जनप्रतिनिधि नै ठेकेदार विकास योजना अलपत्र

डडेल्धुराको राजेन्द्र निर्माण सेवा प्रालिका सञ्चालक भीमबहादुर साउद अहिले परशुराम नगरपालिका प्रमुख छन् । स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधि बनेका साउदको वर्षौं अघिदेखिको पेसा ठेकेदारी हो ।

सुदूरपश्चिममा हुने विकास निर्माण आयोजनाको ठेक्का साउदको निर्माण कम्पनीले हतपती छुटाउँदैन । तर, कुनै पनि योजना समयमा पूरा हुँदैनन् ।

साउदकै कम्पनीले ठेक्का लिएको एउटा आयोजना हो, बाजुरा छेडेदह गाउँपालिका–१ को काँडा स्वास्थ्य चौकीको भवन । भवन निर्माण हुन सुरु भएको ६ वर्ष बितिसक्यो, अझै बनिसकेको छैन । साउदको राजेन्द्र निर्माण सेवा प्रालिले २८ भदौ २०६८ मा सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, डोटीसँग १५ महिनाभित्र ९२०६९ मंसिर मसान्तसम्म० निर्माण सक्ने गरी खरिद सम्झौता गरेको थियो । तर, चार पटकसम्म म्याद थप्दा पनि स्वास्थ्य चौकी भवन बन्न सकेको छैन ।

बाजुरा जिल्लाको साँफे–मार्तडी सडकखण्डको गुइगाड पुल तस्बिर स् निमेन्द्र शाही
भवन निर्माण तथा सहरी विकास विभाग, डोटीले ३० वैशाख २०७३ मा चौथोपटक म्याद थप ग¥योे । तोकिएको मितिमा निर्माण कार्य नसकेपछि सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, डोटीले निर्माण कार्य छिटो सम्पन्न गर्न राजेन्द्र निर्माण सेवा प्रालिलाई पटकपटक लिखित र मौखिक निर्देशन दियो । तर, उसले अझै वास्ता गरेको छैन । डिभिजन कार्यालय डोटीका डिभिजन प्रमुख झप्परसिंह विश्वकर्माले साउदलाई २ भदौ २०७४ मा लेखेको पत्रमा भनिएको छ, ‘अन्यथा कालोसूचीमा राख्ने प्रक्रिया सुरु गरिनेछ ।’

स्वास्थ्य चौकी भवन निर्माण नहुँदा स्थानीय बासिन्दा स्वास्थ्य सेवा पाउनबाट वञ्चित छन् । काँडा स्वास्थ्य चौकीका इन्चार्ज रामचन्द्र यादवले निर्माणको जिम्मा लिएपछि ठेकेदारलाई आफूले नदेखेको बताए । यादवले भने, ‘स्वास्थ्य चौकी नबन्दा जनतालाई उपचार गर्न कठिनाइ भइरहेको छ ।’ अनमी मनदेवी बुढाले भनिन्, ‘स्वास्थ्य चौकी निर्माण नहुँदा महिलालाई निकै दुःख छ , खासगरी गर्भ जाँच र परिवार नियोजनको सल्लाह लिन आउन समस्या छ । अहिले हामी सुत्केरीलाई खुला चौरमा राखेर प्रसूति सेवा दिइरहेका छौं ।’

छेडेदह गाउँपालिका–१ काँडाका वडा अध्यक्ष वीरबहादुर रावलले स्वास्थ्य चौकीसमेत नबनाउने व्यक्ति नगरपालिका प्रमुख भएकोमा असन्तुष्टि पोखे । उनले भने, ‘ठेकेदार आफू त मेयर भए, तर हाम्रो वडाको स्वास्थ्य चौकी बनाउलान् भन्ने आस छैन ।’

भवन तथा सहकारी डिभिजन कार्यालय, दिपायलको आर्थिक सहयोगमा झन्डै १ करोड ६५ लाख रुपैयाँको लगानीमा काँडा स्वास्थ्य चौकी निर्माण गर्न लागिएको हो । २२ मंसिर २०७४ मा भएको सार्वजनिक सुनुवाइमा पनि स्थानीयले यो भवन निर्माण हुन नसक्नुको कारण बताउन वडा कार्यालयलाई दबाब दिएका थिए ।

प्रमुखको ठेकेदारी
बाजुराको बूढीनन्दा नगरपालिका प्रमुख पदमकुमार गिरी आशिष निर्माण सेवा प्रालिका सञ्चालक हुन् । जनप्रतिनिधि बनेपछि पनि उनले ठेकेदारीको काम गर्न छोडेका छैनन् । नपा प्रमुख गिरीको निर्माण सेवा प्रालिले अहिले बाजुरामा मात्र आठवटा ठेक्काको काम गरिरहेको छ ।

गिरी आफू प्रमुख भएपछि अरू ठेकेदार कम्पनीको नामबाट काम गर्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराको भवन निर्माणको काम अहिले गिरीकै कम्पनीका उपकरणहरू प्रयोग गरेर भइरहेको छ । तर, त्यो ठेक्का जालपा निर्माण सेवाको नाममा छ । यस्तै, भारतको सहयोगमा बन्दै गरेको कोल्टीस्थित जनप्रकाश उच्च माविको भवन, जडांगा, ब्रह्मतोला, आटीचौर र जगन्नाथका स्वास्थ्य चौकीको भवन निर्माणको काम भइरहेको छ ।यसमा पनि प्रमुख गिरीको कम्पनीका उपकरण र जनशक्ति प्रयोग गरिएको छ । तर, ठेक्का भने जालपा निर्माण सेवाको नाममा छ ।
गिरी जिल्लाका निर्माण कार्यमा आफ्ना उपकरण र जनशक्ति प्रयोग भएको स्वीकार गर्छन् । ‘भइरहेका निर्माण कार्यमा मेरा उपकरण र जनशक्ति प्रयोग भइरहेका छन्,’ गिरीले भने, ‘तर मेरो फर्मको नाममा ठेक्का सम्झौता छैन ।’

अलपत्र सिँचाइ योजना
डोटीको गैरागाउँ पूर्वीचौकी गाउँपालिका–३ का वडा अध्यक्ष अमरबहादुर चेयडा चन्द्रलक्ष्मी निर्माण सेवा प्रालिका सञ्चालक हुन् । उनको कम्पनीले निर्माण गर्ने जिम्मा लिएको चिण्डीगाड सिँचाइ योजना अहिले अलपत्र छ । २०७३ असारमा एक वर्षभित्रमा सक्ने गरी सिँचाइ डिभिजन कार्यालय, डोटीसँग सम्झौता भएको थियो । तोकिएको समयमा निर्माण कार्य नसकेपछि सात महिना म्याद थपिएको सिँचाइ डिभिजन कार्यालय, डोटीका इन्जिनियर ललित मालीले जानकारी दिए । मालीले भने, ‘विभिन्न बहाना बनाएर ठेकेदारहरूले म्याद थपेको थपेकै गर्छन् ।’
थपिएको म्याद पनि २०७४ पुस मसान्तमा सकिँदै छ । चन्द्रलक्ष्मी निर्माण सेवाका सञ्चालक चेयडाले गाउँमा कामदार नपाइएकाले निर्माण कार्य ढिलो भएको बताए । ‘गाउँमा कामदार नै पाइँदैन,’ चेयडाले भने, ‘स्थानीयलाई सबै कुरा बताएर र पारदर्शी रूपमा गर्नुपर्ने भएकाले प्रक्रिया लम्बिरहेको छ ।’

३० ठेकेदार जनप्रतिनिधि
प्रदेश ७ का ९ वटा जिल्लामा स्थानीय तह निर्वाचनबाट ३० ठेकेदार जनप्रतिनिधिका रूपमा निर्वाचित भएका छन् । निर्माण व्यवसायी संघ, क्षेत्रीय कार्यालय धनगढीको अभिलेखअनुसार प्रदेश ७ का सबै जिल्लाका कुनै न कुनै स्थानीय तहमा ठेकेदार जनप्रतिनिधि छन् ।
कैलालीमा एक जना ठेकेदार वडा अध्यक्ष र दुई जना वडा सदस्य छन् । कञ्चनपुरमा तीन जना ठेकेदार वडा अध्यक्ष र एक जना वडा सदस्य भएका छन् । बझाङमा एक जना ठेकेदार गाउँपालिका अध्यक्ष, पाँच जना वडा अध्यक्ष र एक जना वडा सदस्य गरी जम्मा सात जना निर्वाचित भएका छन् । डोटीमा एक जना गाउँपालिका उपाध्यक्ष, चार जना वडा अध्यक्ष र एक जना वडा सदस्य गरी ६ जना ठेकेदार जनप्रतिनिधिका रूपमा छन् ।
बाजुरामा पाँच जना ठेकेदारमध्ये तीन जना गाउँपालिका प्रमुख छन् भने दुई जना वडा अध्यक्ष छन् । बैतडीमा एक जना वडा अध्यक्ष ठेकेदार छन् । दार्चुलामा एक जना प्रमुख र दुई जना वडा अध्यक्ष ठेकेदार छन् । डडेल्धुरामा सात जना ठेकेदार जनप्रतिनिधि छन् । जसमध्ये दुई जना गाउँपालिका अध्यक्ष, दुई जना वडा अध्यक्ष, तीन जना सदस्यका रूपमा निर्वाचित छन् । अछाममा जिल्ला समन्वय समितिका प्रमुख र एक जना वडा सदस्य गरी दुई जना ठेकेदारहरू निर्वाचित भएका छन् । साभार राजधानी दैनिक