नेपाल राष्ट्रिय शिक्षक संगठन भोजपुरद्धारा शिक्षा सम्वन्धि ६४ बुँदे अवधारणा पत्र सार्वजनिक


भोजपुर, २४ भदौ । भोजपुरको शैक्षिक सुधारको लागि ६४ बुँदे शिक्षा सम्वन्धि अवधारणा पत्र सार्वजनिक गरिएको छ । सामुदायिक विद्यालयको खस्किदो शैक्षिक गुणस्तरलाई सुधारको लागि नेपाल राष्ट्रिय शिक्षक संगठन भोजपुरले अवधारणा पत्र सार्वजनिक गरेको हो । अवधारणा पत्रमा शिक्षा क्षेत्रका समस्या र त्यसको सुधारका लागि गर्नु पर्ने कामलाई समेटिएको छ । संगठनले तयार गरेको यो अवधारणा पत्रलाई यहाँका नौ ओटै स्थानीय तहमा कार्यान्वयनको लागि बुझाउने नेपाल राष्ट्रिय शिक्षक संगठन भोजपुरका अध्यक्ष ध्रुवराज रेग्मीले जानकारी दिए । शिक्षाको गुणस्तर खस्कनुमा शिक्षकलाई मात्र दोषि देखाएर राज्य पञ्छिन खोजेकाले राज्यको ध्यानाकर्षण गराउन तथा यहाँका समस्यालाई समाधान गराउने उद्धेश्यले अवधारणा पत्र सार्वजनिक गरेको उनको भनाइ छ ।

‘‘शिक्षा क्षेत्रमा रहेका समस्यालाई ध्यानमा राख्दै यो अवधारणा पत्र सार्वजनिक गरेका छौँ’’ अध्यक्ष रेग्मीले भने ‘‘ शिक्षक संगठनहरुको तर्फबाट सार्वजनिक गरिएको यो अवधारणा पत्र देशमा नै पहिलो हो । यसमा हामीले शिक्षा क्षेत्रका समस्या, शिक्षक तथा राज्यले निर्वाह गर्नु पर्ने भूमिकाको विषयमा उठान गरेका छौँ । यसको कार्यान्वयनको लागि स्थानीय तहसँगै केन्द्र र प्रदेश सरकारलाईसमेत बुझाउने योजना छ ।’’
राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा भोजपुरको चखेवामा आयोजना गरिएको कार्यक्रममा अवधारणा सार्वजनिक गरिएको हो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि तयार गरिएको अवधारणा पत्र कार्यन्वयनमा जोड दिनुपर्ने बताए । राज्यको तहबाट यसलाई कार्यान्वयन गराउने हो भने शिक्षा क्षेत्रका अधिकांश समस्या समधान हुने उनीहरुको भनाइ छ । एमाले जिल्ला कमिटी उपाध्यक्ष मक्कर खड्काले आगामी निर्वाचनमा शिक्षा क्षेत्रका समस्यालाई घोषणा पत्रमा समेटेर लैजान पहल गर्ने बताए । शिक्षा क्षेत्रका समस्या समाधान लागि पार्टीले शिक्षकहरुसँग छलफल तथा परामर्श गर्ने योजना रहेकोसमेत सुनाए । ‘‘अवधारणा पत्रमा उल्लेख भएका विषयवस्तुहरु उत्कृष्ट छन्’’ उपाध्यक्ष खड्काले भने‘‘यसको कार्यान्वयन तथा नीति निर्माणमा पार्टीले भूमिका खेल्छ । पार्टीले घोषणा पत्र तयार गर्न सुझाव माग गरेको छ । यसलाई पार्टीको घोषणा पत्रमा समेटेर लैजानेमा भूमिका खेल्छौ ।’’

नेपाल शिक्षक महासंघ भोजपुरका अध्यक्ष तीर्थ कुमार राईले राज्यले शिक्षक तथा शिक्षा क्षेत्रलाई उपेक्षा गरेको बताए । राज्यले शिक्षा क्षेत्रमा बजेट विनियोजन गर्दासमेत कम प्राथमिकतामा राख्ने गरेको धारणा राखे । राज्यले शिक्षामा लगानी बढाउनु पर्ने उनको भनाइ छ । ‘‘राज्यले शिक्षक तथा शिक्षा क्षेत्रलाई उपेक्षा गरेको छ’’ अध्यक्ष राईले भने,‘‘जहाँ गुरु वर्गको सम्मान हुदैन, त्यस्तो अवस्थामा कसरी सभ्यसमाज निर्माण हुन्छ । राज्यले यो क्षेत्रमा प्राथमिकताका साथ बजेट विनियोजन गर्न आवश्यक छ ।’’

 राष्ट्रिय समिति सदस्य यदुकुमारी सुवालको प्रमुख आथित्यतामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन प्रदेश १ महिला उपाध्यक्ष सरिता तामाङ, संगठनका पूर्व अध्यक्षहरु राजधन राई, प्रकाशचन्द खतिवडा, पत्रकार महासंघ भोजपुरका अध्यक्ष एक्सन राई लगाएतले आफ्नो धारणा राखेका थिए । अवधारणा पत्र संगठनका सचिव विष्णुकुमार राईले प्रस्तुत गरेका थिए ।

कार्यक्रमको अवसरमा बढुवा भएका चार शिक्षकलाई सम्मानलाई गरिएको छ । बढुवा भएका ध्रुवराज रेग्मी, तीर्थ कुमार राई, राजधन राई र सरिता तामाङलाई सम्मान गरिएको हो । संगठनको तर्फबाट स्वास्थ्य उपचारका लागि संगठनका पूर्व अध्यक्ष प्रकाशचन्द्र खतिवडालाई २५ हजार आर्थिक गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार