भोजपुरमा पशुको कृत्रिम गर्भाधान सेवा शुरु


भोजपुर, २६ भदौ । भोजपुरमा पशुचौपायाको कृत्रिम गर्भाधान (फार्टिलाइजेसन) सेवा शुरु गरिएको छ । नश्ल सुधार गरेर पशुलापनमा सम्लग्न किसानको आयआर्जनमा बृद्धि गर्ने लक्ष्यले यो सेवा शुरु गरिएको हो । यहाँका धेरै किसानहरु पशुपालनमा लागेका भएपनि गाई,भैँसीको नश्ल राम्रो नहुँदा सोचे जस्तो आम्दानी लिन सकिरहेका छैनन् । पशुको नश्ल सुधार गरेर मासु तथा दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले भोजपुर नगरपालिकामा पहिलो पटक कृत्रिम गर्भाधान सेवाको सुरुआत गरेको भोजपुर नगरपालिका भेटेनरी शाखाका प्रमुख सन्तोष कटुवालले जानकारी दिए ।

पशुहरूको वंशाणु विकास गरेर पशुपालक किसानलाई थप लाभान्वित बनाउन नगरपालिकाको अनुदान सहयोगमा गाईभैँसीमा कृत्रिम गर्भाधान गर्न सुरु गरिएको प्रमुख कटुवालले बताए । आइतबारदेखि भोजपुर नगरपालिकामा निःशुल्क कृत्रिम गर्भाधान गर्न सुरु गरिएको हो । पशु सेवा कार्यालयमा आउने किसानका गाई भैँसीलाई निःशुल्क कृत्रिम गर्भाधान गर्ने जनाइएको छ । तर किसानको गोठमा पुगेर गर्नु पर्ने अवस्थामा भने सामान्य यातायत खर्च लाग्ने कृषि शाखाले जनाएको छ ।

जिल्लाका अन्य आठ स्थानीय तहमा पनि यसै बर्षदेखि कृत्रिम गर्भाधान (एआइ) सेवा सञ्चालन गरिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सम्पर्क कार्यालय भोजपुरका प्रमुख सुन्दरलाल यादवले बताए । तरल नाइट्रोजन १९६ डिग्रीसेलसियसको चिसोपनमा राँगा, साँढेको बीउलाई लामो समयसम्म सुरक्षित राख्ने गरिन्छ । गाईभैँसीमा कृत्रिम गर्भाधान गरादा उत्पादन वृद्धि तथा विकास हुने जनाइएको छ । यसबाट उन्नत जातका पशु उत्पादन हुने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र संखुवासभा/भोजपुरका प्रमुख हिमालयन पोखरेलले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार