम्माका नागरिक प्रत्यक्ष मारमा परेको अध्यक्ष राईले जानकारी दिए ।

‘‘सडक अवरोध हुँदा गाउँपालिकाका अधिकांश क्षेत्रमा यातायात सेवामा समस्या भएको छ’’ अध्यक्ष राईले भने,‘‘पहिरो जाने क्रम जारी छ । यसले अझ बढी क्षति गर्ने अवस्था छ । यो सडकको लागि हालसम्म केन्द्र र प्रदेश सरकारबाट पनि कुनै सहयोग आएको अवस्था छैन ।’’ सडक भासिएको स्थानको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्थलगत अनुगमन गरेका छन् । यातायात सञ्चालनमा समस्या रहेकोले भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयमा सडक चाडो मर्मत गर्नको लागि जानकारीसमेत गराएका छन्।

सडक भासिएको ठाउँको भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेसहितको समूहले पनि स्थलगत अनुगमन गरेको छ । उक्त ठाउँमा थप क्षति हुनबाट बचाउनको लागि सडक डिभिजन कार्यालय तुम्लिङटार र पूर्वाधार विकास कार्यालय भोजपुरलाई आवश्यक पहल गर्न पत्राचार गरिएको गाउँपालिकाले जनाएको छ । तिवारीभञ्याङ मानेडाँडा अधेँरीबाट पञ्चकन्या कृषि सडकको दुरी करिव ३५ किलामिटर रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार