टेम्केमैयुङले रैथाने बालीको संरक्षण गर्दै कृषिमा नमूना बनाउने


भोजपुर, ९ असार ।
टेम्केमैयुङ गाउँपालिकाले कृषिलाई पहिलो प्राथमिकतामा राख्दै बजेट निर्माण गरेको छ । स्थानीयलाई कृषिमा जोड्दै आर्थिक रुपमा सक्षम बनाउने लक्ष्यका साथ बजेट निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले यहाँको भूगोलको आधारमा वर्गीकरण गरेर विभिन्न बालीहरुको खेतीमा जोड दिने जनाइएको छ ।
जसको लागि एक घर एक करेसाबारीको अवधारणा अघि सारिएको छ । गाउँपालिकाले कृषिलाई प्राथमिकता दिदै आर्थिक वर्ष २०७९/८० को लागि कुल नौ करोड ९२ लाख पुँजीगत बजेट ल्याउन लागेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए ।

अध्यक्ष बस्नेतले भने,‘ हामीले बजेट निर्माणमा कृषिलाई प्राथमिकतामा राखेका छौँ । यहाँको भूगोल अनुसारको खेती विस्तारमा गाउँपालिकाले प्रोत्साहनमूलक कार्यक्रमहरु सञ्चालन गरेर कृषिमा नमूना बनाउने मुख्य उद्धेश्य हो ।’

गाउँपालिकाले यहाँका रैथाने बालीको सरक्षण गर्दै तेल उत्पादनका कार्यक्रममा जोड दिने अध्यक्ष बस्नेतको भनाई छ । जसको लागि तोरी, रायो, शर्सिउ सूर्यमुखीको खेतीमा जोड दिने गाउँपालिकाले जनाएको छ । त्यस्तै तरकारी खेतीमासमेत विषेश योजनाका साथ काम गर्ने अध्यक्ष बस्नेतले जानकारी दिए ।

‘यो स्थानीय तहलाई हामीले कृषिमा उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको छौँ । यहाँ धेरै उर्वरभूमिहरु छन् । यी ठाउँलाई लक्षित गरेर कृषि क्षेत्रको बृहत्तर विकास गर्दै तरकारी निर्यात गर्ने सोच छ’ अध्यक्ष बस्नेतले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार