षडानन्दको वडास्तरमा गठबन्धनमा किचलो, माओवादीका उम्मेदवार सूर्य चिन्हमा चुनाव लड्दै


भोजपुर १३ बैशाख । भोजपुरको षडानन्द नगरपालिकामा गठबन्धनको तालमेलमा किचलो शुरु भएको छ । गठबन्धनको तर्फबाट टिकट नपाएपछि वडास्तरमा खटपटी शुरु भएको हो । गठबन्धनको निर्णय विपरित दुई ओटा वडामा एमाले र माओवादी केन्दले्र तालमेल गरेर उम्मेदवारी दर्ता गएका छन् । वडा ९ र १३ मा एमाले र माओवादी विच तालमेल भएको नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा एमालेबाट मेयर पदका उम्मेदवार सुरेन्द्र उदासले बताए ।

माओवादी केन्द्रका नगर कमिटीका सदस्य रहेका शेखर तामाङ वडा नं. ९ बाट र ओमकुमार श्रेष्ठ वडा १३ बाट सूर्य चिन्हमा चुनाव लड्ने भएका छन् । वडा नं १४ मा भने नेपाली कांग्रेसका वडाध्यक्षका प्रत्यासी दिनेश राईले टिकट नपाएको भन्दै स्वतन्त्र उम्मेवादी दिएका छन् ।

त्यस्तै पार्टीले टिकट नदिएपछि कांग्रेसका जित बहादुर दाहाल एकिकृत समाजबादीमा प्रवेश गरी वडा नम्वर १२ को वडाध्यक्षमा उम्मेदवारी दिएका छन् । अन्य वडाहरुमा पनि गठबन्धनका केहि कार्यकता असन्तुष्ठ रहेको नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवर विरवल राईले बताए । तल्लोस्तरमा देखिएको नेता तथा कार्यकर्ताको खटपटीले यहाँ गठबन्धन दरिलो नबन्ने देखिएको छ ।

गठबन्धनमा असन्तुष्टी बढेपछि एमालेका उमेदवारहरुलाई लाभ पुग्ने देखिएको छ । गठबन्धनले टिकट वितरणमा व्यवास्ता गरेको भन्दै कसैले पार्टीनै छाडेका छन् भने केहिले स्वतन्त्र रुपमा उमेदवारीसमेत दर्ता गराएका छन् ।

षडानन्द नगरपालिकामा गठबन्धनले चुनावी तालमेल गरेको छ । यहाँ काङग्रेसबाट विरवल राई मेयरका उम्मेदवार बनेका छन् भने उप– मेयरमा माओवादी केन्द्रबाट प्रमिला राईको उम्मदेवारी परेको छ । मुख्यपदमा तालमेल भएपनि तल्लो तहमा भने पूर्णरुपमा तालमेल गर्न समस्या देखिएको गठबन्धनका नेताहरुले बताउने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार