भोजपुर प्रहरीद्धारा जग्गादाता संगै पौवादुङमा गाउँपालिकालाई सम्मान


भोजपुर, १८ साउन । जिल्ला प्रहरी कार्यालय भोजपुरले जग्गादाता र पौवादुङमा गाउँपालिकालाई सम्मान गरेको छ । प्रहरी चौकी च्याङग्रेको लागि निःशुल्क जग्गा प्रदान गर्ने खड्गराज शाक्य र जग्गा प्राप्तिमा भूमिका खेल्ने पौवादुङमा गाउँपालिकालाई प्रहरी कार्यालयले सम्मान गरेको हो ।

निःशुल्क जग्गा उपलव्ध गराई प्रहरीलाई सहयोग गरेकाले सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख राजकुमार राईले बताए । प्रमुख राईले भने ‘जग्गा नहुँदा प्रहरी चौकी निर्माणमा समस्या भएको थियो । उहाँहरुको सहयोगमा चौकीको नाममा तीन रोपानी जग्गा प्राप्त भएको छ । जग्गा दिनु हुने खड्गराज शाक्य लगाएत उहाँको परिवारलाई विशेष धन्यवाद सहित सम्मान गरेका छौँ।’

गाउँपालिकाको विशेष पहलमा जग्गा प्राप्त गर्न सफल भएको प्रमुख राईको भनाइ छ । जग्गा प्रदान गर्नका लागि पहल गरेकोमा गाउँपालिका अध्यक्ष किरण राईसहित सम्पूर्ण टिमलाई प्रमुख राईले धन्यवाद ज्ञापन गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयले गरेको सम्मान कार्यक्रम प्रसंशायोग्य रहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । यस्ता कार्यक्रमले जग्गा दाता तथा कर्मचारीहरुमा काम गर्न थप हौसला मिल्ने अध्यक्ष राईले धारणा राखे ।

अध्यक्ष राईले भने ‘जिल्ला प्रहरी कार्यालय तथा गाउँपालिकाको पहलमा प्रहरी चौकीको नाममा जग्गा प्राप्त गर्न सफल भएका छौँ । अव प्रहरी चौकी भवन निर्माण गाउँपालिकाले पनि पहल गर्ने छ । उहाँहरु जस्तै रंगशाला, स्वास्थ्य चौकी, वडा कार्यालय लगाएत विभिन्न कार्यालयहरु निर्माणमा निःशुल्क जग्गा दान गर्नु हुने सम्पूर्ण ब्यक्तिहरुलाई यो अवसरमा सम्झन चाहन्छु ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार