भोजपुरमा चार ओटा चोरीका मोटरसाइकलसहित सात जना पक्राउ


भोजपुर, २२ साउन । जिल्ला प्रहरी कार्यालय भोजपुरले मोटरसाइकल चोरीमा संलग्न सात जनालाई सार्वजनिक गरेको छ । जिल्लाबाट हराएका चार ओटा मोटरसाइकलसहित उनीहरुलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो । रातको समयमा पार्किङ गरेको ठाउँबाट चोरी गरेर बाहिरका जिल्लामा लैजाने गिरोहलाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।

प्रहरीले गत असार १० गते भोजपुरको पौवादुङमा गाउँपालिका श्यामशिलाका राजेन्द्र तामाङको चोरी भएको मोटरसाइकलसहित खादवारी नगरपालिका १० बस्ने २६ वर्षीय निराजन गौतम र २५ वर्षीय टिकाराम तिवारीलाई पक्राउ गरेको हो । असार २३ गते अरुण गाउँपालिकाबाट हराएको फत्तसिं राईको मोटरसाइकलसहित संखुवासभाको पाँचखपन नगरपालिका -२ का २३ वर्षीय रविकिरण राईलाई पक्राउ गरेको हो । त्यस्तै जेष्ठ ८ गते भोजपुरको देउरालीबाट स्थानीय बालम राईको चोरी भएको मोटरसाइकलसहित संखुवासभाको खाँदबारी नगरपालिका -७ बस्ने २५ वर्षीय मौसम तामाङ र सभापोखरी गाउँपालिका -३ का २८ वर्षीय उपेन्द्र तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

त्यस्तैगरी भोजपुर बजारमा पाकिङ गरेको ठाउँबाट गिरेन्द्र खड्काको मोटरसाइकल चोरी गर्ने खाँदबारी नगरपालिका १ का ४० वर्षीय रोहितमान राईलाई प्रहरीले सार्वजनिक गरेको छ । उनीहरुले संखुवासभाका दुर्गम ठाउँमा लगेर नम्बर प्लेट तथा पूर्जाहरु परिवर्तन गरेर मोटरसाइकल चलाएको पाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख राजकुमार राईले जानकारी दिए । चोरीका मोटरसाइलहरु रु. २५ हजारदेखी रु.७० हजारसम्ममा विक्री गरेको पाइएको उनको भनाइ छ ।

प्रहरीले मोटरसाइल किन्ने तथा पूर्जाहरु परिवर्तनमा सहयोग गर्ने ग्यारेजवालालाईसमेत नियन्त्रणमा लिएको हो । चोरीको योजना बनाउने मुख्य योजनकार बम बहादुर न्यौपानेलाई इटहरीबाट पक्राउ गरी भोजपुर ल्याउने तयारी भईरहेको प्रमुख राईको भनाइ छ ।

प्रमुख राईले भने,‘ केहि समय अघिबाट यहाँ मोटरसाइल चोरीको आतङ्क नै बढेको थियो । प्रहरीले यसको सुक्ष्म ढंगले अनुुसन्धान गरेर पक्राउ गर्न सफल भएको छ । केहिलाई नियन्त्रणमा लिएका छौँ । उनीहरुको बयानको आधार यसमा संलग्न अरुको पनि खोजी गछौँ ।’ पक्राउ परेका मध्ये कतिपय यस अघि पनि मोटरसाइकल चोरीमा पक्राउ परिसकेका पनि रहेको प्रमुख राईको भनाइ छ । उनीहरुले रातको समय प्रहरीको आँखा छल्नको लागि चोरबाटोको प्रयोग गरेको पाईएको प्रहरीको भनाइ छ ।

इलाका प्रहरी कार्यालय तिवाभञ्याङका इन्स्पेस्टर अर्जुन कुमार अधिकारी नेतृत्वको प्रहरी समूहले उनीहरुलाई संखुसभाबाट नियन्त्रमा लिएको हो । खास गरेर प्रहरीलाई आएको गोप्य सूचनाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको अधिकारीले बताए । निवेदकले दिएको सूचनाको आधारमा खोजी गर्दा यसअघि विभिनन ठाउँबाट हराएका मोटरसाइकलसमेत बरामत भएको उनको भनाइ छ । इन्पेक्टर अधिकारीले भने,‘ निकै ठुलो मेहनतपछि यहाँबाट हराएको मोटरसाइकल फेला पार्न सफल भएका छौँ । चोरी गरेर संखुवासभाका दुर्गम भेगमा पु¥याएकोले त्यहासम्म पुग्न निकै समस्या झेल्नु पर्यो ।

उनीहरुलाई चोरी मुद्धामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको प्रहरीको भनाइ छ । त्यस्तै प्रहरीले यो आर्थिक वर्षमा मुद्धामा १२ प्रतिशतले कमि ल्याएको छ । प्रहरीले ६१४ रोपनीमा लगाएको तथा आफै उम्रेको लागुऔषध गाँजा नश्ट गरेको छ । विभिन्न मुद्धामा जिल्ला अदालतबाट कैद फैसला भएर फरार रहेका ८ जनालाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । प्रहरीले तीन ठाउँमा प्रहरी चौकी निर्माणका लागि प्रहरीको नाममा जग्गा पास गर्न सफल भएको जनाइएको छ । त्यस्तै जरीवाना बापत रु. १८ लाख राजस्व संकलन गर्न सफल भएको देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार