कुपोषणलाई शुन्यमा झार्न पौवादुङमामा पोषण विशेष कार्यक्रम


भोजपुर, २९ असार । भोजपुरको पौवादुङमा गाउँपालिकाकाले कुपोषणरहित अभियान थालेको छ । नवजात शिशु तथा बालबालिकाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै पोषण विषेश कार्यक्रम शुरु गरेको हो । वालबालिकाको शारिरिक तथा मानसिक विकासका लागि अभियानको रुपमा कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । यो कार्यक्रम अन्तर्गत बच्चा जन्मिएदेखिको स्वास्थ्य अवस्था, तौल, खानपिन लगाएतको विषयमा तथ्याङ्क राख्ने र उनीहरुमा कुनै कारण स्वास्थ्यमा समस्या देखा परेमा गाउँपालिकाले नै स्वास्थ्य उपचारको व्यवस्था गर्ने जनाइएको छ ।

बच्चाको स्वास्थ्य अवस्थाको बारेमा आमालाई आवश्यक तालिम दिएर तथ्याङ्क राख्न आवश्यक उपकरण वितरण गर्ने गाउँपालिकाले जनाएको छ । आमाले राखेको तथ्याङ्कको आधारमा आवश्यक पोषण तथा स्वास्थ्य उपचारको व्यवस्था गाउँपालिकाले गर्नेछ । बालबालिकाको मानशिक स्वास्थ्य बृद्धि अनुगमन र पोषणा लेखाजोखा गरिने स्वास्थ्य शाखा प्रमुख गेहेन्द्रकुमार उपाध्यायले जानकारी दिए । प्रदेश १ बाट यो गाउँपालिका छनौट भएकाले पाइलोट प्रोग्रामको रुपमा यो कार्यक्रम सञ्चालन गरिएको उनले बताए । यसबाट आएको उपलब्धि सकारात्मक भएमा प्रदेश १ का अन्य स्थानीय तहमा पनि सञ्चालन हुने उपाध्यायको भनाइ छ ।

प्रमुख उपाध्यायले भने,‘‘प्रदेश १ मा पहिलो चरणमा छनौट भएका पाँच ओटा स्थानीय तह मध्ये हाम्रो गाउँपालिका पनि एक हो । यहाँ पाइलोट प्रोगाम (परिक्षण जस्तो) को रुपमा सञ्चालन गरिएको हो । यो कार्यक्रम सफल भयो भने यो प्रदेशका १३७ ओटै स्थानीय तहमा लागू गर्ने सरकारको नीति छ । यसलाई पूर्णरुपमा सफल बनाउन लागि परेका छौँ । बालवालिका तथा सुत्केरी एवं गर्भवती महिलाको स्वास्थ्यमा आएको सकारात्मक परिवर्तनको उपलब्धिलाई आधार मानेर अरु स्थानीय तहमा पनि लागू हुन्छ । बालबालिकाको स्वास्थ्य अवस्थाको नापजाँचको लागि आवश्यक उपकरण पनि दिन्छौँ । कसरी बच्चाको अवस्थाको विश्लेषण गर्ने भन्ने पनि आमालाई नै सिकाउछौँ । उहाँहरुले राखेको तथ्याङ्को आधारमा आवश्यक काम गछौँ । ’’

बालबालिकाको स्वास्थ्यलाई विषेश ध्यानमा राख्दै प्रदेशसरकारको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । बच्चा जन्मिएपछि उसको बृद्धि विकास कसरी भइरहेको छ भन्ने विषयमा यो कार्यक्रमले मुख्य ध्यान दिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नविन भट्टराईले जानकारी दिए । कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गराउन यहाँका सबै वडाका स्वास्थ्य स्वयम सेविका, आमा समूह, महिला समूहहरुबाट सुझाव संकलन गरेर काम गरिरहेको भट्टराईको भनाइ छ ।

प्रमुख प्रशासकिय अधिकृत भट्टराईले भने,‘‘ कार्यक्रमको मुख्य उदेश्य समाजमा हुने कुपोषणलाई हटाएर स्वस्थ्य नागरिक उत्पादन गर्ने हो । यो कार्यक्रमले बालबालिकामा हुने कुपोषण नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्छ । बालवालिकालाई स्वास्थ्य र मानशिक रुपमा सक्षम बनाउन सहयोग पुग्छ । शिशु जन्मपछि उसको तौल, मोटाई लगाएत उसको बृद्धि विकासको रेकर्ड राख्छौँ । त्यो रेकर्डको आधारमा बच्चाको स्वास्थ्य अवस्था हेछौँ । यदि उसको बृद्धि विकासमा कुनै असर पुगेको रहेछ भने अस्पतालमा लगेर उपचारको व्यवस्था मिलाउछौँ । जसको लागि तीन÷तीन वडालाई समेट्ने गरि स्वास्थ्य संस्था पनि तोकेका छौँ ।’

गाउँपालिकाका बालबालिकालाई प्रर्याप्त पोषणको व्यवस्था गरेर कुपोषणलाई शुन्यमा झार्ने लक्ष्यले कामको थालनी गरेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । नागरिकलाई सहज स्वास्थ्य सेवाको लागि गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा योजनाबद्ध विकास गरिरहेको उनको भनाइ छ । स्थानीयलाई सहज रुपमा सेवा प्रदान गर्न नीति तथा कार्यक्रम नै बनाएको अध्यक्ष राईले जानकारी दिए । अध्यक्ष राईले भने,‘‘ पोषण भनेको बालबालिकासँगै मानिसहको लागि अपरिहार्य बस्तु हो । स्वस्थ नागरिक उत्पादन गर्न हामीले पोषणमा ध्यान दिन आवश्यक छ । त्यहि भएर हामीले कुपोषणरहित गाउँपालिका बनाउने अभियान थालेका छौँ ।’’

वालबच्चाले पोषणयुक्त दूध खान पाउन भन्नको लागि किसानलाई भैंसी वितरण कार्यक्रम, कुखुरा तथा अण्डा उत्पादनको क्षेत्रमा व्यवसाय गरिरहेकाहरुलाई आर्थिक सहयोगसमेत गरिरहेको अध्यक्ष राईको भनाइ छ । उत्पादन भएको दूध गाउँपालिकाको आवश्यकतालाई पुरा गरेर सदरमुकाम लगाएत ठाउँमा जाने गरेको राईले बताए । त्यस्तै गर्भवती तथा सुत्केरीलाई गाउँपालिकाले वितरण गर्ने अण्डासमेत आफ्नै गाउँपालिकामा उत्पादन भइरहेको उनको भनाइ छ ।

अध्यक्ष राईले भने,‘‘वालबच्चा तथा बृद्धबृद्धाहरुमा पोषणको कमि नहोस् भन्नको लागि हामीले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ । वालबालिकालाई पोषणयुक्त बस्तुको आवश्यकता पर्छ । खास गरेर दूधमा त्यस्तो तत्व पाइन्छ । दूधको अभावमा कतिपय खण्डमा पाउडर दूध खुवाउनु पर्ने अवस्था पनि आउन सक्छ । दूधमा आत्मानिर्भर बनाउने गरी काम थालेका छौँ । यसले पनि पोषणको हाम्रो अभियानमा सहयोग पुगेको छ । हामीले गर्भवती महिला र बच्चाको स्वास्थ्यमा ध्यान दिदै प्रत्येक पटक गर्भ जाँच गराउदा एक क्यारेट अण्डा दिन्छौँ । त्यो पनि हाम्रो गाउँपालिकाको उत्पादन हो । जसले व्यवासायीलाई पनि सहयोग पुगेको छ ।’’

हालसञ्चालन भइरहेको पोषणको कार्यक्रमले बालवालिकाको स्वास्थ्य क्षेत्रमा निकै ठुलो योगदान पुग्ने उनको भनाइ छ । यो कार्यक्रमलाई नमूना कार्यक्रमको रुपमा सञ्चालन गरेर सफल बनाउने अध्यक्ष राईले जानकारी दिए । अध्यक्ष राईले भने, ‘हामीले स्वास्थ्यको क्षेत्रमा गरेका कामहरुले जनताले प्रत्यक्ष लाभ लिदै आएका छन् । हाम्रो गाउँपालिका कार्यसम्पादनमा प्रदेश १ मा पहिलो बनेपछि अहिले यो कार्यक्रम हाम्रो गाउँपालिकामा आएको छ । यसलाई पूर्णरुपमा सफल बनाउन गाउँपालिकाले भूमिका खेल्छ ।’’

महिलाहरुको हक अधिकार, स्वास्थ्य, सुविधा तथा क्षमता विकास क्षेत्रमा गाउँपालिकाले चरणवद्ध रुपमा काम गरिरहेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताईन । बालबालिका तथा महिलाको समस्याको विषयमा सरोकारवाला पक्षको सल्लाह अनुसार काम गरिरहेको उपाध्यक्ष राईको भनाइ छ । खास गरेर समुदायस्तरमा पुगेर उनिहरुको समस्या तथा उनीहरुले दिएको सुझावको पोषण तथा महिलाको क्षेत्रमा काम गरिरहेको उनको भनाई छ । आफ्नो संयोजकत्वमा गाउँपालिका स्तरिय महिला विकास वोर्ड गठन गरेर सबैलाई समेटर कामको थालनी गरेको राईले बताईन ।

उपाध्यक्ष राईले भनिन् ,‘ मैले गाउँपालिकाको समग्र विकाससँगै महिलाको क्षेत्रमा खेल्नु पर्ने भूमिका तथा हामीले कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा अगुवाई गरिरहेको छु । यहाँ सञ्चालन हुने विकास निर्माण लगाएत कुराहरुमा महिलाहरुले पहिलो भूमिका खेल्न आवश्यक छ । अब तपाई हामी जागरुक भएर अघि बढ्न आवश्यक छ । महिला स्वास्थ्यको क्षेत्रमा हामी काम गछौँ ।’’

पोवादुङमा ५ का वडाध्यक्ष बोमप्रसाद राईले आफ्नो वडाका नागरिकको स्वास्थ्यको विषयमा वडा कार्यालयले भूमिका खेलिरहेको बताए । गाउँपालिकामा सञ्चालन भईरहेको पोषणको कार्यक्रमलाई सफल बनाउन स्थानीयबाट आएका सुझावलाई गाउँपालिका सम्म पु¥याएर पहल गरिरहेको जानकारी दिए । वडाध्यक्ष राईले भने,‘‘ हाम्रो गाउँपालिकाको सबै सम्यन्त्र यो कार्यक्रमलाई सफल रुपमा सम्पन्न गराउन जुटेका छौँ । खास गरेर तल्लो तहका स्थानीयले उठाएका समस्याको खोजीमा हामी जुटेका छौँ ।

कार्यक्रमलाई प्रभवाकारी रुपमा सञ्चालनका विषयमा महिला स्वयम सेविका, महिला समूह तथा आमा समूहले आवश्यक सुझाव दिएका छन् । उनीहरुले गाउँपालिकाले थालेको पोषणको कार्यक्रम प्रभावकारी रहेको धारणा राखेका छन् । स्वस्थ्य स्वयम सेविका चेली राईले पोषणको कार्यक्रम स्थानीयको आवश्यता अनुसारको रहेको बताए । आमाले नै बच्चाको हेरचाहमा बढी ध्यान दिनु पर्ने भएकाले उनिहरुलाई सहज हुने गरी सचेनताको कार्यक्रम सञ्चालन गर्नु पर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार