पौवादुङमा गाउँपालिका दोश्रो गाउँसभा सम्पन्न, पुँजीगत तर्फ ३७ दशमलव ३६ प्रतिशत बजेट विनियोजन


भोजपुर, १० असार । भोजपुरको पौवादुङमा गाउँपालिकाको दोश्रो गाउँसभा तथा प्रथम अधिबेशन सम्पन्न भएको छ ।‘खानेपानी, सडक, विद्युत्, कृषि, पर्यटन, सञ्चार, खेलकुद, स्वास्थ्य, शान्ति सुरक्षा र शिक्षा पौवादुङमाबासीहरुलाई उपलब्ध गराउने गाउँपालिकाको इच्छा’ भन्ने मुल नाराका साथ गाउँसभा सम्पन्न भएको हो ।

गाउँसभा मार्फत खानेपानीलाई पहिलो प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । गाउँसभाले तयार गरिएका नीति तथा कार्यक्रम कार्यन्वयन गर्न जम्मा ४१ करोड दुई लाख ७६ हजार १० रुपैयाँको बजेट निर्माण गरेको छ । चालु तर्फ शिक्षा, स्वास्थ्य कृषिसमेतको २५ करोड ५८ लाख ७६ हजार र पुँजीगत तर्फ १५ करोड ४४ लाख रुपैयाँ खर्च हुने अनमान गरिएको कार्यक्रमहरुको सार्वजनिक गर्दै उपाध्यक्ष ज्योत्सना राईले जानकारी दिइन् । जसमा पुँजीगत तर्फ ३७ दशमलव ६४ र चालु तर्फ ६२ दशमलव ३६ प्रतिशत बजेट विनियोजन भएको छ ।

बजेटमा खानेपानी पहिलो र सडक विस्तारलाई दोश्रो प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष किरण राईले जनताको भावना र चाहना समेट्ने गरी बजेट निर्माण गरिएको जानकारी दिए । नीतिमा प्रत्येक घरमा मिटरसहितको एक घर एक धारा जडान गर्ने, तिवारीभञ्याङ– अधेँरीघाट पञ्चकञ्या सडकलाई पालिका केन्द्र च्याङग्रे सम्म अवको दुई वर्ष भित्रमा कालोपत्रे गर्ने गरी काम गर्ने, आधारभूत तहमा पौवादुङमाको गौरव, सस्कृति, सभ्यता, मुल्य मान्यता र एकताको सम्बद्र्धन एक स्वास्थ्य तथा नैतिक जीवनशैली जस्ता विषय समावेश गरी स्थानीय पाठ्क्रम निर्माण गरी कार्यन्वनमा ल्याउने नीति लिएको छ ।

एक गाउँ एक उत्पादन कार्यक्रमलाई निरन्तरता दिईने, सामुहिक कृषि गर्ने र बाँझो रहेका जमिनहरुमा ठुला कृषि फर्महरु सञ्चालन गरी राम्रो गर्ने फर्म वा कृषकहरुलाई प्रोत्साहन गर्ने, जमिनको उत्पादकत्व र भूमिको प्रकारको आधारमा विभिन्न वडाहरुमा कृषि पकेट क्षेत्रका कार्यक्रम सञ्चालन गर्ने लगाएतको कार्यक्रम समेटिएको छ । त्यस्तै गाउँपालिका भित्रका सम्पूर्ण धार्मिक तथा पर्यटकिय क्षेत्रको पहिचान गरी विकास गर्ने अध्यक्ष राईले जानकारी दिए । राईले भने,‘समृद्ध पौवादुङमा गाउँपालिका निर्माण गर्ने महान लक्ष्यका साथ नीति तथा कार्यक्रम तयार गरेका छौँ । सवै क्षेत्रको समान विकासका लागि बजेटबाट समेट्ने प्रयत्न गरेका छौँ। यसले गाउँपालिकाको विकासमा टेवा पुग्ने मैले अपेक्षा लिएको छु ।’

गाउँपालिकाले सामुदायिक विद्यालयबाट उत्कृष्ट अंक ल्याई एस ई.ई परिक्षा उर्तिण गरी उच्च शिक्षामा विज्ञान विषय वा एम.वि.वि एस अध्ययन गर्न चाहने विद्यार्थीलाई कार्यविधि बनाएरु अध्ययन खर्च व्यवस्थापन गर्ने नीतिसमेत अघि सारेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार