पूर्व आईजिपीको पहलमा टेम्केमैयुङका ६ विद्यालयलाई शैक्षिक सामग्री वितरण


भोजपुर, १७ चैत । टेम्केमैयुङ गाउँपालिकाका ६ ओटा विद्यालयलाई शैक्षिक सामग्रीसँगै कपडा वितरण गरिएको छ । पूर्व आईजिपी दुर्जकुमार राईको पहलमा विद्यालयलाई शैक्षिक सामग्री दिइएको हो । यहाँका वडा नम्बर ३ अन्नपूर्ण र ४ नागीका करिव पाँच १० जना विद्यार्थीलाई शैक्षिक सामग्री दिएको हो ।
कक्षा १ मा पढ्ने विद्यार्थीहरुलाई भने कपडासमेत वितरण गरिएको आयोजकले जनाएको छ । सामुदायिक विद्यालयका बाल कक्षा देखी कक्षा १२ सम्मका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै कक्षा १ का १०० जना विद्यार्थीलाई कोटसंगै,कपी, पेन्सिल लगायत शैक्षिक सामग्रीसमेत दिइएको हो । त्यस्तै अन्नपूर्ण बागधन रणदीपा राई माध्यमिक विद्यालयमा ६ थान कम्प्युटर वितरण गरिएको छ । यस विद्यालयका भूपू विद्यार्थी तथा पूर्व आईजिपी दुर्ज कुमार राईको पहलमा रोटरी क्लव अफ काठमाण्डौ वेस्ट तथा कृष्णलक्ष्मी लक्ष्मि श्रेष्ठ प्रतिष्ठान काठमाण्डौँको सहयोगमा सामग्री वितरण गरिएको रोटरी क्लव काठमाण्डौ वेस्टका अध्यक्ष शारदा भक्त रञ्जीतले बताए ।

आँफु जन्मेको ठाउँमा केही गरौ भन्ने उदेश्यले बाबा आमाको सम्झनामा यहाँका विद्यार्थीहरुलाई शैक्षिक सामग्रीसंगै कक्षा एकमा पढ्ने बालबालीकालाई न्यानो कपडा कोट वितरण गरेको पूर्व आईजिपी दुर्ज कुमार राईले बताए । पूर्व आईजिपी राईले भने‘यो विद्यालय नभएको भए म यति वेला पनि भैंसी गोठालो हुन्थे होला । यही विद्यालयमा अध्ययन गरेर म यो ठाउँमा पुगेको छु । यहाँका विद्यालयको शैक्षिक सुधारमा मैले सकेको सहयोग गरिरहेको छु । आगामी दिनमा पनि यस्तो सहयोग रहन्छ ।’

शैक्षिक विकासका लागि गाउँपालिकाले नीति तथा कार्यक्रम तयार गरेर काम गरिरहेको गाउँपालिका अध्यक्ष ध्रुर्वराज राईले बताए । अध्यक्ष राईले भने,‘हामीले यहाँको शैक्षिक विकासका लागि प्राथमिकताका साथ काम गरिरहेका छौँ । यहाँबाट उत्पादन भएका विद्यार्थीहरुले देशका अन्य विद्यालयका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सक्ने वातावरण दिने लक्ष्यका साथ काम भईरहेको छ । जसको लागि कम्प्युटर कक्षा, पुस्तकालय स्थापना, भौतिक विकास लगायतमा तिव्रताका साथ काम गरिरहेका छौँ ।’
शैक्षिक सामग्री वितरण कार्यक्रमले विद्याथीहरुमा पढाईमा थप उर्जा मिल्ने विद्यालयका प्रधानध्यापक डम्वर राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार